श्रीलङ्का आक्रमण: इस्टरमा गरिएका आत्मघाती विस्फोटनमा संलग्न परिवारिक सञ्जाल

तस्बिर स्रोत, Anadolu Agency/Getty Images
- Author, अनबरसन इथिराजन
- Role, बीबीसी न्यूज, श्रीलङ्का

गत महिना श्रीलङ्कामा भएका आत्मघाती आक्रमणमा दुई सय ५० जना भन्दा बढीको मृत्यु भएको थियो। आक्रमणमा स्थानीय मुसलमान नै संलग्न भएको थाहा पाउँदा श्रीलङ्कालीहरू एर धेरै चकित भए। एउटा सानो समूहले त्यस्तो विनाशकारी बम आक्रमणको शृङ्खलावद्ध योजना बुनिरहेको कसरी पत्तो पाउन सकिएन?

यो आक्रमणसँग सम्बन्धित सुराक गत जेनुअरीको मध्यमै पाइएको थियो जतिबेला श्रीलङ्का प्रहरीले देशको पश्चिमी तटमा अवस्थित पुट्टलम जिल्लाको विलपट्टु न्याश्नल पार्कनजिकै नरिवलको बगैँचाबाट १०० किलो विस्फोटक पदार्थ र १०० डेटोनेटर बरामद गरेको थियो।
त्यतिबेला प्रहरी सन्दिग्ध इस्लामिक कट्टरपन्थीले बुद्धको मूर्तिमा गरेको आक्रमणको निरीक्षणमा जुटेको थियो। प्रहरीले त्यही बेला नवगठित 'कट्टरपन्थी मुस्लिम समूह' का चार जनालाई गिरफ्तार गरेको थियो।
त्यसको तीन महिनापछि सन्दिग्ध इस्लामवादी कट्टरपन्थीले कोलम्बो, नेगोम्बो र पूर्वी सहर बट्टिकलोआमा ४० विदेशीसहित दुई सय ५० जनाको निर्मम हत्या हुनेगरी गिर्जाघर र होटलमा आत्मघाती विस्फोटन गरेका थिए।
तर नरिवलको बगैँचामा विस्फोटक पदार्थ भेटिनु एउटा मात्र त्यस्तो घटना थिएन। त्यस बेला अन्यत्र पनि त्यस्ता घटना भएका थिए जसबाट सतर्क रहन आवश्यक थियो। खासगरी त्यतिबेला जतिबेला सिरियामा भएको इस्लामिक स्टेट समूहमा संलग्न कैयौँ श्रीलङ्कालीहरू स्वदेश फर्किएको भन्ने समाचार आएको थियो। तर त्यस्तो भएन।
इस्टर पर्वमा भएको नरसंहारपछि अहिले हामीलाई छिमेकी भारत र अमेरिकाका गुप्तचर निकायले सम्भावित घटनाबारे वारंवार चेतावनी दिएका थिए भन्ने थाहा भयो।
अब यो शृङ्खलाबद्ध आक्रमणपछि नै प्रहरीले पुट्टलममा जेनुअरीमा गरिएको गिरफ्तारी र ठूलो मानवीय क्षति गराउने योजनाका नाइकेबीच सम्बन्ध भएको पत्ता लगाउन थालेको छ।
परिवार-परिवारको सञ्जाल
श्रीलङ्का सरकारमा शीर्ष स्तरमा राजनीतिक अन्तर्द्वन्द्व र गुटबन्दी चलिरहेको छ। त्यसैले चेतावनी दिइँदा पनि त्यसलाई बेवास्ता गरियो। तर सन् २००९ मा गृहयुद्ध समाप्त भएको हुनाले विकसित आत्मसन्तोषको पनि यसमा भूमिका रह्यो।
अल्पसङ्ख्यक तामिल पृथक्तावादी र सरकारबीच युद्धको समाप्तिपछि मुस्लिमविरोधी छिटफुट दङ्गाले आक्रोश र असन्तुष्टि निम्त्याएको थियो।
यो स्तरको संयोजित आक्रमणको सङ्केत गर्ने यसअघि त्यस्तो केही भएको थिएन।
श्रीलङ्कामा इस्टर सन्डेमा भएको यो घटनाबारे अनुसन्धान गरिरहेका आतङ्कवादविरोधी समूहका सदस्य भन्छन्, "इस्लामिक कट्टरपन्थीले गरेको यो घातक विस्फोटनले केवल सबैलाई अचम्मित मात्रै पारेन, सँगसँगै यो पूरै कारबाही नै गोप्य राखेकोले पनि चकित पार्यो।"
यसका लागि विस्तृत योजना, सुरक्षित घर, योजनाकार र त्यसै अनुसार गर्नेको एउटा बृहत् सञ्जाल, बम बनाउने विशेषज्ञता र महत्त्वपूर्ण आर्थिक सहायता सबै चाहिन्छ। त्यसो भए यी सबैकुरा जानकारीमा आउन कसरी सकेन?
यीमध्ये केही प्रश्नहरूको उत्तर पाइएको छ। सुरक्षानिकाय, सरकारी अधिकारीहरू र स्थानीय मुस्लिम नेताहरूसँग जोडिएका स्रोतले कसरी कट्टरपन्थीका अन्ध अनुयायी र इस्लामिक स्टेटप्रति सहानुभूति राख्नेहरूले सुरक्षाबलको नाकैमुनि गोप्य तरिकाले यो समूह तयार गरे भनेर एउटा खाका बनाएको छ।



