अफगानिस्तान युद्ध: राष्ट्रसङ्घ भन्छ, ‘विद्रोहीभन्दा सत्तापक्षद्वारा धेरै सर्वसाधारणको हत्या’
अफगानिस्तानमा सन् २०१९ को पहिलो छ महिनामा विद्रोहीभन्दा नेटो गठबन्धन सहितको सरकारपक्षीय फौजद्वारा धेरै सर्वसाधारण मारिएको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ।
तालिबानविरुद्ध गरिएको भीषण अमेरिकी हवाई कारबाहीका बीच यो वर्षको आरम्भदेखि जुन महिनासम्मको अप्रत्यासित तथ्याङ्क प्रकाशमा आएको हो।
राष्ट्रसङ्घका अनुसार उक्त अवधिमा लडाकुद्वारा पाँच सय ३१ जना मारिएकोमा अफगान र नेटो नेतृत्वको फौजद्वारा सात सय सर्वसाधारण मारिएका छन्।
अमेरिकी सेना फर्काउन वाशिङ्टन र तालिबानबीच वार्ता भइरहेको बेला यो तथ्याङ्क सार्वजनिक भएको छ।
प्रवृत्तिफेरिएन
अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहायता निकायका अनुसार यो वर्षको पहिलो छ महिनामा ८९ बालबालिकासहित तीन सय ६३ जनामध्ये अधिकांश अमेरिकी युद्धक विमानद्वारा गरिएको हवाई आक्रमणमा मारिएका हुन्।
अमेरिकी सेनाले उक्त तथ्याङ्क अस्वीकार गरेको छ। आफ्नो फौजले सधैँ गैरसैनिक नागरिकलाई क्षति नहुनेगरी काम गरेको भन्दै आफूले सङ्कलन गरेका प्रमाण थप यथार्थपरक भएको उसको भनाइ छ।
तर उसले सर्वसाधारण हताहत भएकोबारे कुनै तथ्याङ्क दिएको छैन।

तस्बिर स्रोत, EPA
एप्रिल महिनामा राष्ट्रसङ्घले दिएको प्रतिवेदनपछि यो तथ्याङ्क आएको छ। सन् २०१९ को पहिलो तीन महिनाबारे तयार पारिएको अघिल्लो प्रतिवेदनको निष्कर्ष पनि समान छ। नयाँ तथ्याङ्कले त्यो अप्रत्यासित प्रवृत्ति जारी रहेको देखाउँछ।
सर्वसाधारणको मृत्यबारे सङ्कलित सम्पूर्ण तथ्याङ्कमध्ये मुख्य कारण स्थल कारबाही नै देखिन्छ। त्यसपछि बम र हवाई कारबाहीमा एकतिहाइको ज्यान गएको छ।
आफ्नै तर्क
तर राष्ट्रसङ्घले हताहत हुनेको सङ्ख्या घटेको बताएको छ। सन् २०१९ को पहिलो आधा वर्षमा मारिने र घाइते सर्वसाधारणको सङ्ख्या तीन हजार आठ सय १२ छ। यो सङ्ख्या सन् २०१२ यता पहिलो छ महिनाको सबैभन्दा कम हो।
हताहत हुनेको सङ्ख्या घटे पनि सर्वसाधारणको सङ्ख्या 'आश्चर्यजनक र अस्वीकार्य' किसिमले कायम रहेको राष्ट्रसङ्घले जनाएको छ।
उसको प्रतिवेदनका अनुसार ज्यानुअरी १ देखि जुन ३० सम्म सर्वसाधारणलाई नियतवश निसाना बनाइएको विद्रोहीको आक्रमणमा नौ सय ८५ जना सर्वसाधारण मारिएका र घाइते भएका छन्।

तस्बिर स्रोत, Reuters
अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मानवाधिकारसम्बन्धी प्रमुख रिचर्ड बेनेटका भनाइमा द्वन्द्वमा सहभागी पक्षले पछिल्लो प्रवृत्तिबारे फरकफरक स्पष्टीकरण दिन सक्छन् र आफ्नो सैन्य रणनीतिको पुष्टि गर्ने उनीहरूको आफ्नै तर्क छ।
उनी भन्छन्, "वास्तविक कुरा के हो भने अन्तर्राष्ट्रिय मानवीय कानुनले मात्र नभई नागरिकको क्षति रोक्ने प्रतिबद्ध प्रयास र लडाइँ तीव्रता कम गर्नाले मात्र अफगान सर्वसाधारणको पीडा घटाउन सक्छ।"
अनुसन्धानमा अरुचि
ह्युमन राइटस् वाचकी एशिया सहनिर्देशक प्याट्रिसिया गोस्मन तालिबानमाथि सहमतिको निम्ति दबाव दिन गरिएको देखिने हवाइ हमला र रात्रिकालीन छापाका कारण सर्वसाधारणले 'डरलाग्दो मूल्य' चुकाइरहेको बताउँछिन्।
उनले बीबीसीसँग भनिन्, "काबुलस्थित अमेरिकी सैनिक अधिकारीहरूले बारम्बार नागरिकले बेहोरेको क्षतिलाई गम्भीर रूपमा लिएको दाबी गर्छन्। उनीहरूले वास्तविक सङ्ख्या पत्ता लगाउन वा गलत निसानाबारे बुझ्न सन्तोषजनक अनुसन्धानहरू गरेका छैनन्।"
अफगान सरकारको अनुसन्धान पनि समस्याग्रस्त भएको उनको भनाइ छ।

तस्बिर स्रोत, Anadolu Agency/Getty Images
उनी भन्छिन्, "तालिबान सर्वसाधारणहरूसँग मिसिएर लुकेका हुन्छन् भन्ने सामान्यतया गरिने दाबी त्यो सङ्ख्यामा सर्वसाधारण मारिने र घाइते हुने सन्दर्भमा क्षमायोग्य छैन। केही घटना युद्ध अपराध पनि हुन सक्छन्।"
सर्वसाधारणको रक्षा र घाइते तथा विस्थापितहरूलाई सहायता गर्नु प्राथमिकतामा रहेको अफगान सरकारले विज्ञप्तिमार्फत् जनाएको छ।
लडाइँसँगै वार्ता
दैनिक हिंसासहित देशका विभिन्न भागमा लडाइँ चलिरहेको छ।
अमेरिका र तालिबानले खाडी देश कतारमा शान्तिवार्ताहरू गरिरहेका छन्। तर अमेरिकी सैनिले समानान्तर रूपमा लडाकु समूहविरुद्ध सघन हवाई हमला जारी राखेको छ।
अमेरिकी फौजद्वारा सन् २००१ मा शक्तिबाट हटाइएको तालिबानले अमेरिकी फौज फिर्ता हुने समय तालिकामा सहमति नहुँदासम्म अफगान सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावसम्ममा अफगानिस्तानस्थित आफ्नो फौजको सङ्ख्या घटाउन चाहेको कुरा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमवार बताएका थिए।
अमेरिकी मतदाताको मन जित्न वाशिङ्टनले तालिबानसँग हतारो गर्न सक्ने र अफगान सरकारको कुनै पनि चिन्ताको वास्ता नगर्ने भन्दै अनौपचारिक समय तालिकाको सम्भावनालाई लिएर काबुलमा डर गहिरिँदो छ।











