नेपाल वायुसेवा निगम: दुर्गममा उड्न लागेका हुन् नयाँ विमान?

airplane

तस्बिर स्रोत, Uddhav Ghimire

तस्बिरको क्याप्शन, यसअघि नेपाल वायुसेवा निगमका नयाँ विमानहरू सुगम भेगका केही स्थानमा उडिराखेका थिए

नेपाल वायुसेवा निगमले चीन सरकारबाट चार वर्षअघिदेखि अनुदान र सहुलियतपूर्ण ऋणमा ल्याएका चारवटा साना विमानको सफल परीक्षण उडान गरेको छ।

अब दशैँभन्दा अघिदेखि नै ती विमानलाई नियमित सेवामा पठाइने तयारी भइरहेको नेवानिका अधिकारीहरूले बताएका छन्।

यसअघि ती विमानहरू आंशिक रूपमा सुगम भेगका केही स्थानमा उडिराखेका थिए। तर तिनले निजी विमानसेवाका उडानसँग प्रतिस्पर्धा भने गरेका थिएनन्।

अहिले परीक्षण उडान गरिएका सातवटै विमानस्थलहरू भौगोलिक रूपमा जटिल भूभागमा रहेका र सीमित उडान मात्र भइरहने क्षेत्रमा छन्।

नियमित उडान हुँदा ती भेगका यात्रुले सहज सेवा पाउने बताइन्छ।

परीक्षण

गत साता १७ सीट क्षमताका चारवटा विमानले लुक्ला, रामेछाप, डोल्पा, सिमीकोट, ताल्चा, जुम्ला र जोमसोम विमानस्थलमा परीक्षण उडान गरेका थिए।

परीक्षण उडान गरिएका यी सबै छोटो धावनमार्ग भएका पहाडी भेगमा पर्ने विमानस्थल हुन्।

उडानमा संलग्न नेवानिका क्याप्टेन उद्धव घिमिरे भन्छन्, "पहाडी भेगको नेपालका जुनसुकै विमानस्थलमा उडान र अवतरण गर्न यो विमान सक्षम रहेको सन्देश परीक्षण उडानले दियो। यसले ट्विन अटर विमानले जत्तिकै हावा र चिसो थेग्न सक्छ।"

यो परीक्षण उडान दशैँ र तिहारलाई लक्षित गरेर थालिएको नेवानिका एक वरिष्ठ अधिकारीले बताएका छन्।

विगत चार वर्षसम्म दुर्गम पहाडी भेगमा ती विमानका उडान सेवा उपलब्ध हुन नसक्नुलाई उड्डयन क्षेत्रका जानकारहरूले नेवानिको व्यवस्थापकीय कमजोरीका रूपमा औँल्याउँदै आएका छन्।

विमानचालकको अभाव

विमानचालकको अभाव भएकाले यी विमानलाई नियमित ल्याउन नसकिएको बताइन्छ। त्यो समस्या भने अझै निराकरण भइसकेको छैन।

नेपाल वायुसेवाको विमान

हाल यो मोडलको विमान उडाउन नेवानिसँग चार विमानचालक र सात सहचालक मात्र छन्।

त्यसैले एउटा विमान जगेडामा राखेर तीनवटालाई नियमित उडाउन सकिने योजना बनाइएको नेवानिका अधिकारीहरूले बताएका छन्।

नेवानिका कार्यकारी अध्यक्ष मदन खरेल भन्छन्, "समस्या अझै नभएका होइनन्। तर अब यिनलाई प्रतिस्पर्धी रूपमा दुर्गम भेगमै उडाइनेछ।"

"यसअघि पनि ती कहिलेकाहीँ सुगम भेगमा नउडेका त होइनन्, तर त्यहाँ अन्यसँग प्रतिस्पर्धा गर्न सकेका थिएनन्।"

अनुमति

परीक्षण उडान गरिएका क्षेत्रको नयाँ अनुमतिबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भन्छन्, "उडानको प्रतिवेदन बुझेपछि त्यसलाई प्रमाणीकरण गरेर अनुमति दिइन्छ। त्यसमा समय लाग्दैन, दुवै पक्ष एक दिन बस्यो भने काम सकिन्छ। मुख्य कुरा निगमले देखाउने उडानको तदारुकता हो।"

नेवानिसँग यीबाहेक दुर्गम भेगका लागि दुईवटा ट्विन अटर विमानहरू सञ्चालनमा छन्।

सुगम रूटका गन्तव्यका लागि भने निगमसँग ५६ सीट क्षमता भएका दुईवटा एम-६० विमान छन्। ती विमान पनि चीनमै बनेका हुन्।

नेवानिका लागि चिनियाँ विमान नयाँ भएकाले दक्ष पाइलट र इन्जिनियरको व्यवस्था गर्नसमेत कठिन भएको बताइन्छ।

अहिले नेवानिसँग सानाठुला गरेर पाँच भिन्नभिन्न कम्पनीमा बनेका विमानहरू छन्।