राष्ट्रपतीय निर्वाचनअघि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको दाउ

तस्बिर स्रोत, EPA
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् २०२० सम्ममा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गर्ने अमेरिकाको योजना रहेको बताएका छन्।
यो लामो समयदेखिको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिबद्धताको स्पष्ट सङ्केत हो।
वाशिङ्टनमा बोल्दै विदेशमन्त्री पोम्पेओले राष्ट्रपतीय निर्वाचनअघि सैनिक फिर्ता गर्न सुरु गर्ने योजना खुलाएका हुन्।
उनले राष्ट्रपतिबाट आफूले आउँदो वर्षको नोभेम्बर महिनामा हुने निर्वाचनसम्ममा उक्त क्षेत्रमा अमेरिकी सैनिकको सङ्ख्या घटाउने निर्देशन पाएको जानकारी दिए।
वार्तामा बल
पोम्पेओले राष्ट्रपति ट्रम्पको निर्देशन "अन्त्यहीन युद्धको समाप्ति"बारे स्पष्ट रहेको बताए।
अफगानिस्तानमा अमेरिकी उपस्थिति घटाउने राष्ट्रपतिको प्रतिबद्धताले अहिले जारी सघन शान्तिवार्तालाई बल दिने ठानिएको छ।

तस्बिर स्रोत, Getty Images
अमेरिका र तालिबान दुवै पक्षका वार्ताकारहरूले आफूहरूबीचको संवाद सहमतिको नजिक पुगेको बताएका छन्।
त्यसले अमेरिकाको बहिर्गमनको बाटो खुला गर्न सक्छ।
तर त्यो कुन मूल्यमा भन्ने केही विश्लेषकहरूको प्रश्न छ।
सङ्ख्या
बीबीसीका संवाददाताका अनुसार मानवाधिकार, कानुनको शासन र तालिबानले मान्यता दिन अस्वीकार गर्दै आएको अफगान सरकारको भविष्यको सुनिश्चिततालाई लिएर आशङ्काहरू जीवित छन्।
गत साता समाचार संस्था रोएटर्सले विदेशमन्त्री पोम्पेओ र अफगान राष्ट्रपति अशरफ गनीबीच तालिबानसँगको युद्ध अन्त्य गर्ने प्रयास तीव्र पार्न सहमति भएको साथै पोम्पेओ शान्ति सम्झौता हुनेमा आशावादी रहेको उल्लेख गरेको थियो।
अफगानिस्तानमा रहेको अमेरिकी फौजको सङ्ख्या झन्डै १४ हजार छ।
अफगानिस्तानमा अमेरिकी उपस्थिति कुनै पनि युद्धमा उसको अहिलेसम्मकै लामो संलग्नता हो।
ट्रम्प प्रशासनले बहिर्गमनको योजना बनाएपछि अमेरिकी वार्ताकारहरू तालिबान र अफगान अधिकारीहरूसँगको शान्ति वार्तामा संलग्न छन्।








