इत्साक खायिक: ७३ वर्षको उमेरमा बने यी इजरेली सबैभन्दा वृद्ध फुटबल खेलाडी

तस्बिर स्रोत, Reuters
त्रिहत्तर वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर एक इजरेली वृद्धले नयाँ कीर्तिमान राखेका छन्।
शुक्रवार दिउँसो भएको खेलमा इत्साक खायिक इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर खेलेका थिए।
वृद्धावस्थामा भए पनि निर्धारित ९० मिनेट पूरै खेलेका खायिकले आफू अर्को खेलका लागि तयार भएको बताए।
खेल सकिएपछि आयोजित एउटा समारोहमा उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले सम्मानित गरेको थियो।
केही दिनमै उनको जन्मदिन आउँदैछ।
राम्रो प्रदर्शन
उनको इरोनी ओर येहुदा क्लब इजरेली घरेलु फुटबलको चौथो तहमा खेल्छ।
शुक्रवारको खेलमा खायिकको क्लब १-५ गोलले पराजित भए पनि उनले राम्रो प्रदर्शन गर्दै धेरै प्रहारहरू रोकेका थिए।
उनले समाचारसंस्था रोएटर्सलाई भने, "यो मेरा लागि मात्रै नभएर समग्रमा इजरेलको खेलकुदले गौरव गर्ने विषय हो।"


उनका ३६ वर्षीय छोरा मोशे खायिकले आफ्ना पिताको उपलब्धिको उपलब्धिलाई "अविश्वसनीय" भनेर प्रशंसा गरेका छन्।
उनले बुवासँग खेल्दा आफू भने थाक्ने गरेको भनेर ठट्यौली गरे।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

पुराना कीर्तिमान
यसअघि उरुग्वेका रोबर्ट कार्मोनालले ५३ वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर कीर्तिमान राखेका थिए।
उनी सन् २०१५ मा पान डे अशुकरको टोलीबाट खेलेका थिए।
जापानी खेलाडी काजुयोशी मिउरा व्यावसायिक फुटबलको प्रतिस्पर्धात्मक खेलमा गोल गर्नेमा सबैभन्दा पाका खेलाडी हुन्।
जापानको दोस्रो तहको फुटबल प्रतियोगितामा सन् २०१७ मा योकोहोमा फुटबल क्लबले थेस्पा कुसात्सुलाई हराउँदा उनले सो खेलमा भएको एक मात्र गोल गरेका थिए।
सो गोलका कारण मिउराले सर स्ट्यान्ली म्याथ्युजको ५२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरेका थिए।

यो पनि पढ्नुहोस्










