भेनेजुएला सङ्कट: पक्राउ पर्नसक्ने जोखिमबीच स्वदेश फर्किएका ग्वाइदोका योजना

तस्बिर स्रोत, Reuters
अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन्।
भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।
दश दिनअघि उनी सीमापार जम्मा भइरहेका मानवीय सहायता भित्र्याउन भन्दै देशबाट निस्केका थिए र कोलम्बियामा आयोजित क्षेत्रिय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सामेल भए।
फिर्ती
राजधानी कराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरू पुगेका थिए।
कराकासका सडकमा हजारौं उत्साही समर्थकहरूले उनको नाम र 'हो हामी सक्छौं' भन्दै नाराबाजी गरेका थिए।

तस्बिर स्रोत, AFP
उक्त विशाल र्यालीलाई सम्बोधन गर्दै ग्वाइदोले भने, "उनीहरुले हामीलाई तर्साएका थिए, अब धम्कीबाट भेनेजुएलाका जनता तर्सन र मदुरोको आदेश पालना गर्न समेत छाडिसकेका छन्।"
कराकासमा रहेका बिबिसी सम्वाददाताका अनुसार मानिसहरूलाई ग्वाइदो देश फर्किनुले भन्दा पनि उनी फर्किएको शैलीले सबैभन्दा बढि प्रभावित पारेको देखिन्छ।
उनी मध्यरातमा कुनै कमजोर सीमाबाट लुसुक्क देश छिरेनन् बरु सिधै देशको प्रमुख विमानस्थलको अध्यागमनमार्फत् भित्रिए।
चिन्ता
ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।

तस्बिर स्रोत, EPA
ग्वाइदोमाथि 'राष्ट्रघाती अभियान'को नेतृत्व गरेकोजस्ता अभियोगको सामना गर्नुपर्ने हुनसक्छ।
देशबाहिर रहँदा ग्वाइदोले सामाजिक सञ्जालहरुमार्फत् आफ्ना समर्थकहरूलाई प्रदर्शनका लागि आह्वान गरेका थिए।
आउँदो शनिवार देशब्यापी प्रदर्शनका लागि आह्वान गर्दै 'स्वतन्त्रता नपाउँदा सम्मको एकदिन पनि आराम नगर्ने' बताएका छन्।
के हो भेनेजुएला सङ्कट?
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले बताएको छ।

तस्बिर स्रोत, Reuters
त्यहाँको महँगी लाखौँ गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भईकन पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
तर मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्। मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।
आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित ५० भन्दा बढीले मान्यता दिएका छन्।








