साइप्रस शृङ्खलाबद्ध हत्या: नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई 'सातवटा जन्मकैद'

मेटक्सास

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेटाक्सासले आफूले किन त्यस्तो घृणित कार्य गरेँ भन्ने 'उत्तर खोज्न' अधिकारीहरूलाई सघाउन चाहेको बताएका छन्

पाँच विदेशी महिला र दुई बालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ।

उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए।

नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको गत वर्ष हत्या भएको थियो।

अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए।

ती घटनाहरू सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म भएका थिए।

क्षमायाचना

अदालतमा आँसु निकाल्दै उनले पीडितका परिवारसँग माफी मागेका थिए। आफूले किन त्यस्तो 'घृणित अपराध' गरेँ भन्ने आफूलाई नै थाहा नभएको उनको भनाइ थियो।

साइप्रसको आधुनिक इतिहासमा भएको पहिलो 'सिरियल किलिङ' अर्थात् शृङ्खलाबद्ध हत्याले पूर्वी भूमध्यसागरमा अवस्थित सो टापुराष्ट्र स्तब्ध भएको छ।

"साइप्रसको समाजले आफ्नो एउटा नागरिकले कसरी त्यो हदसम्मको अपराध गर्न पुग्यो भनेर सधैँ प्रश्न गर्नेछ," राजधानी निकोसियास्थित अदालतमा उनले बयान दिँदै भने, "मैले पनि आफूसँग यही प्रश्न सोधिरहेको छु। तर किन त्यसो गरेँ भन्ने उत्तर अहिलेसम्म पाउन सकेको छैन।"

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

मेटाक्सासले 'त्यसको उत्तर खोज्न' आफूले अधिकारीहरूलाई सघाउन चाहेको बताएका छन्।

उनी सेनामा क्याप्टेन थिए।

कठोर सजाय

अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो।

फैसलामा सेनाका पूर्वक्याप्टेनलाई २५ वर्षका सातवटा कारावासको सजाय सुनाइएको थियो।

तीन न्यायाधीशको संयुक्त इजलासले मेटाक्साले 'प्रतिरक्षा गर्न नसक्ने कमजोर महिलाहरूको हत्याको अभियान चलाएको' बताएका थिए।

साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ।

सातवटा आजीवन कारावासमध्ये पाँचवटा छुट्टाछुट्टै हुने र दुईवटा सँगसँगै खापिने अदालतको आदेश छ।

यो निर्णयविरुद्ध उनले पुनरावेदन नगर्ने ठानिएको छ।

हत्या

तस्बिर स्रोत, Reuters

उनले हत्या गरेका महिलामध्ये तीन जना फिलिपिन्सका, एक जना नेपाली र एकजना रोमानियाका नागरिक हुन्। उनीहरूमध्ये अधिकांश साइप्रसमा घरायासी कामदारका रूपमा कार्यरत थिए।

उनले हत्या गरेका बालिकाहरू दुई महिलाका सन्तान हुन्।

यो घटनाको सम्बन्धमा साइप्रसका प्रहरी प्रमुखलाई पदमुक्त गरिएको थियो भने न्यायमन्त्रीले राजीनामा दिएका थिए।

बेपत्ता भएका मानिसहरूको अनुसन्धानमा असफल भएको भन्दै उनीहरूको आलोचना भएको थियो।

Presentational grey line

को हुन् नेपाली महिला

स्थानीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया अस्मिता खड्का बिष्ट घरायसी कामदारका रूपमा साइप्रस गएकी थिइन्।

उनलाई सन् २०१८ को जुलाई‌मा अन्तिम पटक जुलाईमा देखिएको बताइएको छ। त्यतिबेला उनलाई निकोसियामा एउटा सेतो कारमा चढेको देखिएको थियो।

गत वर्ष उनी आफ्नो काम छोडेर नयाँ कामको खोजीमा भएको बताइएको छ।

उनलाई काम उपलब्ध गराएको एजेन्सीले बिष्टले काम छोडेको जानकारी अध्यागमन विभागलाई गराएको विवरण केन्यूजले प्रकाशित गरेको थियो।

उनी कसरी हराइनन् भन्ने स्पष्ट नभए पनि परिवारलाई उद्धृत गर्दै उनले आफू स्वदेश फर्किन लागेको बताएको केन्यूजको समाचारमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूका अनुसार मेटाक्सासले महिलाहरूलाई काम खोजिदिने प्रलोभन दिने गरेका थिए।

बिस्ट हराएपछि उनका साथीहरूले साइप्रसस्थित नेपाली कन्सुलेटलाई खबर गरेका थिए।

मेटाक्सास पक्राउ परिसकेपछि उनले अनुसन्धानका क्रममा आफूले एक नेपाली वा भारतीय महिलालाई पनि मारेको बताए। गत एप्रिल २५ मा सेनाले तारो हान्ने अभ्यास गर्ने एउटा दुर्गम स्थानमा अस्थिपञ्जर र अन्य अवशेष फेला पार्‍यो।

सो अवशेष बिष्टको भएको बताइएको छ।

Presentational grey line

घटनाबारे कसरी थाहा भयो

सबैभन्दा पहिले यो घटना एप्रिल महिनामा सार्वजनिक भएको थियो।

त्यतिखेर फिलिपिन्सका दुई महिला- ३८ वर्षीया म्यारी रोज टिबुर्कियो र २८ वर्षीया अलाइन परानस लोजानो - को शव फेला परेको थियो।

एक जनाको शव खानीको नालीमा पर्यटकहरूले देखेका थिए जुन ठूलो वर्षाका कारण पानीले भरिएको थियो।

त्यसपछि भएका अनुसन्धानमा शव भेटिएकी एक महिलाका अन्लाइन सन्देशहरू हेरेपछि प्रहरीले मेटाक्सासलाई पक्राउ गरेको थियो।

ताल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अधिकारीहरूले दुईवटा तालमा दुई शवहरू फेला पारेका थिए

सुरुमा उनले तेस्री महिलालाई मारेको स्वीकारेका थिएनन्। तर पछि उनले आफ्नो बयान फेरेर ३१ वर्षीया फिलिपिनो महिला मरिकर भल्टेज अर्क्विओला पनि मारेको बताए।

अन्य पीडितहरूमा टिबुर्कियोकी छोरी सीरा ग्रेज सिउक्यालिउक, लिभिय फ्लोरेन्टिना बुनिया र उनकी छोरी इलिना नटालिया बुनिया र अस्मिता खड्का बिष्ट रहेको त्यहाँको समाचारसंस्था केन्यूजले लेखेको छ।

पक्राउ परेपछि मेटाक्सासले अनुसन्धानकर्तासँग राम्रो व्यवहार गरेका थिए।

सेनाले अभ्यास गर्ने क्षेत्रनजिकै एउटा शव भेटिएको थियो। त्यसपछि अधिकारीहरूले दुईवटा तालमा अन्य दुई शव फेला पारेका थिए।

समाचारहरूमा बताइएअनुसार मेटाक्सासले प्रहरीलाई ती शवहरू कसरी लुकाइयो भन्ने विस्तृत विवरण दिएका थिए।