‘हालसम्मकै धेरै पर्यटक’

पदमार्ग

तस्बिर स्रोत, KRISHNA_MANI

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको संख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ।

७,६०० वर्गकिलोमिटर भूभागमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै आएको छ।

सन् २०१७ मा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा झण्डै ३९ प्रतिशतले वृद्धि भएको हो।

यो हालसम्मकै बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यले बताइन्।

तथ्याङ्क

उनले भनिन्, "सन् २०१६ मा १ लाख १४ हजार १ सय ८७ जना पर्यटक भित्रिएका थिए भने सन् २०१७ मा १ लाख ५८ हजार ५ सय ८८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको तथ्याङ्क छ।"

उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले नेपाल भित्रिने करिब ६० प्रतिशत पर्यटकको पहिलो रोजाइ प्रदेश नं. ४ मा पर्ने अन्नपूर्ण क्षेत्र पर्ने गरेको छ।

हिमआँधी लगायतका कारणले हुने दुर्घटना विगतमा जस्तो हुन नदिने उद्देश्यले सूचना प्रणाली यस क्षेत्रमा सुदृढ गरिएको छ।

पदमार्ग

तस्बिर स्रोत, KRISHNA_MANI

आयोजनाका सूचना अधिकृत आचार्यले भनिन्, "कुनै दुर्घटना हुन सक्ला भनेर पर्यटकको अवस्था पत्ता लगाउनका लागि हामीले एउटा संयन्त्रको विकास चाँडै शुरु गर्दैछौँ।"

उक्त क्षेत्रमा विगतमा हिमआँधीका कारण पनि धेरै पर्यटक र पथप्रदर्शकको मृत्यु भएको थियो।

योजना

त्यसबारे थोराङ ला पास गर्ने बेलामा मौसमबारे पूर्वजानकारी दिने केही तयारी भएको छ कि छैन? जवाफमा आचार्यले भनिन्, "अन्नपूर्ण आधार शिविर र घान्द्रुक घोरेपानीको चाहिँ ६ दिनको मौसमको अनुमान गर्न सकेका छौँ र आगामी दिनमा थोरङ, मनाङ, मुस्ताङमा पनि शुरु गर्ने योजना छ।"

अन्नपूर्ण आधारशिविर, एबीसी थोराङ्ला भञ्ज्याङ, मुक्तिनाथ, उपल्लो मुस्ताङ, मनाङ, घोरेपानी, मर्दी हिमाल, घान्द्रुक घोरेपानी लगायतका ठाउँ पदयात्रा पर्यटनका आकर्षक गन्तव्य हुन्।

पर्यटकहरूको संख्यामा देखिएको उत्साहजनक वृद्धिप्रति पर्यटन व्यवसायीले खुशी व्यक्त गरेका छन्।

सन् २०१७ मा ९ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ।

अधिकारीहरूका अनुसार १० लाख पर्यटक भित्र्याउने सन् २०१६ को लक्ष्य भेट्टाउन नसके पनि यो संख्या अहिलेसम्मकै धेरै हो।