खशोग्जीको हत्या 'पूर्वनियोजित नै थियो'

साउदी वाणिज्यदूतावास इस्तानबुल

तस्बिर स्रोत, AFP

साउदी अरेबियाका सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खशोग्जीको हत्या 'पूर्वनियोजित' भएको बताएका भनी साउदी सरकारी संचार माध्यमले जनाएको छ।

प्रसारण संस्था अल-एखबरियाका अनुसार त्यस्तो दावीका लागि प्राप्त प्रमाण साउदी-टर्की संयुक्त कार्यदलबाट हासिल भएको हो।

सो संस्थाका अनुसार संयुक्त अनुसन्धानको नतिजा स्वरुप अभियोजनकर्ताहरुले संदीग्धहरूसंग सोधपुछ गरिरहेका छन्।

साउदी युवराज मोहम्मद बिन सलमान

तस्बिर स्रोत, AFP

साउदी अरेबियाले अक्टोबर दुई तारिखबाट हराइरहेका ती पत्रकार कहाँ छन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको थियो।

त्यसयता उनीहरूले इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावास उनको हत्या भएको स्वीकार गरेका छन् र त्यसका लागि 'कपटपूर्ण कारवाही' लाई दोष दिएका छन्।

सरकारी साउदी प्रेस एजेन्सीले पनि बिहीबार युवराज मोहम्मद बिन सलमानले राज्यको गुप्तचर सेवाको पुनर्संरचना गर्न बनाइएको समितिको पहिलो बैठकको अध्यक्षता गरेको जनाएको छ।

जुन समिति खशोग्जी मारिएका घटनापछि गठन गरिएको हो।

प्रतिबद्धता

युवराज मोहम्मदले बुधबार उक्त घटनाका लागि जिम्मेवारहरूलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तर टर्कीको गुप्तचर निकायसम्बद्ध स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा सो घटना युवराजका एकजना मुख्य सहयोगीको निर्देशनमा भएको जनाइएको छ।

साउदी अरेबियाको यो पछिल्लो घोषणा अमेरिकी गुप्तचर निकाय, सिआइएकी निर्देशक जिना हास्पेललाई पत्रकार खशोग्जीको हत्याका बेला गरिएको भनिएको रेकर्डिंग सुनाइएको समाचार आएको बेला भएको छ।

समाचार विवरणहरूका अनुसार जिना हास्पेललाई यसै हप्ता केही अघि उनी टर्कीको भ्रमणमा रहेका बेला उक्त रेकर्डिंग सुन्न दिइएको थियो।

सिआइए निर्देशक जिना हास्पेल

तस्बिर स्रोत, Getty Images

अक्टोबर दुई तारिखमा उक्त हत्या भएको केही समयपछि नै अधिकारीहरूलाई उद्धृत गर्दै टर्कीका संचारमाध्यमले तिनीहरूसंग खशोग्जीलाई केरकार गरिएको र त्यसपछि उनको मृत्यु भएको बेलाको अडिओ रेकर्डिंग रहेको जनाएका थिए।

अडिओ

तर उक्त रेकर्डिंगको विवरण र त्यो अडिओ कसरी प्राप्त भयो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।

अझै पनि ति पत्रकार खशोग्जीको शव फेला परेको छैन।

अनुसन्धानको पछिल्लो गतिविधि साउदी वाणिज्यदूतावासभित्रको बगैंचामा अवस्थित इनारमा केन्द्रित रहेको जस्तो देखिएको छ।

जमाल खशोग्जी

तस्बिर स्रोत, EPA

तर यो अनुसन्धानका अन्य गतिविधि जस्तै यो पछिल्लो जनाकारीका बारे पनि परस्पर बाझिने विवरणहरू आइरहेका छन्।

आनाडोलु समाचार एजेन्सीले पहिले साउदीहरूले उक्त इनारमा खोजतलास गर्ने अनुमति नदिएका भन्ने जनाएको थियो। तर प्रसारण संस्था एनटिभिले भने त्यस्तो अनुमति दिइएको भनेको छ।