मलेशियाकी महारानीद्वारा सामाजिक सञ्जालमा आफ्नो आलोचना गर्ने व्यक्ति पक्राउ परेपछि दु:ख व्यक्त

तस्बिर स्रोत, AFP
मलेशियाका महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छन्।
ट्विटरमा एउटा सन्देश लेख्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दु:खी भएको जनाएकी छन्।
सामाजिक सञ्जालमा अपमानजनक सन्देश प्रेषित गरेको आरोपमा शुक्रवार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो।
महारानीले बुधवार आफ्नो ट्विटर खाता बन्द गरेको भन्ठानिएको थियो।
त्यसपछि हजारौँ मानिसले उनलाई आफ्नो खाता बन्द नगर्न र सन्देश लेखिरहन आग्रह गरेका थिए।
मलेशियाकी महारानीलाई राजा परमिस्सुरी आगोङ भनिन्छ।
अहिलेकी महारानीको पूरा नाम टुङ्कु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो। उनी वर्तमान महाराजाकी पत्नी हुन्।
मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ। देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन्।
महारानीले के भनेकी थिइन्?
शृङ्खलाबद्ध ट्वीट गर्दै उनले व्यक्तिगत कारणले आफूले ट्विटर छोड्न लागेको लेखेकी थिइन्।
"प्रहरीले ती मानिसलाई नियन्त्रणमा लिएकाले म साँच्चै दु:खी छु। यत्रो वर्ष म र मेरा पतिले कहिल्यै पनि हामीबारे नराम्रो कुरा गरिँदा पनि प्रहरीमा उजुरी गरेनौँ," उनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ।

तस्बिर स्रोत, EPA
"यो स्वतन्त्र राष्ट्र हो," उनले भनिन्।
उनका अनुसार आलोचकहरूलाई पक्राउ गरिएको थाहा पाएपछि उनी दु:खित र आक्रोशित भइन् र पुन: ट्विटर चलाउन थालेकी हुन्।
"म आफैँले दरबारलाई प्रहरीलाई कुनै कारबाही नगर्न सूचित गर्न भनेँ। म फेरि पनि भन्छु - मैले उनीहरूका कारण मेरो खाता बन्द गरेकी थिइनँ।"
"मेरा पति र मैले कहिल्यै पनि प्रहरीमा उजुरी गरेका छैनौँ, अनि म कहिल्यै पनि (मबारे लेखिएका प्रतिक्रिया पढेर) दु:खी भएकी छैन। बरु म हाँसेकी छु किन भने अल्लाहलाई म को हुँ भन्ने थाहा छ।"
आलोचकलाई के गरियो?
शुक्रवार राति पार्टी सोसियालिस मलेशिया नामक दलका एक सदस्यलाई महारानीबारे अपमानजनक सन्देशहरू लेखेको आरोपमा समातिएको थियो।
उनको नाम खालिद इस्माथ भएको बताइएको छ।
उनलाई जुन कानुनका आधारमा पक्राउ गरिएको थियो त्यसको प्रतिपक्षी दल र मानवाधिकारवादी समूहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
शनिवार धरौटीमा रिहा हुनुअघि इस्माथलाई प्रहरी चौकीमा एक रात राखियो।
मानवाधिकारकर्मी तथा राजनीतिकर्मीहरूले प्रहरीले अनावश्यक हस्तक्षेप र दुर्व्यहार गरेको बताएका छन्।
इस्माथले आफूले महारानीको अपमान नगरेको दाबी गरेका छन्।
रानीले पहिला किन ट्विटर छोडेकी थिइन्?
ट्विटरमा पुन: आउनुअघि रानीले आफूले व्यक्तिगत कारणले ट्विटर खाता बन्द गरेको सन्देश इन्स्टाग्राममा लेखेकी थिइन्।
उनले मानिसहरूलाई सामाजिक सञ्जालमा लेख्दैमा प्रहरीमा उजुरी नगर्न आग्रह गरिन्।
उनको इन्स्टाग्राम पोस्टलाई उनकी छोरीले ट्विटरमा प्रेषित गरेकी थिइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

गत अगस्ट ३१ मा आयोजित मलेशियाको स्वतन्त्रता दिवसका अवसरमा धेरै तस्बिर खिचेको भन्दै सामाजिक सञ्जालमा महारानीको आलोचना भएको थियो।
मलेशिया स्टार पत्रिकाका अनुसार केहीले उनले "बच्चाको जस्तो व्यवहार गरेको" टिप्पणी गरेका थिए।
तर उनले राजाले आफूलाई तस्बिर खिच्न भनेको प्रतिक्रिया दिएकी थिइन्।








