कति वर्ष उमेर पुगेपछि बुढो भइन्छ? तपाईँ कहाँ बस्नुहुन्छ भन्नेमा त्यसको जवाफ छ

कालो चस्मा लगाएकी एकजना वृद्ध महिलाले आफ्ना दायाँ हातबाट जीतको भाव देखाएकी छन् र म्वाई बाँडेकी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यो अध्ययनले उमेरले संख्या मात्रै जनाउने सुझाव दिएको छ
    • Author, निकोलेय भोरोनिन
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज रसियन

पपुवा न्यू गिनीमा बसोबास गर्ने ४५ वर्षीय व्यक्तिहरू फ्रान्स वा सिङ्गापुरका ७६ वर्षीय व्यक्ति सरह बुढो भएको महसुस गर्छन्। र, उनीहरूको तन्दुरुस्ती औसतमा एक ६५ वर्षीय व्यक्तिको सरह हो।

वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले गरेको एउटा बृहत् अध्ययनको यो निष्कर्ष ल्यान्सेट भन्ने जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानकर्ताहरूले १ सय ९५ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्क विश्लेषण गरेका थिए। उनीहरूका अनुसार औसतमा उमेर सम्बन्धी चिन्ताहरू ६५ वर्ष पुगेपछि अत्यधिक रुपमा देखिन थाल्छ।

कान नसुन्ने, हृदयघात हुने, बिरामी भइरहने र मस्तिष्कसम्बन्धी रोग जस्ता स्वास्थ्य समस्याहरू तपाईँ कहाँ बस्नुहुन्छ भन्ने आधारमा विभिन्न उमेरमा देखिने उनीहरूले पत्ता लगाएका छन्।

वृद्धावस्था

र, उमेर बढ्दै जाँदा विस्तारै बुढो हुने र छिट्टै बुढो हुनेबीचको फरक तीन दशक वा त्यो भन्दा बढी हुनसक्छ।

उक्त अध्ययनले धेरै उमेर भन्दा पनि तन्दुरुस्तीको दृष्टिकोणबाट पनि बुढो हुने विषयलाई हेरेको छ। बुढो भएसँगै उमेर सम्बन्धी रोगहरू बढ्दै जाने विषयलाई ध्यानमा राखेर अध्ययन गरिएको छ।

अध्ययन प्रतिवेदनकी प्रमुख लेखिका डा. एन्जेला वाइ चाङ भन्छिन्, "त्यो उमेरसँग जोडिएका स्वास्थ्य समस्या र जनसंख्याको अनुभवको आधारमा वृद्ध उमेरको समय बढ्दै जानु अवसर बन्न पनि सक्छ अथवा समग्र जनसंख्याको कल्याणकारी कामका लागि खतरा बन्न पनि सक्छ भन्ने देखाएको ‍छ।"

अनुसन्धानकर्ताहरूले ९२ वटा ‍रोगहरू पहिचान गरेका छन् जसले शारीरिक स्वास्थ्य र मानसिक कौशलमा अपरिवर्तनीय क्षय ल्याउँछ।

BBC

सबैभन्दा प्रबल चाहिँ क्यान्सर र मुटुसम्बन्धी रोगहरू हुन्।

यो गणना सामाजिक-जनसांख्यिकीय सूचकाङ्क(एसडीआई) का आधारमा गरिएको छ जुन हरेक देशको विकास नाप्न प्रयोग गर्ने गरिएको छ।

यो औसत आम्दानी, शैक्षिक उपलब्धि र कुल प्रजनन दर जस्ता कुरामा आधारित छ।

कम सामाजिक-सांख्यिकीय सूचकाङ्क भएका विकासशील देशमा मानिसको औसत आयु कम हुन्छ तर त्यहाँ पनि वृद्धावस्था हुन्छ- बरु त्यहाँ बुढ्यौली छिटै शुरु हुन्छ। ।

तपाईँको देश कहाँ पर्छ?

यो विश्लेषणले विश्वभरका बयस्क मानिसहरूको स्वास्थ्य समस्या मध्ये उमेर सम्बन्धी विमार आधा भन्दा बढी रहेको देखाउँछ।

बृद्धावस्था

चाङ थप्छिन्, "उमेर सम्बन्धी स्वास्थ्य समस्याहरूले छिट्टै अवकास लिनुपर्ने अवस्था, काम गर्न सक्ने मानिसहरूको संख्या न्यून र स्वास्थ्य सम्बन्धी खर्च धेरै हुने हुन सक्छ।

स्वास्थ्य प्रणालीको दायित्व लिने सरकारी अधिकारी र अन्य सरोकारवालाहरूले कहिलेदेखि मानिसहरूले बुढ्यौलीका कारण पीडित हुन थाल्छन् भन्ने ख्याल गर्न आवश्यक छ।"

वैज्ञानिकहरूले बुढ्यौलीका लक्षणहरू उत्पन्न हुन ढिला गर्ने तथ्यहरू पत्ता लगाउनेमा केन्द्रित हुन थालेका छन्।

वृद्धावस्था

ती शारीरिक गतिविधि, ध्रुमपान त्याग देखि स्वास्थ्य सेवा प्रणालीको राम्रो व्यवस्थापन पनि हो।

यस्ता विषयबस्तुको बुझाइले वृद्ध बन्दै जाने जनसंख्याले दिने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।