'नक्कली कागजात बनाउने अपराध बढ्दो'

प्रहरी नक्कली नोट

तस्बिर स्रोत, RSS

काठमाण्डूबाट बुधवार एक हजार दरका नक्कली नेपाली नोट ठूलो मात्रामा बरामद गरेको नेपाल प्रहरीले राजधानीका छापाखानाबाट नक्कली कागजात बनाउने गैरकानूनी काम बढ्दै गएको जनाएको छ।

नक्कली नोट, सरकारी कागजात, शैक्षिक योग्यताका प्रमाणपत्रहरू बनाउने जस्ता घटनामा संलग्न एक सयजना भन्दा बढी पक्राउ परिसकेको महानगरीय प्रहरी परिसरका अधिकारीहरूको भनाइ छ।

नक्कली दस्तावेज बनाउने स्थानहरू धेरै भएको आशंका गरेको प्रहरीले छापाखानाहरूमा निगरानी बढाएको जनाएको छ।

एउटा रेस्टुराँमा खाजा खाएपछि ग्राहकले दिएको १ हजारका तीनवटा नोट एउटै नम्बरको भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाण्डूले सुरु गरेको खोजतलासमा नेपाली १ हजार नोट छाप्ने छानाखानानै फेला परेको जनाइएको छ।

नक्कली नोट

प्रहरीका अनुसार अढाइ करोड रुपैयाँभन्दा बढी नक्कली नोट अनि छाप्ने 'प्लेट'सहित छजना पक्राउ परेका छन्।

पछिल्ला दिनमा राजधानीमा नक्कली दस्तावेज बनाउने अपराध बढ्दै गएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ।

परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले भने, "सरकारी कागजातहरू, विवाह दर्ता, जन्मदर्ताका प्रमाणपत्र, शैक्षिक योग्यताका कागजात पाइएका छन्। वैदेशिक रोजगारीमा जानेहरूले पनि धेरै नक्कली कागजातहरू पेश गरेको देखिन्छ"।

"संख्या हेर्ने हो भने अहिले दिन प्रतिदिन बढेको छ। यस्ता कागजात बनाउने र पेश गर्ने धेरै मानिसहरू हामीले पक्राउ पनि गरेका छौं।"

अन्य दस्तावेज नक्कली पेश गरेको उजुरी बढ्दै गएका बेला नोट नै छाप्ने छापाखाना भेटिएपछि प्रहरी झस्किएको छ।

नेपाली नक्कली नोट

तस्बिर स्रोत, RSS

खोजतलास

यस्ता नक्कली नोट र नक्कली कागजात छाप्ने अन्य छापाखाना पनि रहेको हुनसक्ने भन्दै उसले आफ्नो खोजतलास त्यसतर्फ केन्द्रित गरिएको जनाएको छ।

प्रवक्ता थापाले भने, "नक्कली नोट, नक्कली प्रमाणपत्र र दस्तावेज बनाउने छापाखानाहरू धेरै छन् भन्ने लागेको छ। हामी संवेदनशील भएर खोजतलास र अनुसन्धानमा लागि रहेका छौं।"

उजुरीका आधारमा विभिन्न कागजात र दस्तावेज भेटिएपछि नक्कली हुन् या होइनन् भन्ने छुट्याउन भने प्रहरीले समस्या झेल्दै आएको छ।

अनुसन्धानलाई अझै प्रभावकारी बनाउन थप प्रविधिको आवश्यकता रहेको प्रहरी अधिकारीहरूको भनाइ छ।