आत्महत्या गर्ने अफगान महिलाको संख्या किन बढिरहेको छ

अफगानिस्तानमा हरेक वर्ष ३ हजार जनाले आत्महत्याको प्रयास गर्ने गरेको सरकारी आँकडाले देखाउँछ।

त्यसमध्ये ८० प्रतिशत संख्या महिलाहरूको रहेको बताइन्छ।

अफगानिस्तानमा महिला आत्महत्या प्रयासका घटना किन व्यापक छ?

प्रस्तुत छ, बीबीसी अफगान सेवाकी सना सफीको विश्लेषण:

प्रवृत्ति

स्वास्थ्यअधिकारीहरूका अनुसार देशभरि भएका आत्महत्या प्रयासका घटनामध्ये आधाभन्दा धेरै हेरात प्रान्तमा भएका छन्।

सन् २०१७ मा मात्रै उक्त प्रान्तमा १८ सय मानिसले आफ्नै ज्यान लिने प्रयास गरे।

तीमध्ये १४ सय महिला थिए।

३५ जनाले त त्यसरी आफ्नो ज्यानैसमेत लिए।

पछिल्लो तथ्याङ्क गत वर्षको भन्दा दोब्बर बढी हो।

विश्वभरको प्रवृत्ति हेर्दा आत्महत्या गर्ने महिलाको भन्दा पुरुषको संख्या बढी छ।

तर अफगानिस्तानमा आत्महत्या गर्नेहरूमध्ये ८० प्रतिशत महिला रहेको अनुमान गरिन्छ।

कारण

अफगान मानवअधिकार आयोगले कतिपयले घटनाबारे सरकारी निकायमा खबर नगर्ने भएकाले त्यो संख्या अझै ठूलो रहेको हुनसक्ने जनाएको छ।

आफ्नै ज्यान लिनु इस्लाम परम्पराविपरीत हुने ठानिएकाले ग्रामीण भेगका परिवारहरूले त्यस्ता घटना लुकाउने गरेको ठानिन्छ।

तर आत्महत्याको ठूलो संख्या पछाडिको कारण नहुन सक्छ।

आयोगका अनुसार, मानसिक समस्या, घरेलु हिंसा, बलजफ्ती विवाह तथा अन्य सामाजिक दबाबले आत्महत्या बढाइरहेको छ।

४० वर्षभन्दा बढी समय द्वन्दव भोगेको अफगानिस्तानमा १० लाखभन्दा बढी अफगान डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ।

यस्तै राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार, ८७ प्रतिशत अफगान महिला शारीरिक, यौनजन्य वा मानसिक हिंसामध्ये कुनै एकको शिकार भएका छन् र ६२ प्रतिशत एकभन्दा धेरै खालका हिंसाको।