बीबीसी अनुसन्धान: विद्रोही विरुद्धको लडाइँमा जित नजिक असद

सिरिया

तस्बिर स्रोत, EPA

सिरियामा गृहयुद्ध चलेको सात वर्षपछि त्यहाँका राष्ट्रपति बशर अल असद उनलाई सत्ताच्यूत गराउन प्रयास गर्ने फौजहरू विरुद्धको लडाइँमा उनी जित नजिक भएको देखिएको छ।

साढे तीन लाखभन्दा बढीको ज्यान गएको यो रक्तपातपूर्ण युद्धमा असद कसरी जितको यति नजिक पुगे त?

बीबीसीले गरेको एउटा अनुसन्धानमा पहिलो पटक उनको युद्ध जित्ने रणनीतिमा रासायनिक अस्त्रहरू कतिसम्म महत्त्वपूर्ण रहे भनेर देखाइएको छ।

उक्त अनुन्सन्धानकी एकजना सदस्य नवाल अल मकहाफीले तयार पारेको रिपोर्ट।

निषेध

विद्रोहीहरूको विरुद्ध लडाइँमा रासायनिक हातहतियार ठूलो मात्रामा प्रयोग भएको देखिएको छ।

सन् २०१३ को सेप्टेम्बरयता सिरियामा कम्तीमा १०६ वटा रासायनिक हमलाहरू भएको पुष्टि गर्ने पर्याप्त प्रमाण बीबीसीले संकलन गरेको छ।

रासायनिक अस्त्रको प्रयोग उत्पादन, भण्डारण तथा प्रयोगलाई निषेध गर्ने अन्तर्राष्ट्रिय महासन्धिमा असदले हस्ताक्षर गरेका थिए र देशमा रहेको रासायनिक हातहतियारहरू नष्ट गर्ने सहमति गरेका थिए।

सिरिया

तस्बिर स्रोत, Reuters

राजधानी दमास्कसको कैयौँ बाहिरी भेगहरूमा रासायनिक अस्त्रहरूको आक्रमण हुँदा सयौँ मानिसको ज्यान गएको एकमहिनापछि सिरियाले उक्त अन्तर्राष्ट्रिय महासन्धिलाई औपचारिक रुपमा मान्यता दिएको थियो।

सो हमलामा सारिन ग्यासको प्रयोग भएको थियो।

स्तब्ध

उक्त हमलाका पीडितहरुले पीडाको सामना गर्नुपरेका तस्वीरहरूले विश्वलाई स्तब्ध तुल्याएको थियो।

पश्चिमा शक्तिहरूले त्यस्तो हमला सरकारले मात्र गर्न सक्ने बताएका थिए तर सिरियाली राष्ट्रपति असदले सो रासायनिक हमलाका लागि विपक्षीलाई दोष दिए।

सिरियाली सरकारले आफू रहेको भनेको सबै १३ सय टन रसायनहरू, रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन- ओपीसीडब्ल्यू तथा संयुक्त राष्ट्रसंघले नष्ट गरेपनि त्यहाँ रासायनिक अस्त्रहरू प्रयोग गरी हमलाहरू निरन्तर भइरहेका छन्।

एकसय ६ मध्ये ५१ वटा हमलाहरू विमानमार्फत् गरिएका थिए र ती सबैमा सिरियाली सरकारको संलग्नता देखिएको छ।