ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक, कसरी भयो त्यस्तो घटना

ज्याक डोर्सीको ट्विटरबाट धेरै आपत्तिजनक र रङ्गभेदी सन्देशहरू रिट्वीट भएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्याक डोर्सीको ट्विटरबाट धेरै आपत्तिजनक र रङ्गभेदी सन्देशहरू रिट्वीट भएका थिए

ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भयो।

'चक्लिङ स्कोड' नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो।

आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका थिए।

ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै यो घटनामा नाम उल्लेख नगरी एउटा मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको बताएको छ।

एउटा विज्ञप्तिमा उसले भन्यो, "मोबाइल सेवा प्रदायकको लापरबाहीका कारण सो खाताका लागि प्रयोग गरिएको फोन नम्बरमा समस्या उत्पन्न भएको थियो।"

"त्यसबाट अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्वीट गर्न सक्ने अवस्था बन्यो। त्यसो समस्या अहिले समाधान भइसक्यो।"

कसरी भयो?

ट्विटरस्थित एक स्रोतले बीबीसीलाई बताएअनुसार ह्याकरहरूले "सिमस्व्यापिङ" अथवा "सिमज्याकिङ" भनिने विधि प्रयोग गरेर डोर्सीको ट्विटर आफ्नो नियन्त्रणमा लिएका हुन्।

ट्विटर

तस्बिर स्रोत, Getty Images

यो विधिमा प्रयोगमा रहेको कुनै फोन नम्बरलाई नयाँ सिमकार्डमा सारिन्छ। प्राय: त्यसो गर्न ह्याकरहरूले मोबाइल सेवा प्रदायकको ग्राहक सेवामा खटिने कर्मचारीलाई कुनै बहाना बनाएर झुक्याउँछन् वा आर्थिक प्रलोभन दिन्छन्।

फोन नम्बर हात परिसकेपछि एसएमएस पठाएर डोर्सीको खाताबाट ट्वीट गर्न ह्याकरहरू सक्षम भएका थिए।

हिजोआज धेरै प्रयोगकर्ताले ट्विटर चलाउन मोबाइल एप प्रयोग गर्छन्। तर प्रारम्भिक वर्षहरूमा ट्वीट गर्न एसएमएस गरिन्थ्यो। त्यसैले ट्वीटमा अक्षरको सीमा तोकिएको थियो।

विकासोन्मुख देशमा इन्टरनेट डेटा महँगो भएकाले एसएमएसबाट ट्वीट गर्ने सुविधा अहिले पनि छ।

ह्याकरले के गरे?

डोर्सीको खाता @jack बाट अश्वेत जातिलाई अपमानजनक गर्न प्रयोग गरिने शब्द र हिट्लरको नेतृत्वमा नाजीले गरेको नरसंहारलाई सङ्केत गर्दै यहुदीविरोधी टिप्पणी लेखिएको थियो।

एउटा ट्वीटमा ट्विटरको मुख्यालयमा बम भएको उल्लेख गरिएको थियो।

डिस्कर्ड नामक च्याट गर्ने वेबसाइटमा ह्याकरहरूको उक्त समूहले डोर्सीको ट्विटर ह्याक गरेको विषयमा ठट्टा गरेका थिए। तर तत्कालै उनीहरूको संवाद बन्द भयो।

चक्लिङ स्कोडले अरू केही प्रख्यात व्यक्तिहरूको ट्विटरमा आफूले सफलतापूर्वक आक्रमण गरेको दाबी गर्ने गरेको छ। तीमध्ये सौन्दर्यबारे भिडिओ ब्लग गर्ने जेम्स चार्ल्स र युट्युबका चर्चित व्यक्तित्व डेस्मन्ड आमोफाह पनि छन्।

आमोफाहले यो वर्षको पूर्वार्धमा आत्महत्या गरेको बताइएको छ।

अन्यत्र नै सुरक्षामा त्रुटि भएको भए पनि आफ्नै प्रमुख कार्यकारीको खाता ह्याक हुनु ट्विटरका लागि लाजमर्दो घटना भएको छ।

करोडौँ मानिसहरूले ट्विटर चलाउँछन्। तीमध्ये विश्वका अतिशक्तिशाली नेता तथा अन्य व्यक्तिहरू पनि छन्।