ब्रजिलमा दशकौँयताकै धुव्रीकृत निर्वाचन

Brazil

तस्बिर स्रोत, Reuters

ब्रजिलमा दशकौँयताकै सबैभन्दा विभाजित भनिएको निर्वाचनअन्तर्गतको मतदानबाट नयाँ राष्ट्रपतिसहित तल्लो सदनका सदस्य र सिनेटका एक तिहाइ सदस्य चुनिदैछन्।

झण्डै १५ करोड मानिस मत हाल्न योग्य भएको बताइएको छ।

कुनै पनि उम्मेद्वारहरूले कुल सदर मतमध्ये ५० प्रतिशतभन्दा धेरै ल्याउन नसके अबको तीन हप्तामा त्यहाँ दोस्रो चरणको मतदान हुनेछ।

एकहजारभन्दा बढी विधायिका सिटहरूका लागि पनि मतदान हुँदैछ।

चुनावी वाचा

राष्ट्रपतीय निर्वाचनका दक्षिणपन्थी उम्मेद्वार जइर बोल्सोनारुले प्रतिस्पर्धामा सबैभन्दा अगाडि देखिएका छन्।

उनले आपराधिक गतिविधिहरू तथा हत्याको दर कम गर्ने वाचा व्यक्त गरेका छन्।

उनको मुख्य प्रतिस्पर्धी साओ पाउलो शहरका भूतपूर्व मेयर रहेका वर्कश पार्टीका वामपन्थी उम्मेद्वार फर्नान्डु अडाड रहेका छन्।

वर्कश पार्टीका भूतपूर्व प्रमुख लुइज इनासियो डा सिल्भाले अडाडलाई समर्थन गरेका छन्।

उम्मेदवार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मुख्य चुनावी प्रतिस्पर्धा बोलसोन्आरु (बायाँ) तथा एड्आड (दायाँ) बीच हुँदैछ।

भ्रष्टचार अभियोगमा १२ वर्षको जेलसजाय काटिरहेका सिल्भालाई चुनावमा उठ्न अयोग्य ठहर गरिएपछि उनको ठाउँमा वर्कस पार्टीका तर्फबाट एड्आड राष्ट्रपतिको उम्मेद्वारमा उठेका हुन्।

विरोध

चुनावपूर्व भएका मतसर्वेक्षणहरूमा ३८ प्रतिशत मतदाताहरूले बोल्सोनारुको पक्षमा मत हाल्ने देखिएको छ।

गत सेप्टेम्बरमा एउटा चुनावी अभियान र्‍यालीमा उनीमाथि छुरा प्रहार भएपछि बोलसोन्आरुले अन्तिम चुनावी प्रचारप्रसारमा सहभागी जनाउन सकेनन्।

उनी जति चर्चित देखिएका छन् त्यति नै विवादित पनि छन्।

बन्दुकको स्वामित्वसम्बन्धी कानुनहरू लचिलो बनाउने पक्षमा उनी देखिएका छन्। मृत्युदण्डसम्बन्धी सजायको व्‍यवस्था पनि पुनःस्थापना गरिनुपर्ने उनको भनाइ छ।

जइर बोल्सोनारु जातिवादी भएको तथा समलिङ्गीप्रति घृणा फैलाउने काम गरेको भन्दै शनिवार साओ पाउलोमा हजारौँ महिलाले उनको विरुद्धमा सडकप्रदर्शन गरेका थिए।

तर उनले ती आरोपहरू अस्वीकार गरेका छन्। एड्याडले सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै आफूले हिंसा, सैन्य निरकुंशता वा स्वतन्त्रताको हननमाथि विश्वास नराख्ने बताएका छन्।