अनुसन्धानकर्ताहरू भन्छन् - केही परिवारका सदस्यहरू कट्टरपन्थी बने र उनीहरूले नै आफ्नो समूह बनाए।
अनुसन्धानको संवेदनशीलताका कारण आफ्नो नाम उल्लेख गर्न नचाहने आतङ्कविरोधी एक एजेन्टले भने, "यसरी उनीहरू आफ्नो उद्देश्य र क्रियाकलाप आफूबीच नै गोप्य राख्छन्।"
प्रत्येक समूहले अन्य कट्टरपन्थी पारिवारिक समूहहरूसँग मिलेर ठूलो सञ्जाल बनाए।
उनीहरूले त्यस्ता सूचनालाई निकै बफादार भएर आफ्नो सञ्जालभित्र मात्रै सीमित राख्ने ठानिन्छ।
सामाजिक सञ्जाल तथा इन्टरनेबाट सन्देश पठाउने एपहरूले सम्पर्कमा रहन र योजना बुन्न सहयोग पुर्याएको अनुमान गरिएको छ।
ती एजेन्टले भने, "अनुसन्धानकर्ताहरू अहिले यी मानिसहरूले कसरी एकआपसमा सूचना आदानप्रदान गरे र संयोजन गरे भन्ने खोज्न प्रयास गरिरहेका छन्।"
एक पूर्वएजेन्टले भने, "यी कट्टरपन्थीले आफ्नो उद्देश्य पूरा गर्नका लागि परिवारलाई प्रयोग गर्ने एउटा नयाँ कुरा बाहिर आएको छ। हामीले कसरी इन्डोनेशियामा (गिर्जाघर र प्रहरी भवनमा) भएको आत्मघाती आक्रमणमा पनि परिवार संलग्न थियो भन्ने हामीले देखेका छौँ।"
अहिलेसम्म कट्टरपन्थीसँग सम्बन्धित भएको भन्ठानिएका ७० जनाभन्दा बढी मानिस पक्राउमा परेका छन्। तर सञ्जाल विघटित भयो भन्नेमा सर्वसम्मति छैन।
"आक्रमणमा संलग्न भएको भन्ठानिएका मुख्य योजनाकार र बम बनाउनेहरू अझै फरार छन्…। त्यसैले दोस्रो चरणको आक्रमण हुन सक्ने आशङ्काहरू व्यक्त भएका छन्," आफू चिनिन नचाहने एक वरिष्ठ सरकारी अधिकारीले मलाई बताए।
"आतङ्कवादको परम्परागत सिद्धान्तअनुसार एउटा आत्मघाती आक्रमणकारीलाई सम्हाल्ने कम्तीमा पाँच जना अरू मानिस चाहिन्छ। यदि त्यसैअनुसार हिसाब गर्ने हो भने पनि नौ आक्रमणकारीका लागि त्यहाँ ४५ जना मानिसहरू थिए। हामी यसबारे चिन्तित छौँ।"
तर यो कुरा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले भनेको भन्दा भिन्न छ। उनले आक्रमणकारीसँग सम्बन्धित सबै सन्दिग्धहरू मारिएको अथवा पक्राउमा परेको घोषणा गरेका थिए।



