नेपालले अझै कति बाघ थेग्न सक्ला

tiger

तस्बिर स्रोत, HARI BHADRA ACHARYA

तस्बिरको क्याप्शन, तत्कालका लागि बाघहरूको सङ्ख्या थेग्न सक्ने सीमाभित्रै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका एक अधिकारी बताउँछन्।

झण्डै एक दशकभित्र नेपालमा पाटेबाघको सङ्ख्या दोबर नजिक पुग्नुलाई संरक्षण अधिकारीहरूले उत्साहजनक मानिरहँदा अब संरक्षण क्षेत्रको थेग्ने क्षमता र बाघको वासस्थानको गुणस्तरबारे नयाँ परिवेशको अध्ययन आवश्यक रहेको बताएका छन्।

नेपालले सन् २०२२ मा सन् २००९ को गणनाको तुलनामा दोबर अर्थात् २५० को लक्ष्य भेट्न अब १५ वटा बाघ बढे मात्र पुग्छ, तर यो गतिलाई व्यवस्थापन गर्ने चुनौती समेत थपिएको विज्ञहरू बताउँछन्।

सन् २०१३ मा गरिएको गणना पछि अहिले सार्वजनिक भएको बाघको सङ्ख्या ३७ ले बढेको छ।

सबै भन्दा बढी बाघको सङ्ख्या बढेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जले थेग्न सक्ने जति सङ्ख्या पुगे वा नपुगेकोबारे अध्ययन गर्न आवश्यक देखिएको विज्ञहरूले औँल्याएका छन्।

रणनीति

शुक्लाफाँटामा एउटा बाघ घटेको छ, जहाँ सीमावर्ती भारतीय निकायसँग मिलेर संरक्षण रणनीति बनाउन आवश्यक देखिएको बताइएको छ।

चारबाट २१ को सङ्ख्यामा पुगेको बाँके राष्ट्रिय निकुञ्जमा चाहिँ यो सफलता कायम राख्न गुणस्तरीय घाँसेमैदान र सिमसार क्षेत्र विकास गर्न आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

समग्रमा हेर्दा तत्कालका लागि तिनीहरूको सङ्ख्या थेग्न सक्ने सीमाभित्रै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई बताउँछन्।

बाघ

तस्बिर स्रोत, .

उनी भन्छन्, "तराई भूपरिधि क्षेत्रको ६८ प्रतिशत भूभागमा रहेको जङ्गलमा मात्र बाघ रहेको पाएका छौँ। अझै बाघका लागि ३२ प्रतिशत स्थान उपलब्ध रहेको देखिन्छ।"

बाघको सङ्ख्या दोबर पार्ने प्रतिबद्धता व्यक्त गरिएको वर्ष सन् २०१० मै बाँके राष्ट्रिय निकुञ्ज स्थापना स्थापना गरिएको थियो।

त्यसैलाई सघाउ पुग्ने गरी पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल समेत बढाइयो।

संरक्षण क्षेत्रहरू आपसमा जोडिने करिडोरहरूमा समेत संरक्षणका काम बढाइए।

नतिजा

नीतिगत रूपमा समेत संरक्षण क्षेत्रले दिने मुनाफाको ५० प्रतिशत स्थानीय क्षेत्रमै खर्च गर्ने व्यवस्था गरियो।

संरक्षण क्षेत्र सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाली सेनालाई जिपिएस लाइभ पेट्रोलिङ भनिने बाघको गतिविधि निगरानी गर्ने, सीसीटिभी, ड्रोन लगायतका प्रविधिसँग जोडिनुले समग्रमा नतिजा दिएको संरक्षणकर्मीहरू बताउँछन्।

सबैभन्दा बढी बाघको बसोवास रहेको चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ बाघ २७ को सङ्ख्याले घटेर ९३ मा झरेको पाइएको छ।

जसलाई गत वर्षको बाढी एउटा प्रमुख कारण मानिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

तर पनि त्यो आत्तिनुपर्ने अवस्थामा नरहेको बताउँछन् विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरूङ।

उनी भन्छन्, "चितवनसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा ११ वटा बाघ बढेका छन् भने भारतर्फको वाल्मिकी राष्ट्रिय निकुञ्जमा समेत बाघ बढेका जानकारी आइरहेका छन्। त्यसैले समग्रमा बाघहरू सुरक्षित रहेको देखिन्छ।"

बाघ पाइने भनिएका क्षेत्रको जङ्गल र घाँसे मैदान पहिचान गरी तिनलाई झण्डै १८०० ग्रिडमा बाँडेर प्रत्येकमा दुईवटा क्यामेरा राखेर खिचिएका झण्डै ४ हजार ५ सय तस्वीरबाट नदोहोरिने गरी गणनाको अनुमानित नतिजा सार्वजनिक गरिएको हो।