तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हेइटी: यौन दुर्व्यवहारपछि अक्सफामलाई स्थायी प्रतिबन्ध
हेइटीले सन् २०१० को भूकम्पपछि कर्मचारी यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको अक्सफाम नामक परोपकारी संस्थालाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाइदिएको छ।
हेइटीको सरकारले भनेको छ, अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ।
अक्सफामले एउटा विज्ञप्ति जारी गर्दै हेइटीका नागरिकहरूसँग माफी मागेको छ र केही पूर्वकर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्याएको छ।
अघिल्लो वर्ष ती आरोप सतहमा आएपछि ब्रिटेनमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ।
प्रतिबन्ध
हेइटी सरकारले गएको फेब्रुअरीमा नै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो।
पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र आफ्ना केही कर्मचारीको काम पूर्ण रूपमा अस्वीकार्य रहेको दोहोर्याएको छ।
अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हेइटीको काम गरिरहने पनि उल्लेख गरेको छ। सन् १९७८ देखि अक्सफाम हेइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो।
तर यसै बर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हेइटीमा छैनन्।
नोक्सान
यौन दुर्व्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला 'द टाइम्स' पत्रिकाले बाहिर ल्याएको थियो जसमा एक जना पूर्वप्रमुखले हेइटीमा रहँदा देह व्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो।
चार जना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्व प्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न दिइएको थियो।
होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन् तर रकम तिरेर यौनसम्बन्ध नराखेको उल्लेख गरेका छन्। फेब्रुअरीमा अक्सफामले हेइटीसँग माफी मागेको थियो।
तर यो विवाद बाहिर आएपछि हजारौँ मानिसहरूले उक्त संस्थालाई चन्दा दिन बन्द गरेका छन्।