बजेटले महँगी नबढाउने अर्थमन्त्रीको दाबी

सांसदहरूको चर्को आलोचना खेपेका अर्थमन्त्री युवराज खतिवडाले बिहीवार संसद्मा उत्तर दिँदै बजेटले महँगी नबढाउने दाबी गरेका छन्।
बजेट प्रस्तुत गरेदेखि नै सत्तापक्ष तथा प्रतिपक्ष दुवैको चर्को आलोचना खेपेका अर्थमन्त्री युवराज खतिवडाले संसद्मा बिहीवार दुवै थरी सांसदले उठाएका प्रश्नको सामना गरेका थिए।
धेरै सांसदको चिन्ता बजेटले महँगी बढायो भन्नेमा रहेको थियो।
विश्वकपको दृष्टान्त
एक जना सांसदले त जारी विश्वकप फुटबल प्रतियोगिताको प्रसङ्ग उल्लेख गर्दै "सरकारी नीतिले मूल्यवृद्धिमा विश्वकप जितेको" चर्चा बजारमा चलेको समेत बताए।
तर अर्थमन्त्रीले भने आफ्नो कर नीतिका कारण महँगी नबढ्ने ठोकुवा गरे।
उनले आयकरमा आम्दानीको माथिल्लो तहमा हुने व्यक्तिले तिर्ने दरमा थोरै मात्रै वृद्धि गरिएको र भ्याटको दर नचलाइएकोलाई त्यसको कारणको रूपमा प्रस्तुत गरे।
उनले भने, "कर बढाउनमा यो सरकारले विश्वकप नै जित्यो भन्ने कुरा भएको छ तर अवस्था त्यस्तो होइन। व्यक्तिगत आयकरको अधिकतम दरलाई यो बजेटले ३५ बाट ३६ प्रतिशत पुर्याएको छ। सबभन्दा कम कर तिर्नु पर्नेहरूको हकमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ। बजार मूल्यमा धेरै असर गर्ने मूल्य अभिवृद्धि कर चलाइएको छैन। त्यसैले यो बजेटले महँगी बढाउँछ भन्ने मलाई लाग्दैन।"
'अभिलेखमा छैन'
अर्थमन्त्रीलाई प्रश्न सोध्नेमा उनका पूर्ववर्ती एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की पनि थिए।
आफ्नो पालामा वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा झारिने, क्यान्सर जस्ता असाध्य रोग लागेकाहरूलाई मासिक पाँच हजार भत्ता दिइने र भूकम्पपीडितलाई थप अनुदान दिइने भनी गरिएको निर्णय किन पालना भएन भनेर उनले सोध्दा अर्थमन्त्रीले रोचक र अर्थपूर्ण जवाफ दिए।
"यी सम्वेदनशील विषय हामीले पनि सञ्चारमाध्यमबाट सुनेका थियौँ। तर यी निर्णय भएको कुनै सरकारी अभिलेखमा छैन," उनको भनाइ थियो।

तस्बिर स्रोत, RSS
सङ्ख्यामा बजेट
कुल विनियोजित रकम: १३ खर्ब १५ अर्ब रुपैयाँ
कुल पुँजीगत/विकास खर्च: ३ खर्ब १३ अर्ब (झन्डै २४%)
कुल चालु/नियमित खर्च: ८ खर्ब ४५ अर्ब (६४.३%)
वित्तीय व्यवस्था: १ खर्ब ५५ अर्ब
राजस्व अनुमान: ८ खर्ब ३१ अर्ब
विदेशी अनुदान: ५८ अर्ब
विदेशी ऋण: २ खर्ब ५३ अर्ब
आन्तरिक ऋण: १ खर्ब ७२ अर्ब
आर्थिक वृद्धिको लक्ष्य: ८ %
मुद्रास्फीतिको लक्ष्य: ६.५ %
(स्रोत: अर्थ मन्त्रालय)








