तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन कांग्रेसका कतिपय नेता हिन्दूराष्ट्रको पुनर्बहाली चाहन्छन्
नेपालको दक्षिणी छिमेकी भारत मात्र नभई चीन समेत नेपालमा बढिरहेका धर्मप्रचारका कारण नेपालको स्थिरतामा खलल पुग्न सक्ने भन्दै चिन्तित बनिरहेको दावी हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर सङ्कलनको अगुवाइ गरिरहेका एक कांग्रेस नेताले बताएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठकमा समेत नेता तथा महासमिति सदस्यहरूबीच हिन्दू धर्मको रक्षाका सम्बन्धमा "गम्भीर छलफलहरू" भइरहेको पूर्वमन्त्री समेत रहेका केन्द्रीय नेता शङ्कर भण्डारीले बताए।
हिन्दू धर्म रक्षाको पक्षमा नेता भण्डारीको अगुवाइमा महासमिति बैठक बाहिर हस्ताक्षर सङ्कलन थालिएको छ, जसमा ६०० भन्दा बढी सदस्यले हस्ताक्षर गरिसकेको उनले बताए।
नेता भण्डारीले बीबीसी न्यूज नेपालीसँग भने, "हस्ताक्षर सङ्कलन जारी छ। त्यसमा (हिन्दू धर्मको पक्षमा) अन्य धेरै साथीहरूले पनि हस्ताक्षर गर्दै हुनुहुन्छ।"
दण्डनीय
नेपालको संविधान २०७२ मा नेपालमा धार्मिक स्वतन्त्रता रहने तर कसैको धर्म परिवर्तन गराउने र अर्काको धर्ममा खलल पार्ने कार्यलाई दण्डनीय हुने भनिएको छ।
तर संविधान बनेको तीन वर्ष बितिसकेपछि नेपालको सबैभन्दा पुरानो दलभित्र हिन्दू धर्मको रक्षाका सम्बन्धमा ताजा चिन्ताहरू बढेको देखिएको हो।
नेपालको संविधानमा हिन्दू राष्ट्रसंघ सम्बन्धित प्रावधानहरू उल्लेख नभएका कारण पनि भारतले संविधान जारी गर्ने नेपालको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी गरेको दावी नेताहरूले खुला रूपमा नै गर्दै आएका छन्।
धर्मनिरपेक्ष संविधान आफ्नो दलको नेतृत्वमा भएको गर्व गर्दै आएको नेपाली कांग्रेस पार्टीका नेताहरूमा फेरि संविधानमा हिन्दू राष्ट्रको मुद्दालाई कुनै नै कुनै हिसाबले सम्बोधन हुनुपर्ने माग उठेको छ।
चीन र भारतको चिन्ता कस्तो?
नेता भण्डारीका अनुसार हिन्दूहरूको दबदबा रहेको छिमेकी भारतबाट पहिलादेखि नै प्रत्यक्ष-परोक्ष रूपमा नेपाललाई आफ्नो हिन्दू पहिचान नगुमाउन दबाब आइरहन्थो।
उनले भने, "त्यो क्रम अहिले पनि जारी छ। अहिले त भारत मात्र होइन उत्तरी छिमेकी चीन समेत नेपालमा बढ्दो धर्मपरिवर्तनको क्रमले नेपालको राजनीतिक स्थायित्वमा खलल पुग्न सक्ने र त्यसले उसलाई समेत असर पार्न सक्ने भन्दै चिन्तित बनिरहेको छ।"
तर नेता भण्डारीले भारत र चीनका नेताहरूले आफ्नो दललाई हिन्दू धर्मको पक्षमा लाग्न प्रत्यक्ष रूपमा दबाब नदिएको बताए।
उनका अनुसार नेपाली कांग्रेसको महासमिति बैठकस्थल बाहिर थालिएको हिन्दू धर्मका पक्षमा जारी हस्ताक्षर अभियानलाई नेपाली कांग्रेसका विभिन्न प्रभावशाली नेताहरूले समर्थन गर्ने क्रम जारी छ।
महासमिति बैठकमा देशभरिबाट करिब १,६०० प्रतिनिधि सहभागी छन्।
अन्य नेताके भन्छन्?
नेपाली कांग्रेसका युवा नेता गगन थापाका अनुसार नेपाल धर्मनिरपेक्ष देश भइसकेको सन्दर्भमा नेपालको हिन्दू पहिचान, अन्य सनातन धर्महरूको रक्षा र धार्मिक स्वतन्त्रका विषयमा नेपाली कांग्रेसले प्रस्ट धारणा बनाउन आवश्यक भएकोले अहिले महासमितिको बैठकमा हिन्दू धर्मबारे बहस चर्किरहेको हो।
उनले धर्म व्यक्तिको निजी मामिला भए पनि जबर्जस्ती धर्मपरिवर्तन गर्ने क्रम बढेकोप्रति नेपाली कांग्रेसका सबैजसो नेताहरू गम्भीर भएको बताए।
उनका अनुसार केही समयअघि नेपाल सरकारकै संरक्षणमा राजधानीमा एक ईसाइ समूहको क्षेत्रीयस्तरको सम्मेलन आयोजना हुनुले नेपालको सनानत परम्परामा आघात पुग्न सक्ने हो कि भन्ने विषयमा महासमिति बैठकका प्रतिनिधिहरू चिन्तित बनिरहेका छन्।
हस्ताक्षर सङ्कलनका अगुवा नेता भण्डारीले भने, "सरकारले नै धर्मप्रचार गर्ने संस्थालाई यसरी स्वागत गर्न थालको छ। यसबाट हामी धेरै चिन्तित छौँ।"
हस्ताक्षर अभियानको ध्येय के?
नेता भण्डारीको अनुसार नेपालको सनातन परम्पराको रक्षा र हिन्दू धर्मको रक्षा नै अहिले नेपाली कांग्रेसभित्र जारी हस्ताक्षर अभियानको मूल उद्देश्य हो।
हस्ताक्षर अभियानले के फरक पार्ला भन्ने प्रश्नको जबाफमा उनले भने, "हामी नेपालको संविधानबाट धर्मनिरपेक्षता हटाएर नेपाललाई फेरि हिन्दू राज्यको रूपमा स्थापित गर्न चाहान्छौँ। देशभित्र र बाहिरको चाहना त्यही छ।"
तर उनले त्यस विषयमा नेपाली कांग्रेसभित्र सबै एकै स्वर नभइसकेको र जारी महासमितिको बैठकको दौरान विभिन्न मतहरू आइरहेको बताए।
विश्लेषक के भन्छन्?
वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बरालका विचारमा नेपाली कांग्रेसभित्र अहिले आएर हिन्दू धर्मको पक्षमा हस्ताक्षर सङ्कलन हुनु "विडम्बना" हो।
उनले भने, "यो बहस नेपाली कांग्रेसभित्र संविधान बन्नु अघि नै हुनुपर्थ्यो। अहिले यति समय बितिसकेपछि भइरहेको यो बहसको कुनै अर्थ छैन। यसले नेपाली कांग्रेसलाई फाइदा गर्दैन।"