महामारीको रूप लिन सक्ने घातक रोगहरू

चमेरा

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, चमेराहरूले निपा भाइरस सार्छन्

सन् २०१५ देखि विश्व स्वास्थ्य सङ्गठनले 'प्राथमिकता' दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ।

ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ। महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ।

भरखरै अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरसको सङ्क्रमण अन्य आठ रोगहरूसँगै त्यो सूचीमा समाविष्ट छन्।

निपा भाइरस

निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ।

निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। त्यसपछि मस्तिष्क सुन्निन्छ।

Two Indian men wear face masks

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निपा भाइरसका कारण भारतको केरलामा १० जना मानिसको मृत्यु भइसकेको छ

निपा भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

सङ्क्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ।

सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो चोटि भेटिएको थियो। त्यसैले यसको नाम नै निपा भाइरस राखियो।

सङ्क्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ।

रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ।

हेनिपाभाइरल डिजिजेज

निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग 'हेनिपाभाइरल डिजिजेज' अन्तर्गत पर्छ।

पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ।

A young horse

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रेलियामा हेन्ड्रा भाइरसका कारण मानिस र घोडाहरूको मृत्यु भएको छ

यो फ्रूट ब्याटमा पाइन्छ। यसको सङ्क्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ।

सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो।

यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ।

सीसीएचएफ

क्राइमिएन-कङ्गो हेमर्‍याजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ। यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ।

यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ।

सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ।

यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।

An Indian worker sprays a cattle shed with insecticide

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सीसीएचएफ नियन्त्रण गर्न गाईगोठहरूलाई किर्नामुक्त राख्नुपर्छ

यो भाइरस मुख्यत: किर्नाले टोक्दा वा सङ्क्रमित गाईवस्तुबाट मानिसमा सर्छ।

सङ्क्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ।

मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन।

इबोला भाइरस

इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो।

इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सङ्क्रमण सर्छ।

यो भाइरस मू्त्र र वीर्यमा पनि हुनसक्छ।

A classroom in Liberia used as an Ebola isolation ward

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ मा लाइबेरियामा इबोलाको महामारी फैलिँदा सङ्क्रमण भएको आशङ्कामा मानिसहरूलाई छुट्टै राखिएको थियो

इबोलाको औसत मृत्युदर ५० प्रतिशत रहेको छ। त्यसैले यसलाई गम्भीर रोगका रूपमा लिइन्छ।

यसले पश्चिम अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म भएको महामारीमा ११ हजार मानिसको ज्यान लियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन पटक पटक फैलिरहेको छ इबोला भाइरसको संक्रमण?

अकस्मात् ज्वरो आउने र थकाइ लाग्ने, त्यसपछि झाडापखाला हुने, डाबर आउने एवम् मिर्गौला र कलेजोले राम्ररी काम नगर्ने जस्ता इबोलाका लक्षण हुन्। कसैकसैमा आँखा, कान, नाक र मुखमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुनसक्छ।

मार्बर्ग भाइरस

मार्बर्ग भाइरसलाई इबोलाको नजिकैको नातेदार मानिन्छ।

सङ्क्रमित मानिसको शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा अन्य मानिसमा यो भाइरस सर्छ।

यो पनि चमेरामा पाइन्छ। यसका कारण हुने मृत्युको दर २४ देखि ८८ प्रतिशतसम्म छ।

An Angolan woman brings her child to hospital for testing after an outbreak of Marburg disease

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००५ मा अङ्गोलामा फैलिएको मार्बर्ग भाइरसको महामारीमा २०० जनाको ज्यान गएको थियो

रोगका लक्षणहरू देखा परेको प्राय: आठ र नौ दिनको बीचमा उच्चरक्तस्राव भएर सङ्क्रमित व्यक्तिको मृत्यु हुनसक्छ।

जर्मनीको मार्बर्गमा सन् १९६७ मा यो भारइस पहिलो चोटि पत्ता लागेको थियो। त्यतिबेला फ्रान्कफर्ट र सर्बियाको राजधानी बेल्ग्रेडमा पनि यो रोगको महामारी फैलिएको थियो।

सार्स

सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो।

यो रोग 'सिभिट क्याट' भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ।

तर यो रोगको सम्बन्ध चमेरोसँग पनि छ।

हालसम्म सार्सको महामारी सन् २००२ देखि २००४ सम्म दुई चोटि फैलिएको छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो।

अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

People in Hong Kong wear surgical masks to try to reduce the chance of infection from SARS

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००३ मा हङ्कङमा सार्स रोगको त्रास फैलिएको थियो

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ।

सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

मेर्स

मिडल इस्ट रेस्परटरी सिन्ड्रोम (मेर्स) पनि सार्स भाइरसकै परिवारको सदस्य हो।

यो सन् २०१२ मा साउदी अरेबियामा पहिलो चोटि भेटिएको थियो।

यसको सङ्क्रमण भएका झन्डै ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ।

सङ्‍क्रमण हुँदा मेर्स सार्सभन्दा बढी घातक हुन्छ। तर यो कम सरुवा भएको देखिन्छ।

पर्याप्त सुरक्षाविनै बिरामीको स्याहार गर्दा वा अरू किसिमको संसर्गबाट मानिसबाट मानिसमा यो रोग सर्नसक्छ।

A Saudi amn wears a mouth and nose mask as he works near camels

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेर्सलाई 'क्यामल फ्लू' पनि भनिन्छ

वैज्ञानिकहरू ऊँटमा मेर्स भाइरस पाइने बताउँछन्। तर मानिसमा कसरी यो सर्‍यो भन्ने स्पष्ट छैन।