श्रीलङ्कामा बहुसङ्ख्यक सिन्हला र तामिलपछि मुसलमानको जनसङ्ख्या तेस्रोमा स्थानमा छ। इस्टरको घटनापछि सबैको दृष्टि मुस्लिम समुदायमा परेको छ।
दुई करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्कामा झन्डै १० प्रतिशत मानिसहरू मुसलमान छन्।
गृहयुद्धका बेला मुसलमानहरू तामिल टाइगर विद्रोहीबाट पीडित थिए।
सन् १९९० मा झन्डै ७५ हजार मुसलमानलाई देशको उत्तरी भेगबाट देशनिकाला गरिएको थियो।
त्यही वर्ष पूर्वी भेगस्थित मस्जिदमा भएका आक्रमणहरूमा डेढ सय जनाको मृत्यु भएको थियो।
पछि सयौँ मुसलमानहरू श्रीलङ्काको सुरक्षाबलमा भर्ती भए। धेरैजसो मुसलमानहरू सिन्हला र तामिल दुवै भाषा राम्रोसँग बोल्न सक्ने भएकाले गुप्तचर निकायहरूले उनीहरूलाई रुचाएको थियो।
तर सरकार र तामिल विद्रोहीसँग सङ्घर्ष भइरहँदा रुढीवादी इस्लामिक अभियान बिस्तारै मुसलमानहरूको बाहुल्य भएको पूर्वी क्षेत्रमा फैलिँदैथियो।


तस्बिर स्रोत, AFP

"यो प्रक्रिया झन्डै तीन दशकअघि सुरु भएको थियो। इस्लामको वहाबी मतले युवाहरूलाई आकर्षित गरेको थियो र त्यसका लागि विदेशबाट आर्थिक सहयोग पनि थियो," पूर्वी नगर कट्टनकुडीमा अवस्थित मस्जिद महासङ्घका एक अधिकारी मजूक अहमद लेब्बेले भने।
समुद्री तटमा उक्त नगरमा झन्डै ४७ हजार मानिस बस्छन्। तीमध्ये धेरैजसो मुस्लिम छन्। उक्त नगरको केन्द्रमा रहेका केही पसलहरूले मुस्लिम महिलाले लगाउने अबाया भनिने कालो रङ्गको लामो वस्त्र बेच्छन्।
नगर रङ्गीन मिनार र गोलो आकारका भवनहरूले भरिएको छ।
कट्टनकुडीमा झन्डै ६० मस्जिद छन् र केही निर्माणाधीन पनि छन्। मुस्लिम समुदायका नेताहरू भन्छन् - धेरै मस्जिदहरूले उदारवादी र मूलधारका शिक्षाको पालना गर्छन् भने केहीले इस्लामको अतिरूढीवादी संस्करणको प्रचार गर्छन्।


