तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएला: सयौँको गैरन्यायिक हत्या भएको राष्ट्रसङ्घको दाबी
भेनेजुएलाका सुरक्षा फौजले अपराध नियन्त्रण गर्ने निहुँमा सयौँ गैरन्यायिक हत्या गरेको संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनले जनाएको छ।
राष्ट्रसङ्घका मानवाधिकार निकायका प्रमुखले त्यस्ता हत्याका निम्ति कसैलाई कारबाही नगरिएको बताएका छन्।
राष्ट्रसङ्घको प्रतिवेदनमा सुरक्षा फौजले गरिबहरूको बस्तीमा छिरेर खासगरी युवकहरूलाई गोली हानी मार्ने गरेको र त्यसलाई झडपमा मारिएकोजस्तो देखाउने गरेको उल्लेख छ।
राष्ट्रसङ्घका मानवाधिकार निकायका प्रमुख जेइद राद अल हुसेनले सो देशमा कानुनको शासन लगभग नरहेको बताएका छन्।
सङ्कट
विगतमा भेनेजुएलाको सरकारले मानवाधिकारको अवस्थाबारे गरिएका चित्रणलाई झुटो प्रचार भन्ने गरेको थियो।
त्यहाँ हाल लामो समयदेखि राजनीतिक तथा आर्थिक सङ्कट रहेको छ।
गत वर्ष त्यहाँ भएका सरकारविरोधी प्रदर्शनहरूका क्रममा भएका झडपमा दर्जनौँ मारिएका थिए।
प्रदर्शन
धेरै महँगी तथा खाद्यान्न अभावका विरोधमा ती प्रदर्शन भएका थिए।
विपक्षीले भाग नलिएको मे महिनामा भएको चुनावबाट राष्ट्रपति निकोलास मदुरो पुनर्निर्वाचित भएका थिए।
राष्ट्रसङ्घका अनुसार सन् २०१५ को जुलाई देखि २०१७ को मार्चको बीचमा त्यहाँ पाँच सयभन्दा धेरैको हत्या गरिएको छ।
अपराध न्यूनीकरण गर्ने निहुँमा तिनको गैरन्यायिक हत्या भएको उसले उल्लेख गरेको छ।