तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'लुट्न सके लुट्...' गीत पशुपति शर्माले हटाए तर युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती
- Author, रमा पराजुली
- Role, बीबीसी नेपाली सेवा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक सदस्य राजनारायण पाठक आर्थिक अनियमितता प्रकरणमा मुछिएकै बेला लोकप्रिय गायक पशुपति शर्माले नेपालमा रहेको त्यस्तै विसङ्गतिप्रति व्यङ्ग्य गर्दै गीत सार्वजनिक गरे "लुट्न सके लुट्...।"
पाठकले राजीनामा दिएपछि उनले त्यसअघिका विभिन्न घटनाका पात्रझैँ उन्मुक्ति पाउने हुन् कि भन्ने बहस चलिरहँदा शर्माले आफ्नो गीत युट्युबबाट हटाउन बाध्य पारिएको बताएका छन्।
तर अरूहरूले त्यो गीत पुन: पोस्ट गरिदिएकाले उक्त गीतको म्युजिक भिडिओका दर्शकको सङ्ख्या लाखौँ पुगिसक्यो।
यो समाचार तयार पारुन्जेल एउटा युट्युब च्यानलमा उनको भिडिओ छ लाख जनाभन्दा बढीले हेरिसकेका छन्।
हरेक गीतमा 'व्यङ्ग्य'
सरकारले त्यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन, तर गायक शर्माप्रति सत्तारूढ दल सम्बद्ध नेताहरूतर्फबाट चर्को असन्तुष्टि प्रकट भइरहेको छ।
नेकपाकी सचेतक शान्ता चौधरीले फेसबुकमा गायक शर्माप्रति कडा कटाक्ष गर्दै लेखेकी छन् - प्रहार गर्नुको पनि सीमा हुन्छ। एउटा कलाकार जसले आफ्नो स्वाभिमान झुकाएर गीत गाउँछन् तिनै कलाकार देशका गहना कसरी हुन सक्छन्?"
खासमा पशुपति शर्माले बिहीवार नयाँ गीत सार्वजनिक गर्दा गर्दै फेसबुकमा लेखेका थिए, "सकेसम्म हरेक गीतमा केही न केही व्यङ्ग्य गर्ने प्रयास छ मेरो…यो गीतमा पनि मैले त्यही व्यङ्ग्य गर्ने प्रयास गरेको छु….गल्ती भए माफी चाहन्छु। राम्रै भनेको भए साथ दिनुहोला है।"
तर गीत सार्वजनिक भएपछि उनलाई ठूलै दबाव परेको उनको फेसबुक स्टेटसले जनाउ दिन्छ। युट्युबबाट गीत हटाउने निर्णय गरेपछि उनले फेसबुकमा लेखेका छन्, "सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवम् समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु।"
उनको गीतको एउटा हरफ यस्तो छ -
गणतन्त्र ल्याएम् भन्छन्, फालेम् भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैयौँ निस्के आज,
जनताका मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति।।
सम्भवत: यस्तै हरफहरूका कारण सत्तारूढ नेकपाका कतिपय नेता र कार्यकर्तालाई गीतले आफ्नै दललाई तारो बनाएको भन्ने लागेको हुन सक्छ। तर गायक शर्माले कुनै दलको नाम लिएका छैनन्।
सचेतक चौधरीले लेखेकी छन्, "राष्ट्रपति व्यक्ति मात्र होइन देशको सर्वोच्च संस्था हो, पर्दाभित्रबाट षड्यन्त्रको तानाबाना बुन्दै विनाकारण झुट आरोप लगाएर घरिघरि बदनाम गर्न खोज्नु खेदजनक छ।"
गायक शर्माले गीतमा प्रयोग भएका शब्दहरू विम्बको रूपमा प्रयोग गरेको सङ्केत गरेका छन्।
उनले फेसबुकमै लेखेका छन्, "मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसङ्गतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रस्ट पार्न चाहन्छु।"
घोचपेच
सोमवार संसद्मा सत्तापक्ष र विपक्षीबीच सो गीत प्रकरणमा भनाभन पनि भयो। सरकारले गीतबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
तर यसलाई कैयौँले सरकारले हालै ल्याएका विज्ञापनसम्बन्धी विधेयक, सञ्चारमाध्यमसम्बन्धी विधेयकमा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने प्रयत्नको आरम्भको रूपमा बुझेका छन्।
पत्रकार युवराज घिमिरेले कडा आपत्ति प्रकट गर्दै उनको अन्लाइन पोर्टल देशसञ्चारमा लेखेका छन्, "गायक शर्मालाई धम्क्याएर या दबाव दिएर जसरी युट्युब तथा अन्य सामाजिक सञ्जालबाट गीत झिक्न बाध्य पारिएको छ, त्यसले सरकार तथा सत्ताधारी पार्टीको असहिष्णुता प्रदर्शन गरेको छ।"
कैयौँले पञ्चायतकाल र त्यसबेला राजनीतिक रूपमा बदनामी कमाएको 'मण्डले प्रवृत्ति'सँग यो प्रकरणलाई दाँजेका छन्।
नागरिक दैनिकका प्रधान सम्पादक पत्रकार गुणराज लुइँटेलले ट्विटरमा लेखेका छन्, "कति छिटै पञ्चायत फर्केछ। लोकतन्त्रमा सिर्जनाका लागि पनि डराउने दिन आए। पशुपति शर्माको 'लुट्न सके लुट् कान्छा' अहिलेको समयको बोल हो। अनि नागरिक चेतनाको अभिव्यक्ति पनि हो।"
कर्णालीका युवाहरूले त शर्माको पक्ष र सरकारको विपक्षमा गीत नै तयार गरेका छन्। जसलाई अन्लाइन पोर्टलहरूमा राखिएको छ र कैयौँले सामाजिक सञ्जालमा शेयर गरेका छन्।
गीतमा भनिएको छ, "छैन तेरो भर सरकार, छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौं, देश निकाला गर्।"
गीत गाएपछि उनीहरूले भिडिओमा भनेका छन्, "पशुपति शर्माको गीत युट्युबबाट हटाउनुपर्ने अवस्थाको विरोध गरेका हौँ हाम्रो कुरालाई अन्यथा नलिनुहोला।"
"मलाई अमेरिका नि यैँ, मलाई जापान पनि यैँ...." गीतमार्फत् विदेश जाने नेपालीको मन फर्काउन उद्वेलित पार्ने त कहिले 'क्याम्पस पढ्न जानी, सरले उता पढाउनी, हाम्ले आँखा झिम्काउनी' भन्ने गीतमार्फत् बरालिने युवाहरूको प्रवृत्तिप्रति समसामयिक नेपाली समाजको तीखो समीक्षा गर्दै आएका पशुपतिको अहिले आलोचना र सम्भवत: बढी समर्थनको लहर उर्लिएको छ।
शर्माले फेसबुकमै भनेका छन्, "म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु।"
विद्रोहका गीत गाउन सिपालु नेपाली गायकहरूले राजतन्त्र होस् या प्रजातन्त्र या गणतन्त्र जुनसुकै व्यवस्थामा पनि असन्तुष्टि ओकल्दै आएका छन्।
उनले विवादमा परेका शब्दहरूबारे पुनर्विचार गरेर गीत पुन: पोस्ट गर्ने सन्देश फेसबुकमा राखेका छन्।
तर गीतका शब्द परिवर्तनको प्रतीक्षा नै नगरी सामाजिक सञ्जालमा उनको मूल गीत नै छ्याप्छ्याप्ती भइसकेको छ।
यो पनि हेर्नुहोस्