तस्बिर स्रोत, AFP

त्यसरी कट्टरपन्थतर्फ आकर्षित हुनेमध्येमा एक मोहम्मद जहरान हाशिम पनि थिए जसलले सरकारका अनुसार इस्टर सन्डेको दिन साङ्ग्रिला होटलमा भएको आत्मघाती विस्फोटन गराएका थिए।
हाशिमका बुवाले उनलाई सानो हुँदा एउटा मदरसामा पठाएका थिए।
उनले आफ्ना गुरुहरूले इस्लामको अनुसरण नगरेको भनेर प्रश्न उठाउने गरेका थिए।
उनलाई त्यहाँबाट निकालियो् तर उनले इस्लामको स्वाध्ययन गरिराखे। पछि उनले स्थापित स्थानीय मस्जिदहरूले अभ्यास गरिरहेको विषयलाई चुनौती दिँदै प्रवचनहरू दिन थाले।
लेब्बेले भने, "हामी उनको धारणासँग असहमत थियौँ। त्यसैले हामीले उनलाई हाम्रा कुनै मस्जिदहरूमा प्रवचन दिन दिएनौँ।"
हाशिमले सुरुमा "दरुल अतहर" नामक एक रुढीवादी समूहको स्थापना गरे र त्यसपछि सन् २०१४ तिर कट्टरपन्थी न्याश्नल तौहिद जमात (एनटीजे) को गठन गरे।


यही समूहमाथि श्रीलङ्का सरकारले इस्टर आक्रमणको आरोप लगाएको छ।
एनटीजेका सदस्यहरू यसअघि बुद्धका मूर्तिहरू तोडफोड गरेको र अन्य मुसलमान समूहहरूसँग झडप गरेको भन्ने आरोपहरूका कारण परिचित थिए। तर इस्टरको दिन भएको घटनामा उनीहरूको संलग्नता भएको भन्ने विषयलाई लिएर कैयौँ चकित छन्।
पहिलापहिला एनटीजेलाई विदेशबाट चन्दा आउँथ्यो। विशेषत: मध्यपूर्व, भारत र मलेशियाबाट। चन्दाबाट उनीहरूले कट्टनकुडीस्थित समुद्री तटनजिकै मस्जिद बनाए।
सरकारले यो आक्रमणपछि एनटीजेमाथि प्रतिबन्ध लगाउनुको साथै यो मस्जिदलाई पनि बन्द गरिदिएको छ।


तस्बिर स्रोत, Reuters

प्रवचन दिने प्रेरणा हाशिमले वहाबी परम्पराबाट पाएका हुन्। सो मतका अनुयायीहरू इस्लामको कठोर नियम पालना गर्छन्।
कट्टनकुडीको मुस्लिमहरूका अनुसार हाशिमले यसरी अघि बढ्दै चरमपन्थी विचारधारा अपनाए। एनटीजेले सहरको सूफी मुसलमानको सानो समुदायको विपक्षमा अभियान चलायो।
सन् २०१७ मा हाशिम र एनटीजेका सदस्यहरूले एउटा कार्यक्रम भइरहँदा हातमा हतियार लिएर सूफी मुसलमानहरूसँग झडप गरे।
त्यतिबेला हाशिमका पिता र दोस्रा भाइसहित एनटीजेका १० सदस्यहरूलाई गिरफ्तार गरिएको थियो। तर हाशिम र उनका भाइ रिल्वान भागेर कतै लुके।
धेरै आलोचना भएपछि एनटीजेले हाशिमलाई निष्कासित गरिदिएक बतायो। तर केही मुसलमान नेताहरूका अनुसार हाशिम समूहमा प्रभावशाली नै थिए।
लुकेका बेला उनले सामाजिक सञ्जालमा घृणा फैलाउने अभिव्यक्ति भएका भिडिओहरू हाल्न थाले जसमा 'नास्तिक'हरूको आलोचना गरिएको थियो।
हाशिमले आफ्नो परिवारका धेरै सदस्यहरूलाई आफ्नोजस्तै अतिवादी सोचतर्फ अग्रसर गराएको र हिंसाको बाटोमा हिँड्न सहमत गराएको देखिएको छ।


