चीनसँगको सम्झौता अनुसार सघाउने तिब्बतको प्रतिबद्धता

तस्बिर स्रोत, RSS
नेपाल र चीनबीच बहुचर्चित रेलमार्गलगायत विभिन्न विषयमा सम्झौता भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रेल नेपाल प्रवेश गर्ने चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीहरूसँग भेटघाट गरेका छन्।
बिहीवार सम्झौता भएका कतिपय बुँदाको कार्यान्वयनमा नेपाललाई चीनसँग जोड्ने तिब्बतको भूभागले महत्त्वपूर्ण अर्थ राख्ने बताइन्छ।
त्यसैले पनि शुक्रवारको भेटलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन्।
गत मंगलबारबाट चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज चौथो दिन चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन्।
प्राथमिकता
त्यहाँ उनले तिब्बतका जनसरकार प्रमुख छि टालासँग साँझ अबेर दुईघण्टासम्म नेपाली टोलीसहित भेटघाट गरेका थिए।
उक्त भेटघाटमा प्रधानमन्त्रीले हिजो चीनसँग भएको रेलमार्गसम्बन्धी सम्झौतालगायत सबैजसो सहमतिमा तिब्बतको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सहयोगको अपेक्षा रहेको विषयलाई प्राथमिकताका साथ राखेको ल्हासास्थित महाबाणिज्यदूत गोबिन्दबहादुर कार्कीले बताए।
प्रधानमन्त्री ओलीको त्यस्तो प्रस्तावमा त्यहाँका प्रमुखले कस्तो प्रतिक्रिया जनाए? नेपाली टोलीको तर्फबाट उक्त भेटघाटमा सहभागी कार्कीले भने, "यी सहमति/सम्झौताको कार्यान्वयनमा तिब्बत सरकारले पूर्ण सहयोग गर्नेछ भन्ने प्रतिबद्धता तिब्बत जनसरकारका प्रमुख छि टालाले जवाफ दिनुभयो।"
बहुप्रतिक्षित रेलमार्गबाहेक तातोपानी नाका पुन सञ्चालनमा ल्याउने विषयमा पनि उक्त भेटमा छलफल भएको बताइएको छ।
महत्त्वपूर्ण
लामो समयदेखि अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको भन्दै सो नाकालाई सञ्चालनमा ल्याउन आफूहरूको प्रतिबद्धता रहेको समेत जनसरकार प्रमुख छि टालाले व्यक्त गरेको कार्कीले बताए।
यस्ता विषयमाथि तिब्बतको जनसरकार प्रमुख र नेपाली टोलीबीच भएको छलफललाई महत्त्वपूर्ण ठान्छन् महावाणिज्यदूत कार्की।
उनले भने, "चीनसँगको दुईपक्षीय सम्बन्धका लागि तिब्बत महत्त्वपूर्ण क्षेत्र भएकोले नेपालमा भविष्यमा तिब्बतसँग जोडिएका योजनाहरू बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्ने दिशामा पनि आजको भेटघाट फलदायी भएको अनुमान लगाउन सकिन्छ।"
प्रधानमन्त्रीका रूपमा ओली दोस्रो पटक चीन पुगेका बेला भएको १४ बुँदे सहमतिको कार्यान्वयनको पाटोलाई धेरैले चासोपूर्वक हेरेका छन्।
उनी आफ्नो ६ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्कने बताइएको छ।








