पैँतालीस वर्षमा बिस्तारै हिँड्नु 'बुढ्यौली चाँडै आउन लागेको सङ्केत'

तस्बिर स्रोत, Getty Images
चालीस वर्ष लागेका मानिसहरू कुन गतिमा हिँड्छन् त्यसले उनीहरूको मस्तिष्क र शरीर कति बूढो भएका छन् त्यसको सङ्केत गर्ने वैज्ञानिकहरूले बताएका छन्।
हिँडाइको गतिलाई आधार मानेर गरिएको परीक्षणमा अनुसन्धानकर्ताहरूले वार्धक्य अर्थात् बूढो हुने प्रकिया मापन गरेका थिए।
ढिलो हिँड्ने मानिसहरूको शरीर मात्र चाँडै बूढोको भएको हैन, उनीहरूको अनुहार पनि बूढो देखिएको तथा मस्तिष्क पनि सानो भइसकेको पाइएको थियो।
विभिन्न देशका वैज्ञानिकहरूको समूहले आफूले पत्ता लगाएको तथ्य "आश्चर्यजनक" भएको बताएको छ।
प्राय: ६५ वर्षभन्दा माथिका मानिसको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकहरूले हिँडाइको गति मापन गर्छन्। हिँडाइको गतिले मांसपेशीको सामर्थ्य, फोक्सोको अवस्था, सन्तुलन, सुषुम्नाको सामर्थ्य तथा आँखाको दृष्टिको सङ्केत गर्छ।
वृद्धावस्थामा हिँडाइको गति कम हुने मानिसमा विस्मृति र कुप्रो पर्ने जोखिम बढी हुने बताइएको छ।
'समस्याको सङ्केत'
यो अनुसन्धानमा न्यूजील्यान्डमा सन् १९७० को दशकमा जन्मिएका एक हजार मानिसलाई संलग्न गराइएको थियो।
सबैभन्दा पहिला ती अधबैँसे मानिसहरूको हिँडाइको गति हेरिएको थियो।
उनीहरूको अन्य शारीरिक परीक्षण, मस्तिष्कको क्षमताको परीक्षण र मस्तिष्कको स्क्यान गरिएको थियो। बाल्यकालमा उनीहरूको प्रत्येक दुई वर्षमा कग्नटिभ टेस्ट अर्थात् संज्ञानात्मक परीक्षण गरिएको थियो।
"यो अध्ययनमा ढिलो हिँड्नु बूढो हुनुभन्दा दशकौँअघि देखिने समस्याको सङ्केत भएको पत्ता लाग्यो," लन्डनस्थित किङ्स कलेज र अमेरिकाको ड्यूक यूनिभर्सिटीसँग आबद्ध प्राध्यापक टेरी ई मोफिटले भने। उनले उक्त अनुसन्धानको नेतृत्व गरेका थिए।
पैँतालीस वर्षको उमेरमा पनि हिँड्ने गतिमा विविधता देखियो। नदौडीकन सबैभन्दा चाँडो हिँड्ने गति चार मिटर प्रतिसेकन्ड थियो।
चाँडो हिँड्ने मानिसमा भन्दा सामान्यतया ढिलो हिँड्ने मानिसमा फोक्सो, दाँत र रोगप्रतिरोधी प्रणालीको स्थिति बिग्रिएको भेटियो तथा चाँडै बुढ्यौली आउने सङ्केत देखियो।

तस्बिर स्रोत, Duke University
मस्तिष्कको स्क्यान गर्दा हिँडाइको गति कम भएका मानिसको मस्तिष्क अनपेक्षित रूपमा बूढो मानिसको जस्तै देखियो।
जीवनशैलीसँगको सम्बन्ध
जेएएमए नेटवर्क ओपन नामक जर्नलमा प्रकाशित शोधमा अनुसन्धानकर्ताहरूले मानिसको स्वास्थ्य र आईक्यूमा हुने भिन्नता व्यक्तिगत जीवनशैलीका कारण वा जीवनको पूर्वार्ध स्वस्थ भएको हुनाले भएको हुन सक्ने जनाएका छन्।
उनीहरूका अनुसार पछिको जीवन कस्तो हुन्छ भन्ने सङ्केत पहिला नै प्राप्त भइसकेको हुन्छ।
युवावस्थामा हिँडाइको गति नापेर बुढ्यौली ढिलो आउने बनाउने परीक्षण खोज्न सकिन्छ कि भन्ने अनुसन्धानकर्ताहरूको अपेक्षा छ।
कम क्यालरीको खानपिनदेखि मेट्फर्मिन नामक औषधिको प्रयोगबारे अनुसन्धान भइरहेको छ।