तस्बिर स्रोत, Reuters

"उनीहरूको एउटा सामान्य मुस्लिम परिवार थियो। हाशिमका बुवा गरिब पृष्ठभूमिका हुन् र यो समुदायमा परिचित थिए। हाशिम एक राम्रा उपदेशक थिए र कुरानमा राम्रो दख्खल राख्थे… कसैले पनि हाशिम र उनको परिवारले यस्तो गर्ला भन्ने सोचेको थिएन," लेब्बेले भने।
"मैले जहरानका बुवा र उनका एक भाइलाई इस्टर सन्डेमा भएको घटानको एक साताअगाडि भेटेको थिएँ। तर उनीहरूले अरू बेला जस्तै सामान्य व्यवहार गरेका थिए। उनीहरू त्यो हदसम्म कट्टरपन्थी कसरी बने भन्ने अझै पनि रहस्य नै छ," एनटीजेका सदस्य तथा हाशिमका एक आफन्तले भने।
जहरान हाशिमका आमाबुवा, दुई भाइ र तिनका परिवार पनि कट्टनकुडीको दक्षिणमा रहेको साइथामारुथु नगरमा इस्टर आक्रमणको केही दिनपछि एप्रिल २६ तारिखमा सुरक्षाकर्मीको निसानामा परी मारिएको ठानिएको छ।
त्यहाँ तीन जनाले केही बालबालिकासहित जम्मा १५ जनाको ज्यान जानेगरी विस्फोटन गराएका थिए।


तस्बिर स्रोत, Getty Images

उक्त आक्रमणपछि भग्नावशेषमा प्रहरीले मन्दिरमा प्रार्थनाका बेला बौद्ध धर्मावलम्बी महिलाले लगाउने सेतो लुगा भेटेको थियो।
थप आक्रमण गर्नका लागि मे महिनाको मध्यमा हुने बौद्ध पर्वमा मन्दिर प्रवेश गर्न विद्रोहीहरूले लुगा परिवर्तन गर्ने योजना गरेको शङ्का गरिएको छ।
उक्त क्षेत्रमा रहेका एक अधिकारीले मलाई भने, "हामीले पसलबाट किनिएको नौ थान लुगामध्ये पाँच थान पत्ता लगायौँ। तर चार थानचाहिँ अझै भेटिएको छैन।"
हाशिमका श्रीमती र छोरी घाइते भए, तर बाँचे।



एप्रिल २४ तारिखमा हाशिमकी बहिनी मोहम्मद हाशिम मदानियाले बीबीसीसँग आफ्नो भाइले गरेको कामको निन्दा गरिन् र उनीहरूबीच दुई वर्षदेखि कुनै सम्पर्क नभएको बताइन्।
उनले विस्फोटको केही समय पहिलादेखि नै आफ्नो माइती पक्षका यी सदस्यहरूको क्रियाकलापबारे केही नदेखेको र केही नसुनेको बताइन्। उनले बताएअनुसार उनी त्यस्तो परिवारकी सदस्य थिइन् जसको यो सञ्जालमा कुनै संलग्नता थिएन।
एक सातापछि प्रहरीले मदानियालाई उनको घरमा छापा मार्ने क्रममा झन्डै २० लाख श्रीलङ्कन रुपैयाँ भेटिएको भन्दै पक्राउ गर्यो।
मदानियाले विस्फोटनको केही दिनअघि आफ्ना भाइसँग कोलम्बोबाट उक्त रकम लिएको प्रहरीले आरोप लगाएको थियो।
हिरासतमा रहेकी मदानियाबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन।
कट्टरता
केही मानिसहरू क्यान्डी जिल्लामा सन् २०१८ को फेब्रुअरीमा भएको मुस्लिमविरोधी दङ्गाले धेरैलाई चरमपन्थतिर धकेलेको ठान्छन्।
उक्त दङ्गामा कम्तीमा दुई जना मारिएका थिए र एउटा मस्जिदमा आगो लागेको थियो अनि सयौँ घर तथा पसलहरू क्षतिग्रस्त भएका थिए।
हिंसाहरू भड्किएपछि त्यहाँ सङ्कटकालको घोषणा गरिएको थियो।
उक्त घटनापछि स्थानीय मुसलमानहरूले सरकारले आफ्नो सुरक्षाका पर्याप्त व्यवस्था नमिलाएको मलाई बताएका थिए।
तर ती दङ्गा हुनुभन्दा धेरै वर्षपहिला नै सानो सङ्ख्यामा मुस्लिम युवाहरू कट्टरपन्थी बनिसकेका थिए।
अधिकारीहरूले सन् २०१४ मा सिरिया र इराकमा चरमपन्थी समूहले इस्लामिक परम्परामा आधारित शासन व्यवस्था "क्यालिफेट" घोषणा गरेपछि दर्जनौँ व्यक्तिहरू त्यसमा आकर्षित भएको बताएका छन्।


