भेनेजुएला सङ्कट: मदुरोलाई हटाउन अमेरिकाले सेना खटाएको क्युबाको आरोप

तस्बिर स्रोत, Getty Images
अमेरिकाले क्यारेबियन टापुहरूमा गोप्य रूपमा आफ्ना सेना परिचालन गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्ने तयारी थालेको आरोप क्युबाले लगाएको छ।
क्युबाका अनुसार गत साता क्यारेबियन क्षेत्रमा रहेका प्योर्तो रिको, डोमिनिकन रिपब्लिक र अन्य रणनीतिक स्थानहरूमा अमेरिकी सैन्य विमानहरू ओर्लेका थिए।
अमेरिका भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने ५० भन्दा बढी राष्ट्रहरूमध्ये एक हो।
अमेरिकाले क्युबाले लगाएको आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।
ह्युगो चाभेजको शासनकालमा भेनेजुएला र क्युबाबीच बलियो सम्बन्ध स्थापित भएको थियो।
उनले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोसँग घनिष्ठ सम्बन्ध बनाएका थिए।

क्युबा-भेनेजुएला सम्बन्ध
- सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा क्युबा ठूलो समस्यामा परेको थियो, त्यहाँ खाद्यान्न र इन्धनको सङ्कट भएको थियो।
- त्यो परिस्थितिमा ह्युगो चाभेजले क्युबालाई सघाएका थिए
- क्युबाले आफूलाई चाहिने दुईतिहाइ इन्धन भेनेजुएलाबाट प्राप्त गरेको थियो र त्यसबाटै चिकित्सक र सैनिक सल्लाहकारहरूको पारिश्रमिक दिइएको थियो
- चाभेजले क्युबा र भेनेजुएलामा एउटै सरकार रहेको बताउने गरेका थिए
- क्यान्सरबाट पीडित चाभेजले आफ्नो सम्पूर्ण उपचार क्युबामा गराएका थिए

तस्बिर स्रोत, Getty Images

बीबीसीकी वाशिंगटनस्थित सम्वाददाता बार्बरा प्लेट-अशर भन्छिन्, "भेनेजुएलाका लागि अमेरिकी विशेष दूतलाई यस विषयमा प्रश्न सोधिएको थियो।तर उनले त्यो आरोप मिथ्या रहेको बताएका थिए।"
"अघिल्लो साता पनि भेनेजुएलामा सैन्य हस्तक्षेपको सम्भावनाबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले त्यहाँ मानवीय सहायता लैजाने र राजनीतिक तथा कूटनीतिक दबाव दिने अमेरिकी नीति भएको बताएका थिए।"
यसैबीच काराकासमा भेनेजुएलाका महान्यायाधिवक्ता तारेक साबले सरकारी तेल कम्पनीमा नयाँ बोर्ड गठन गर्ने विपक्षी नेता गुआइदोको कदमको छानबिन सुरु गरेका छन्।
के हो भेनेजुएलाको सङ्कट?
चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपिएको छ।
केही साताअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो।
चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ।
चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।
राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

तस्बिर स्रोत, Getty Images
भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्।
मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।
पछिल्लो घटनाक्रमका कारण देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्।








