तराईमा दाइजोको समस्या : 'जति पढ्यो त्यति बढी दाइजो लिन्छन्'

    • Author, ‏बृजकुमार यादव
    • Role, बीबीसी नेपाली सेवा

नेपालमा झन्डै एक वर्षअघि लागु भएको देवानी तथा फौजदारी संहिताले दाइजो र त्योसँग जोडिएका घरेलु हिंसालाई नियन्त्रण गर्ने अपेक्षा गरिए पनि त्यो क्रम लगभग पहिलाको जस्तै रहेको तराई क्षेत्रका अधिकारी तथा अधिकारकर्मीहरूले बताएका छन्।

उनीहरूको भनाइमा प्रदेश २ का विभिन्न स्थानका महिलाले दाइजोको कारण विभिन्न समस्या भोग्ने क्रम रोकिएको छैन।

उनीहरूको भनाइमा तराई भेगमा "छोरीले जति धेरै पढ्यो उती धेरै दाइजो दिने" पीडा अभिभावकहरूको छ।

दाइजोविरुद्ध कानुन भए पनि उजुरी नपर्ने र त्यसैले दाइजोजन्य विकृतिको अवस्था "भयावह" भइरहेको छ।

नेपाल प्रहरीका अनुसार यो आर्थिक वर्षमा ६ हजार भन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन्।

तर ती मध्ये कति दाइजोसँग जोडिएका र तराई क्षेत्रमा दर्ता भएका हुन् त्यो प्रष्ट छैन।

'घरेलु हिंसा कोट्याउँदा दाइजोजन्य उत्पीडन'

नेपाल प्रहरीबाट अवकास प्राप्त भएपछि महिला हिंसाविरुद्धका कार्यमा सक्रिय सुभद्रा आलेले घरेलु हिंसा कोट्याउँदा दाइजोजन्य उत्पीडन देखिने गरेको बताउँछिन्।

उनले भनिन्, "दाइजो रोक्न भन्दै कडा कानुन आएको छ। तर दाइजो भनेर उजुरी आउँदैन।"

महिला अधिकारको क्षेत्रमा कार्यरत सर्लाही जिल्लाकी सुभद्रा देवीको अनुभव पनि उस्तै छ। गोप्य वा खुला रूपमा भए पनि दाइजो लेनदेन विवादको मुद्दा कमै दर्ता हुने गरेको उनी बताउँछिन्।

उनी भन्छिन्, "दाइजो भित्रभित्रै लिइरहेका छन् र खुलेर पनि लिइरहेका छन्। दिने क्रम घटेको छैन तर मुद्दा दिन कोही पनि आइरहेको छैन।"

जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रले महिला हिंसा सम्बन्धी उजुरीहरू न्यायिक समितिमा आउने गरे पनि दाइजोको कारण किटानी नहुने गरेको बताउँछिन्।

उनले भनिन्, "स्थानीय तहमा जनप्रतिनिधिहरू जितेर आएपछि दाइजो कम हुनुपर्ने भए पनि अहिले त्यो बढिरहेको छ। भित्र भित्रै दबाव दिने र हिंसा गर्ने क्रम रोकिएको छैन।"

"जति पढ्यो त्यति बढी दाइजो दिनुपर्ने"

देशका अन्य भूभागमा जस्तै तराईमा पनि छोरीहरूलाई विद्यालय पठाउने क्रम बढेको छ।

तर "जति पढ्यो त्यति बढी दाइजो दिनुपर्ने अवस्था" रहेको अधिकारकर्मीहरू बताउँछन्।

"कथित ठूला बडाहरूका लागि दाइजो प्रतिष्ठाको विषय" बनेको अधिकारकर्मी लिला यादवको कथन छ।

उनले भनिन्, "पहिला नपढेको मानिसहरूमा यो समस्या देखिन्थ्यो। अहिले शिक्षित केटा र केटीहरूबीच विवाह गर्दा पनि दाइजो लिने र दिने क्रम एकदमै बढेको छ।"

'दाइजोकै कारण आत्महत्या पनि'

सिरहाकी रेणु कर्णको भनाइमा दाइजोजन्य उत्पीडनका कारण आत्महत्या गर्ने दर पनि बढिरहेको छ।

उनले भनिन्, "दाइजोका कारण हुने हिंसा एकदमै गम्भीर भइरहेको अवस्था छ। दाइजोको कारण आत्महत्या हुने क्रम पनि बढिरहेको छ।"

दाइजोकै कारण घरेलु हिंसा हुने गरेको अधिकारकर्मीहरू बताउँछन्। तर त्यसको संख्या प्रष्ट छैन।

उनीहरूको भनाइमा घरेलु हिंसाका प्रमुख कारण मध्ये एक दाइजो हुने गरेको छ।

मिथिला चित्रकला बनाउने रञ्जु यादवले दाइजोका कारण हुने हिंसा, महिलाले भोग्नुपरेको पीडालाई आफ्नो चित्रकलामा उतार्ने गरेकी छन्। तर दाइजो प्रथाविरुद्ध हुने यस्ता सृजनात्मक प्रयासले हिंसालाई कम गर्न अपेक्षाकृत रुपमा नसकिरहेको उनी बताउँछिन्।

तराईको हिन्दु तथा मुस्लिम समुदाय दुवैमा यो चलन रहेको छ। कतिपय अवस्थामा मोलमोलाइ नै हुने गरेको छ।

दाइजो नलिने चलन पनि देखिएको छ तर त्यस्तो गर्ने परिवारहरूको संख्या न्यून रहेको छ।