तस्बिर स्रोत, AFP

आईएसमा संलग्न हुने पहिलो श्रीलङ्काली
मध्य श्रीलङ्काको एउटा विद्यालयका शिक्षक मोहम्मद मुहसिन निलम सिरियामा आईएसमा संलग्न हुने पहिलो व्यक्ति थिए। उनी सन् २०१५ मा रक्कामा मारिएका थिए।
आतङ्कविरोधी एजेन्टले भने, "इस्टरमा विस्फोटन गर्ने आत्मघाती बम आक्रमणकारीलाई कट्टरपन्थी बनाउनमा उनको महत्त्वपूर्ण भूमिका रहेको ठानिन्छ।"
यीमध्ये कोही आक्रमणकारी सिरियामा गएका थिए की थिएनन् भन्ने स्पष्ट छैन।
अनुसन्धानकर्ताका अनुसार अब्दुल लथिफ मोहम्मद जमिल सन् २०१४ मा टर्कीसम्म पुगेका थिए र त्यहाँबाट घर फर्किएका थिए।
चिया व्यापारमा संलग्न धनी परिवारका सदस्य जमिलले यूके र अस्ट्रेलियामा पढेका थिए।
एप्रिल २१ मा आक्रमण गर्नका लागि उनको निसानामा कोलम्बोस्थित ताज समुद्र होटल थियो। तर सम्भवत: त्यहाँ हुनको बम विस्फोटन हुन सकेन र उनलाई होटल परिसर छोड्दै गरिएको देखिएको थियो। पछि उनले देहीवालास्थित एक मोटलमा बसेका दुई जनाको ज्यान जानेगरी आत्मघाती विस्फोटन गरेका थिए।


तस्बिर स्रोत, Reuters

अनुसन्धानकर्ताहरूले चार सन्तानका पिता जमिलले नै स्थानीय कट्टरपन्थीहरूलाई इस्लामिक स्टेट वा विदेशमा रहेका अन्य इस्लामवादी समूहसँग सम्पर्क गराएको आशङ्का गरिएको छ।
केही वर्ष पहिले उनको परिवार जमिको कट्टरपन्थी धारणाबारे चिन्तित बनेको थियो। परिवारले सुरक्षानिकायको सहायता पनि लिएको थियो।
"उनी पूर्ण रूपमा कट्टरपन्थी बनेका थिए र अतिवादी विचारधारालाई समर्थन गर्थे। मैले उनलाई सम्झाउने प्रयास गरेँ," एक अधिकारीले भने।
"मैले उनलाई उनी कसरी यसमा पुगे भनेर सोधेँ… उनले लन्डनमा एक कट्टरपन्थी ब्रिटिश उपदेशक अन्जेम चौधरीको प्रवचनमा भाग लिएको बताए। उनले त्यही क्रममा उनीसँग भेट भएको बताएका थिए।"
अन्जेम चौधरी ब्रिटेनका सबैभन्दा बढी प्रभावशाली र खतरनाक कट्टरपन्थी उपदेशक मानिन्छन्।
उनी सन् २०१६ मा इस्लामिक स्टेट समूहलाई समर्थन गरेको आरोपमा दोषी पाइएका थिए र जेलमा परेका थिए। उनी त्यसपछि सन् २०१८ मा रिहा भए।
जमिलका साथीहरूका अनुसार उनमा कट्टर विचार आउनुमा इराकमा अमेरिकाको आक्रमण एउटा महत्त्वपूर्ण कारण हो। अनुसन्धानकर्ताहरूका अनुसार उनी थप कट्टरपन्थी सन् २००९ मा अस्ट्रेलिया गएपछि बनेका हुन्।
त्यसको चार वर्षपछि श्रीलङ्का फर्किएपछि उनलाई निगरानीमा राखिएको थियो। तर त्यो निगरानी कति लामो समयसम्म थियो भन्ने स्पष्ट छैन।
मसला व्यापारी
पूर्वका हाशिमको कोलम्बोस्थित एक धनी मसला व्यापारीका दुई छोरा इन्साफ अहमद इब्राहिम र इल्हाम इब्राइमसँग कसरी सम्पर्क भयो भन्ने स्पष्ट छैन। इस्टरमा भएको आत्मघाती बम आक्रमणमा यी दुवैजना संलग्न थिए।
मुस्लिम समुदायका एक नेताले मलाई हाशिमले कुरुनेगाला नगरकी एक महिला विवाह गरेको बताएका थिए।
जाहरन हाशिमसँग मिलेर साङ्ग्रिला होटललाई निसाना बनाएका इल्हाम इब्राहिम कुरुनेगालाबाट ५० किलोमिटर पर पर्ने मटालेमा परिवारको मसला खेती हेर्थे।
इलाहिम इब्राहिम र हाशिम यही क्षेत्रमा एकअर्काको सम्पर्कमा आएका थिए।
पहिलो विस्फोट भएको केही घण्टापछि प्रहरीले कोलम्बोको बाहिरी भेगमा पर्ने डेमाटागोडामा रहेको इल्हाम इब्राहिमको भव्य घरमा छापा मारेको थियो।
प्रहरीका अनुसार इलाहिमकी श्रीमती फातिमा इब्राहिमले आफ्ना तीन सन्तान र तीनजना अधिकारीको ज्यान जानेगरी आत्मघाती विस्फोट गरेकी थिइन्।