मेर्सका कुल केसहरूमध्ये ८० प्रतिशत साउदी अरेबियामा भेटिएका छन्।

रिफ्ट भ्याली फिभर

लामखुट्टे र रगत चुस्ने झिँगाले रिफ्ट भ्याली फिभर (आरभीएफ) गराउने भाइरस सार्छन्। यसबाट प्राय: गाईवस्तु र भेडा प्रभावित हुन्छन्।

तर यो रोग मानिसमा पनि सर्नसक्छ। मानिसमा यसबाट सामान्य रुघाजस्तो स्थितिदेखि गम्भीर समस्यासम्म देखिन सक्छ। रक्तनली बिग्रिने र अङ्गले काम नगर्ने भएर मृत्यु हुनसक्छ।

मानिसमा अधिकांश सङ्क्रमणहरू, सङ्क्रमित वस्तुभाउ जनावरको रगत वा मासुसँग प्रत्यक्ष वा परोक्ष सम्पर्क भएका कारणले हुने गरेका छन्।

सङ्क्रमित गाईवस्तुको दूध राम्ररी नउमाली सेवन गर्दा पनि यो भाइरस सरेको हुनसक्ने केही प्रमाण भेटिएका छन्।

A veterinary officer labels a blood specimen of a sheep

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आरभीएफ भाइरस लामखुट्टेले टोक्दा गाईवस्तुमा सर्छ र तिनबाट मान्छेमा

लामखुट्टे र रगत चुस्ने झिँगाबाट पनि मानिसमा सङ्क्रमण भएको भेटिएको छ।

केन्याको रिफ्ट उपत्यकामा सन् १९३१ मा पहिलो चोटि यो भाइरसको सङ्क्रमण भेटिएको थियो।

जिका

जिका रोग मूलत: जिका भाइरसबाट सङ्क्रमित लामखुट्टेबाट मानिसमा सर्छ। तर यौनसम्पर्क गर्दा पनि मानिसबाट मानिसमा सर्नसक्छ।

ज्वरो आउने, छालामा डाबर देखिने, मांसपेशीमा पीडा हुने र टाउको दुख्ने यसका लक्षणहरू हुन्।

जिकाकै कारणले अस्वाभाविक रूपमा 'माइक्रोसेफली' अर्थात् असामान्य किसिमले सानो शिर भएका शिशुको जन्मको सङ्ख्यामा वृद्धि भएको विश्वास वैज्ञानिकहरू गर्छन्।

A mother holds her baby who is born with microcephaly

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गर्भवती महिलालाई जिका भाइरस भएका क्षेत्रको यात्रा नगर्न सुझाव दिइन्छ

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जिका भाइरसले गुइलाएन-बारे सिन्ड्रोम भनिने स्नायुप्रणालीमा हुने दुर्लभ खालको समस्या उत्पन्न गराउनसक्छ, जसबाट युवाहरूमा पक्षाघात हुन्छ।

यो भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

जिका भाइरस पहिलो चोटो युगान्डाको जिका वनमा बस्ने बाँदरहरूमा सन् १९४७ मा पत्ता लागेको थियो।

लास्सा फिभर

सङ्क्रमित मूसाको मलमूत्रका कारणले प्राय: मानिसहरूमा लास्सा भाइरस सर्छ।

मानिसबाट मानिसमा सर्न चाहिँ सङ्क्रमित व्यक्तिको रगत, मलमू्त्र अथवा शरीरमा हुने अन्य तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुनुपर्छ।

अङ्गले काम गर्न छोडेर र रक्तनलीमा क्षति भएर रोग लागेको १४ दिनभित्र बिरामीको मृत्यु हुनसक्छ।

तर यसबाट हुने मृत्युदर एक प्रतिशत मात्रै छ।

Samples of rodents that spread Lassa fever are being displayed

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लास्सा भाइरस मूसाले फैलाउँछ

लास्सा फिभर भएका अधिकांश व्यक्तिमा ज्वरो आउने , टाउको दुख्ने र थकाइ लाग्ने भएको पाइन्छ।

तर गत मार्चमा नाइजिरियामा यो रोग फैलिँदा झन्डै ९० जनाको मृत्यु भयो। त्यतिबेला यसको मृत्युदर रोग निदान गरिएका र भएको आशङ्का गरिएका केसहरूमा २० प्रतिशत थियो।

सन् १९६९ मा नाइजिरियाको लास्सा नगरमा पहिलो चोटि यो भारइस भेटिएको थियो।

डिजिज एक्स

विश्व स्वास्थ्य सङ्गठनले डिजिज एक्स नामकरण गरेर महामारीको रूपमा फैलिन सक्ने 'अज्ञात रोग'लाई विशेष ध्यान दिनुपर्ने रोगको सूचीमा राखेको छ।

An Indian doctor examines the temperature of a villager

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समयमै निदान गर्न सकिए कतिपय रोगको महामारी रोक्न सकिन्छ

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल मानिसमा हुने रोगको कारक भनेर नचिनिएको जीवाणुले कुनै बेला विश्वव्यापी रूपमा गम्भीर महामारी फैलाउनसक्छ। यसैलाई डिजिज एक्स भनिएको हो।

विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध वैज्ञानिकहरूले संसारमा जुनसुकै बेला पनि घातक भाइरस उत्पन्न हुनसक्ने र त्यसका लागि हामी तयार रहनुपर्ने बताउने गरेका छन्।

त्यसैले डिजिज एक्स हाल थाहा नभएको कुराको प्रतिनिधि हो।