यसपालि रासायनिक मलको किन

तस्बिर स्रोत, RSS
यो वर्षदेखि रासायनिक मल वितरण गर्ने प्रणालीमा परिवर्तन गरिएको कारण देशका केही स्थानमा मलको अभाव देखिएको कृषि मन्त्रालयले जनाएको छ।
हाल मुलुकको पश्चिमी क्षेत्रमा रोपेको धान सरेपछि खेतमा छरिनुपर्ने युरिया मलको अभाव भएको गुनासो त्यहाँका किसानहरूले गरेका छन्।
मागभन्दा निकै कम मल आयात हुने गरेकोले मलको संकट हरेक वर्ष जस्तो देखा पर्नेगर्छ।
देशभरि करिब ९५ प्रतिशत धान रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ।
प्रक्षेपण
वर्षा राम्रो भएका कारण यो वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण मन्त्रालयले गरेको छ।
तर प्रमुख बालीको रोपाइँ सकिएपछि त्यसलाई फस्टाउन दिनका लागि प्रयोग हुने मलको अभाव भएको किसानहरूले गुनासो गरेका छन्।
किसान आयोगकी सदस्य बसन्ती घिमिरेले भनिन्, "मल पाइने भन्ने समस्या लिएर किसानहरू आउनु भएको थियो। किसानहरूले सधैँ भोगिरहेको समस्या हो। धान खेती गर्ने किसानले मल पाइने भन्ने अवस्था रहँदासम्म धानमा आत्मनिर्भर हुने भनी सरकारले लिएको लक्ष्य कहाँबाट पूरा हुन्छ?"
धान रोप्ने समयमा नै देशका केही भागमा मलको अभाव देखिएको घिमिरेले बताइन्।
पछिल्लो समय भारतबाट अनौपचारिक रुपमा मल आउन कम भएको कारण पनि मल अभावको समस्या विभिन्न समयमा बल्झिने गरेको बताइन्छ।
समस्या
तर सरकारले भने मल अभाव भएको पूर्ण रूपमा स्वीकार गरेको छैन।
कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, "साबिकको जिल्ला कृषि विकास कार्यालयहरू अहिले कृषि ज्ञान केन्द्र र अन्य कार्यालयको रूपमा परिणत हुने हुँदा वितरणमा केही समस्या भएको हो। यसले गर्दा केही स्थानमा मल वितरण प्रणालीमा समस्या भएको हुनसक्छ।"
मल वितरण गर्ने एउटा निकाय कृषि सामग्री संस्थानका प्रबन्ध निर्देशक अमरराज खैर भने सरकारले मलको माग धान्न नसकेको स्वीकार्छन्।
"मलको वास्तविक माग प्रति वर्ष सात लाख टन छ तर सरकरले हामीलाई मल ल्याउन भनी गरेको व्यवस्था अनुसार तीन लाख टनभन्दा बढि ल्याउन पुग्दैन। यो समस्या हल नगर्दासम्म मलको समस्या समाधान हुन मुस्किल छ।"
सरकारले खरिद गरेको मल लामो समयसम्म भारतका नाकामा थन्किएकाले पनि समयमै मल वितरण गर्न नसकेको खैरले बताए।
वर्षौँदेखि किसानले भोग्दै आएको मलको अभावको समस्या ज्यूँको त्यूँ रहँदा सरकारले कृषि क्षेत्रलाई कत्तिको प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट पारेको किसानहरूले बताएका छन्।