तस्बिर स्रोत, Facebook

नौवटा आत्मघाती विस्फोटन गराउन एकदम धेरै आर्थिक जोहो गर्नुपर्ने र सावधानीपूर्वक योजनाहरू बनाउन आवश्यक रहेको भन्नेमा अधिकारीहरू र सुरक्षा विज्ञहरू स्पष्ट छन्।
आत्मघाती बम आक्रमणहरू भएको एक सातापछि अन्य दुई सन्दिग्ध मवानेल्ला नगरका मोहम्मद अब्दुल-हक र मोहम्मद शहीद अब्दुल-हक पक्राउ परेका थिए।
उनीहरूको इब्राहिमका दाजुभाइसँग सम्पर्क रहेको आशङ्का गरिएको छ।
"अनुसन्धानकर्ताहरूले पुट्टलाम जिल्लामा हक दाजुभाइको एउटा सुरक्षित घर फेला पारेका छन्। अनुसन्धानकर्ताहरूले उक्त सम्पत्ति किन्नका लागि इब्राहिम दाजुभाइबाट पैसा मिलेको भन्न सकिने आधार पत्ता लगाएका छन्," गुप्तचर निकायका एक भूतपूर्व अधिकारीले भने।
इब्राहिम दाजुभाइका बुवा मोहम्मद इब्राहिम अझै हिरासतमै छन्।
उनी कोलम्बोको व्यापारीहरूमाझ चिरपरिचित छन्।
राजनीतिज्ञसँग राम्रो चिनजान छ। र, उनी एकपटक संसदीय निर्वाचनमा उठेका तर पराजित भएका थिए।
उनीमाथि कुनै अभियोग लगाइएको छैन र उनी थुनामा परेदेखि केही सुनिएको पनि छैन।
जमिलले नै इब्राहिम दाजुभाइलाई प्रभावित पारेको अनुसन्धानकर्ताहरू ठान्छन्। दुवैका परिवारले एकअर्कालाई चिन्थे।
राजनीतिक गुट
आक्रमणबाट पीडामा परेका र मर्माहत श्रीलङ्काका मानिसहरू अहिलेसम्म पनि त्यसबाट उठ्न सकेका छैनन्।
यी विस्फोटनहरूपछि त झन् त्यहाँका मानिसहरू सरकारको व्यवहार र यसमाथि भएको राजनीतिबाट पनि आक्रोशित छन्।
राष्ट्रपति मैत्रीपाल सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमसिङ्घ दुई फरक राजनीतिक पार्टीका हुन् र एकअर्काको एकदमै विरोध गर्छन्।
एकअर्कालाई होच्याउने उनीहरूको प्रयासले देखा परेको संवादहीनताले समेत सरकारका कामकाजमा असर गरेको छ।


