चिकित्सा शिक्षाको गुणस्तरबारे चिन्ता

चिकित्सकीय अभ्यास थाल्न नेपाल मेडिकल काउन्सिलको परीक्षामा उत्तीर्ण हुनैपर्छ।

तर सो परीक्षामा असफल हुनेको सङ्ख्या वर्षेनि बढ्न थालेपछि यसले संवेदनशील मानिने चिकित्सा क्षेत्रमा नकारात्मक असर पर्नसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

विगतमा विदेशबाट एमबीबीएस अध्ययन गरेर आउनेहरूको सङ्ख्या अनुत्तीर्ण हुनेहरूमध्ये धेरै थियो। अहिले नेपालमै पढ्नेहरूको सङ्ख्या पनि उल्लेख्य रूफमा बढेको देखिन्छ।

तर नेपाल मेडिकल काउन्सिलले अनुत्तीर्ण हुनेको सङ्ख्या चर्चा भएजस्तो भयावह भने नभएको जनाएको छ।

एमबीबीएस गरेका सात सय ७६ जनाले चिकित्सा दर्ता प्रमाणपत्रका लागि गत शनिवार दिएको परीक्षामा एक सय ८९ जना मात्र उत्तीर्ण भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।

परीक्षा

अधिकारीहरूका अनुसार चिकित्सा क्षेत्रसँग सम्बन्धित सामान्य प्रश्न मात्र सोधिने उक्त परीक्षामा पनि थुप्रै चिकित्सकहरू असफल हुने गरेका छन्।

अनुत्तीर्ण हुनेहरूमा विगतमा जस्तै विदेशमा पढेर फर्किने मात्र होइन, नेपालमै पढेकाहरूको सङ्ख्या बढ्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन्।

गुणस्तर

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईएमओ) का डीन डा. जगदीश अग्रवाल भन्छन्,"धेरै फेल हुनेहरूमा विदेशबाट पढेर आउनेहरू बढी छन्। तर अहिले नेपालमा पनि फेल हुनेहरूको सङ्ख्या बढ्दै जानुको कारण शिक्षाको गुणस्तरमा अप्ठेरो परेकोले नै हो।"

उनका अनुसार पढ्ने विद्यार्थीको क्षमता र विश्वविद्यालयहरूको गुणस्तर नै मुख्य कारण हो।

कुन देशमा पढेकाहरू बढी फेल हुन्छन् भन्ने जानकारी दिँदा गलत सन्देश जाने गरेकोले त्यो सार्वजनिक गर्न बन्द गरिएको काउन्सिलका अधिकारीहरू बताउँछन्।

तर अहिले नेपालमै पढ्ने विद्यार्थीहरूको सङ्ख्या भने बढेको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए।

तर वर्षमा तीन पटक परीक्षा दिन पाइने भएकाले अनुत्तीर्ण हुनेहरूको सङ्ख्या समग्रमा घट्दै जाने भन्दै प्रवक्ता अधिकारीले भने, "सन् २०१४ देखि २०१७ मा ६० प्रतिशतको हाराहारीमा उत्तीर्ण हुँदै आएको देखिन्छ। यसै वर्षको पहिलो परीक्षामा पनि ७६ प्रतिशत उत्तीर्ण भएको थियो। यो वर्षमा अर्को एउटा परीक्षा बाँकी नै रहेकोले नतिजा एकदमै खराब भनिहाल्न मिल्दैन।"

प्रणाली

विगतमा चिकित्सा शिक्षाको पढाइ प्रणाली खुकुलो बनाइएका कारण पैसाकै भरमा अध्ययन गर्ने लहर बढ्नुले यस्तो परिस्थिति आएको जानकारहरू बताउँछन्।

लाइसेन्स नपाउँदासम्म एमबीबीएस उत्तीर्णले चिकित्सा अभ्यास गर्न पाउँदैन।

पछिल्लो दुई वर्षदेखि चिकित्सा शिक्षा अध्ययन गर्न कडाइ गरिएको बताउने अधिकारीहरूको आगामी दिनमा भने गुणस्तर बढ्ने विश्वास छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार अहिले पनि स्वदेश र विदेशमा गरी १५ हजार विद्यार्थीहरूले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन्।

हाल २२ हजारको हाराहारीमा चिकित्सा अभ्यासमा रहेका डाक्टरहरूको सङ्ख्या आउँदो पाँच-छ वर्षमा ४० हजार पुग्ने अनुमान छ।