प्रधानमन्त्री ओली कुन कुन कुरामा असन्तुष्ट छन्?

तस्बिर स्रोत, Getty Images
प्रधानमन्त्री केपी ओलीले संघीय संसद्मा आइतवार आफू नेतृत्वको सरकारको १० महिने कामकारबाहीबारे बोल्दै त्यसमाथि भइरहेका आलोचनाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
रेलदेखि पानीजहाजसम्म, राष्ट्रपति एवम् सांसदका सुविधादेखि नेपालले राख्न लागेको बताइएको आफ्नै भूउपग्रहसम्मका विषय समेटेका प्रधानमन्त्रीले अहिले सरकारले आलोचना खेपिरहेको वाइडबडी विमान खरिद प्रकरणमा भने मौन रहे।
उनले विकासका काममा कोही प्रतिपक्षी हुन नसक्ने भन्दै नेपाली कांग्रेसलाई समेत समृद्धिको यात्रामा मिलेर काम गर्न आग्रह गरेका थिए।
तर मन्तव्य सकिएपछि ओलीलाई प्रश्न गर्न खोजेका कांग्रेसका सांसदलाई सभामुखले रोकेका थिए। कांग्रेसका एक नेताले 'प्रतिपक्षीको प्रश्नबाट तर्केर कसरी सहकार्य सम्भव छ' भनी प्रश्न गरेका छन्।
असन्तुष्ट प्रधानमन्त्री
झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना उपलब्धिहरूलाई धेरैजसो तथ्याङ्क र समयसीमासहित व्यक्त गरेका थिए।
तर उनले अहिले व्यापक आलोचना खेपेको वाइडबडी जहाज खरिद प्रक्रिया र टिकापुर घटनाको आरोप खेपिराखेका रेशम चौधरीको शथपका सम्बन्धमा भने मुख खोलेनन्।
अहिलेसम्म दोषी फेला नपरेको निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यालाई 'सडकमा पोखिने अमर्यादित एवम् अराजक भिडले दिने नभइ सरकारले' न्याय दिने बताए।
रेल र पानीजहाजका विषयमा उनको भनाइ थियो, "कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो। रेलको चर्चा गर्दा रित्ता बाल्टिन् लाइनमा राखी कुरा काटियो। अहिले पनि सुनेको छु- जहाजको टिकट काटौँ भनेको, काउण्टर खै? हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेकोमा म खुशी व्यक्त गर्दछु।"
उनले अहिलेको सरकारलाई सामान्य अवस्थामाझैँ एउटालाई विस्थापन गरी बनेको अर्को सरकारका रूपमा नबुझ्न आग्रह गरेका थिए। उनले आफ्नो सरकारलाई ०१५ साल र ०४८ सालमा बनेका सरकारसँग तुलना गरेका थिए।
सांसदहरूले सुविधा दुरूपयोग गरेको प्रसङ्गमा उनले 'सांसदहरूको मर्यादा घटाउँदा विगतमा आश्विन १८ र माघ १९ दोहोरिएको' बताए।
उनले राष्ट्रपतिको सुविधामाथि जोडिएर भएका आलोचनालाई गणतन्त्रमाथिको हमलाको रूपमा औँल्याए।
"सबै सांसदहरूलाई ठग, लुच्चा, तेलचोरको रुपमा चित्रित गर्दा चालक तथा निजी सहयोगीको भत्ता समेत हसुर्ने जस्तो गरी प्रचारप्रसार भइरहेको छ। जानेर होओस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै होइन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो।"

तस्बिर स्रोत, RSS
आलोचना
कांग्रेसका सांसदहरूले भने प्रधानमन्त्रीले उपलब्धिका रूपमा देखाएका विवरणप्रति आफ्नो प्रश्न रहे पनि त्यसलाई संसद्मा सुन्ने व्यवस्था नगरिएको भन्दै नाराबाजी गरेका थिए।
कांग्रेस नेता गगन थापाले त्यसमा सभामुखले 'संसद्को मर्यादा राख्ने कुरामा सभामुखको भूमिकामाथि प्रश्न उठेको' भन्दै आलोचना गरे।
"उपलब्धिहरू जसरी व्यक्त गरिएको छ त्यसले प्रधानमन्त्रीलाई नेपालमा भएका कैयन घटनाबारे जानकारी छैन भन्ने मान्नुपर्यो कि प्रधानमन्त्रीले आमजनताको चासो भएका मूलभूत विषयलाई लुकाउन खोज्दै हुनुहुन्छ भन्ने मान्नुपर्यो।"
संसद्को हिउँदे अधिवेशको शुरूमै प्रमुख प्रतिपक्षी दलका नेताले सरकारका कामबारे प्रश्न उठाएको पृष्ठभूमिमा प्रधानमन्त्रीको आइतवारको सम्बोधन आएको हो।
कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले सम्बोधनमा प्रतिपक्षीको प्रश्नोत्तर नहुँदा प्रधानमन्त्रीको अभिव्यक्तिका राम्रा कुराहरू पनि छायाँमा परेको बताउँछन्।
"सरकारको अहिलेको व्यवहार धेरै बोल्नेछ। सरकार धेरै बोल्नुपर्दैन काम गरेर देखाउने हो।"