तस्बिर स्रोत, Getty Images

राष्ट्रपतिको निर्देशनमा सुरक्षानिकायहरूले काम गर्छन्। आक्रमणको लगत्तै प्रधानमन्त्रीले भारतीय गुप्तचरसंस्थाले सम्भावित घटनाबारे दिएको चेतावनीबारे आफूलाई केही थाहा नदिइएको बताएका थिए।
राष्ट्रपति सिरिसेनाले पनि गुप्तचर संस्थाका उच्च अधिकारीले आफूलाई पनि त्यस्तो सूचनाबारे केही नभनेको बताएका थिए।
मानवाधिकारसम्बन्धी वकिल भवानी फोन्सेकाले दुई नेताबीचको तिक्तताले देशलाई असर गरिरहेको बताइन्।
"यसले सुरक्षालाई कसरी असर गरिरहेको छ भन्ने भन्दा बढी सङ्केत गरेको छ… त्यसले हामीलाई गहिरो रूपमा चिन्तित बनाउनेछ," उनले भनिन्।
सरकारका विभिन्न निकाय बीचको संवादको कमी त्यतिबेला स्पष्ट भयो जतिबेला दुई मन्त्रीहरूले हताहत हुनेको सङ्ख्या गलत बताएको विषयमा एकअर्कालाई आरोप लगाए।
बम आक्रमणमा मृत्यु हुनकेो सङ्ख्या पाँच दिनपछि पहिला भनिएकोभन्दा एक सय कम रहेको सरकारले बताएको थियो।
एकचोटि श्रीलङ्काको प्रहरीले एक अमेरिकी महिलालाई सन्दिग्धको रूपमा पहिचान गरेको थियो पछि उसले क्षमा मागेको थियो।
बीबीसीसँग कुरा गर्ने थुप्रै सरकारी अधिकारीले गोप्य एजेन्टहरूको समूह अझै पनि त्यहाँ हुनसक्ने स्वीकारेका छन्।
तर त्यसले किन इस्लामिक स्टेट समूहले मुसलमानहरू अल्पसङ्ख्यक रहेको श्रीलङ्काजस्तो देशलाई लक्षित गरिरहेको भन्ने प्रश्न उब्जाएको छ।
सरकारी वरिष्ठ अधिकारीहरूले इस्लामिक स्टेट इराक र सिरियाबाट भौतिक रूपमा नाश भए पनि उनीहरूले क्यालिफेट (इस्लामी साम्राज्य) को हिस्सा श्रीलङ्कामा रहेको रूपमा हेर्छन्।
राष्ट्रपति सिरिसेनाले बीबीसीलाई भनेका छन्, "उनीहरूले यस्तो देशलाई निसाना बनाएका छन् जहाँ अहिले शान्ति स्थापना भएको छ। उनीहरूले इस्लामिक स्टेट अझै पनि सक्रिय छ भन्ने सन्देश दिनका लागि यस्तो गरेका हुन्।"
श्रीलङ्का युद्धबाट धेरै प्रभावित भएको देश हो। दशकौँसम्म उसले चरम हिंसा खेपेको छ। तर यस पटक श्रीलङ्काले जुन शक्तिसँग सामना गर्नुपरेको छ त्यो अदृश्य छ र त्यो शक्तिले प्रेरणा तथा सम्भवत: सहयोगी पनि अन्तर्राष्ट्रिय आतङ्कवादी सञ्जालसँग लिइरहेको हुनसक्छ।
यो लडाइँ लामो समयसम्म चल्न सक्छ।
धेरै मानिसलाई देश यसरी नै विभाजित हुँदासम रहन्छ यो जोखिम रहिरहन्छ भन्ने डर छ।













