मुस्ताङमा टिपर दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

मुस्ताङ दुर्घटना

मुस्ताङ जिल्लाको स्याङ्बोचेमा शुक्रवार दिउँसो टिपर दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परी अन्य १७ जना घाइते भएको र उनीहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी महेन्द्र खड्काले बताए।

दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट उत्तरतर्फ ५० किलोमिटरको दूरीमा रहेको छ।

मुस्ताङ टिपर दुर्घटना, घाइतेको उद्धार

तर सडकबाट त्यहाँ पुग्न पाँच घण्टा लाग्ने भएकाले घाइतेहरूको उद्धारका गर्न काठमाण्डूबाट हेलिकप्टर मगाइएको थियो।

दुर्घटनामा को परे?

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

दुर्घटनामा पर्नेहरूमा बेनी-जोमसोम हुँदै कोरला नाका जोड्ने सडक निर्माणमा खटिएका कामदारहरू भएको प्रहरीले जनाएको छ।

मुस्ताङ टिपर दुर्घटना

उनीहरू दिउँसो खाना खाएर चैत्यखण्डको काम गर्नका लागि टिपर चढेर गएका थिए।

चीनको सीमासम्म जोड्ने उक्त सडकको विभिन्न खण्डमा हाल निर्माणको काम भइरहेको छ।