भ्रमण वर्ष२०२०: "ठूला पूर्वाधारमा समस्या छ, आवासमा छैन"

पर्यटक

तस्बिर स्रोत, NTB

नेपाल भ्रमण वर्ष सुरु हुन करिब तीन महिना मात्र बाँकी रहेको अवस्थामा निकै 'महत्त्वाकाङ्क्षी' भनिएको उक्त कार्यक्रमलाई भनिए जस्तै सफल बनाउन निकै ठूलो चुनौती रहेको पर्यटन व्यावसायीहरुले बताएका छन्।

कार्यक्रम सुरु हुन धेरै समय नरहेको अवस्थामा पूर्वाधार विकास र प्रचार प्रसारमा अपेक्षित ढङ्गबाट काम हुन नसकेको उनीहरूको भनाई छ।

पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाका रूपमा अर्थ्याइएको भए पनि आवश्यकता अनुसार लगानी र नीतिगत व्यवस्था पारित गर्न समय लगाइएकाले भ्रमण वर्ष सफल हुने वा नहुने विषय पेचिलो बन्दै गएको जानकारहरू बताउँछन्।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष लिएको छ।

सरकारी अधिकारीहरू हाल सम्मको अवस्था हेर्दा करिब १४ देखि १५ लाख पर्यटक भित्राउन समस्या नपर्ने बताउँछन्।

नेपाल भ्रमण वर्ष

तस्बिर स्रोत, NTB

उनीहरूका अनुसार सरकारको चुनौती भनेको बाँकी पाँच देखि छ लाख पर्यटक भित्राउनु रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

"अहिले हामिकहाँ आवेदन हालेका वायुसेवाहरूलाई स्वीकृति दिने हो भने करिब पौने दुई लाख सिट थपिने अवस्था छ जसले त्यो खाडल पुर्न सहयोग गर्नेछ," उनले थपे।

पूर्वाधार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, CIVIL AVIATION AUTHORITY

भ्रमण वर्षको पूर्व सन्ध्यामा सबै भन्दा पेचिलो विषय मुख्य पर्यटकीय गन्तव्यहरूमा देखिएको पूर्वाधारको दुरावस्था रहेको व्यवसायीहरु बताउँछन्।

हाल सम्मको अवस्था हेर्दा तेस्रा मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रने पर्यटकलाईनै सम्हाल्न मुस्किल पर्ने जानकारहरू बताउँछन्।

"सामान्य चाप रहेको बेला समेत विमानस्थल हुनुपर्ने जति व्यवस्थित हुन सकेको छैन," पर्यटन व्यवसायी साजन शाक्यले भने। "काठमाण्डूका बाटाघाटा समेत व्यवस्थित बन्न सकेका छैनन्। प्रदूषण र ट्राफिक व्यवस्थापनमा समस्या त छँदै छन्।"

अधिकारीहरू भने हाल सक्रिय रहेको मनसुन सक्किना साथ सडक सुधार गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सहकार्य भइरहेको बताउँछन्।

त्यस्तै त्रिभुवन विमानस्थलको मर्मत सम्भारको कार्य आगामी डिसेम्बर महिनासम्म सम्पन्न हुने र भ्रमण वर्षलाई लक्षित गरेर काम गरिएको हुँदा सन् २०२० को सुरुवात देखिनै समस्या नहुने सचिव अधिकारीले दाबी गरे।

झाँकी
तस्बिरको क्याप्शन, विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रवार राजधानीमा झाँकी प्रदर्शन गरिएको थियो

"सन् २०२० को मार्च बाट भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने छ। सुरुवाती वर्ष भएकाले त्यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्ने धेरै योगदान नगरे पनि कुनै न कुनै हिसाबले हामीलाई सहयोग भने हुने छ," अधिकारीले थपे।

त्यस बाहेक मुख्य मुख्य स्थानमा रहेका सम्पदाहरूको पुनर्निर्माण समेत सम्पन्न भएको र राजधानी लक्षित "काठमाण्डू भ्याली बाइ नाइट" नामक पर्यटकहरूलाई रातको बेला घुमाउने व्यवस्था समेत गर्न लागिएको अधिकारीहरूले जानकारी दिए।

आवास

२० लाख पर्यटकका लागि आवासको समस्या नहुनेमा जानकारहरूको एकमत छ।

एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्यसँगै तुलनात्मक रूपमा होटलहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उनीहरूको भनाई छ।

काठमाण्डूमा मात्रै करिब आधा दर्जन ठुला लगानीका होटेल सञ्चालनमा आउने क्रममा छन्। ती मध्य केही अन्तर्राष्ट्रिय होटेल चेनहरू सञ्चालनमा आइसकेका छन्।

"काठमाण्डूमा मात्रै हामीसँग २० लाख पर्यटक धान्न सक्ने सामर्थ्य छ। होमस्टे, बेड एन्ड ब्रेकफास्ट उपलब्ध गराउने होटेलदेखि तारे होटेल सबैको सङ्ख्यामा वृद्धि छ," होटेल एसोसिएसन नेपालका महासचिव समेत रहेका शाक्यले भने।

होटल

तस्बिर स्रोत, Facebook/Vivanta

तस्बिरको क्याप्शन, काठमाण्डूमा खुलेका नयाँ मध्यको एक होटल

काठमाण्डू बाहेक पोखरा र चितवनमा समेत उल्लेख्य रूपमा होटलहरुको सङ्ख्यामा वृद्धि भएको जानकारहरूको दाबी छ।

होटलहरुको सङ्ख्यामा वृद्धिकै कारण हाल अकुपेन्सी ४० प्रतिशतको हाराहारीमा रहेको व्यावसायीहरू बताउँछन्।

झाँकी

"पर्यटकहरू नेपाल आउने समय सुरु हुनै लागेको अवस्थामा त्यसमा केही प्रगति हुने र भ्रमण वर्षले त्यसलाई संस्थागत गर्ने हाम्रो विश्वास छ।"

नेपालमा हाल १३० देखि १४० डलर सम्ममा पाँच तारे होटेल र करिब ६० डलरको हाराहारीमा तीन तारे होटेल उपलब्ध हुने व्यवसायीहरू बताउँछन्।

खर्च

अपेक्षित सङ्ख्यामा पर्यटकहरूलाई भित्र्याउने कुरामा सरकारी अधिकारीहरू ढुक्क छन् भने तिनलाई बसोबास गर्ने समस्या नरहेको दाबी होटेल व्यावसायीहरूको छ।

तर नेपालले भित्राउने पर्यटकहरूले गर्ने खर्च भने चासोको विषय बनेको छ।

डलर

तस्बिर स्रोत, Getty Images

सन् २०१८ मा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको आँकडा अनुसार नेपालमा प्रतिदिन ४४ डलर को दरले पर्यटकहरूले खर्च गर्ने गरेका छन्। सन् २०१७ मा त्यो ५४ डलर थियो।

"खर्च गर्ने पर्यटक भित्राउने उद्देश्यका साथ सरकारले काम गर्नु पर्छ। ठमेलमा ५० प्रतिशत छुट हुने बेला डुनोट खाने पर्यटकले हामीलाई फाइदा हुँदैन," शाक्यले भने।

पर्यटन सचिव अधिकारीको मत भने फरक छ।

"नेपाललाई दुवै खाले पर्यटकको आवश्यकता छ। सङ्ख्याले पर्याप्त मात्रामा खुलेका व्यावसायहरुलाई सक्रिय रहन सहयोग गर्छ भने खर्च गर्ने पर्यटकले पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउँछन्।"