लेखिकाले लगाएको बलात्कार आरोपलाई ट्रम्पले दिए 'कथा' को संज्ञा

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन्।
ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताए।
लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन्।
उनको लेख न्यूयोर्क म्यागजिनमा शुक्रवार प्रकाशित भएको छ।
ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाहरूले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन्।
ई. जीन क्यारोलको आरोप
लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्।
उनका अनुसार त्यसबेला ट्रम्पले आफू 'एक केटी'को लागि उपहार किन्न आएको बताएका थिए।
उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन्।
उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफू बलात्कृत भएको उनको आरोप छ।
त्यो समयमा ट्रम्प र क्यारोल करिब ५० वर्षका थिए र ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए।
क्यारोलले आफूले सो घटना दुईजना साथीहरूलाई सुनाएको र एकजनाले प्रहरीमा जान सुझाव दिएको बताएकी छन्।
तर उनका अनुसार अर्को साथीले कसैलाई नभन्न भन्दै उनलाई भनेकी थिइन्, 'बिर्सिदेउ! उसका दुई सय वकिल छन्। तिमीले जित्दैनौ।'
ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छवटा आक्रमणका आरोपहरू मध्येको एक हो।
क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफूले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन्।

तस्बिर स्रोत, Getty Images
ट्रम्पको जवाफ
"मैले यो मानिसलाई आफ्नो जीवनका कहिल्यै भेटेको छैन," अमेरिकी राष्ट्रपतिले एक विज्ञप्तिमा भनेका छन्।
"उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन् - यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ। यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ।"
ट्रम्पले डेमोक्र्याटिक पार्टीले क्यारोल वा न्यूयोर्क म्यागाजिनसँग सम्बन्ध बढाएको जानकारी भए ह्वाइट हाउसलाई सूचना दिन भनेका छन्।
उनले पत्रिकालाई पनि मिथ्या समाचारसँग खेलेको आरोप लगाएका छन्।
ट्रम्पको भनाइ छ, "कुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरूका लागि दु:खद कुरा हो।"








