सुन तस्करी काण्ड: प्रहरीसहित ६३ विरुद्ध मुद्दा

तस्करी गरी ल्याइको ८८ केजी सुन
तस्बिरको क्याप्शन, गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डूमा बरामद भएको थियो

सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

उक्त घटनामा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका र बाँकी ३४ जना फरार रहेको अधिकारीहरूको भनाइ छ।

गत माघमा दुबईबाट काठमाण्डू भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि उत्पन्न प्रकरणसँग यो मुद्दा जोडिएको छ।

अभियुक्त को को?

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार पक्राउ परेका सात प्रहरी अधिकारीसहित २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो।

मोरङ अदालत

मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्।

उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री भने फरार रहेको अधिकारीहरुले जनाएका छन्।

यसैगरी मुद्दा चलाइएकामा विमानसेवाका केही कर्मचारी एवम् व्यापारीहरू रहेको बताइएको छ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती 'गोरे' भने अझै फरार छन्।

बयान

उक्त मुद्दामा बिहीवारदेखि अभियुक्तहरूको बयान लिन थालिने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए।

सो प्रकरणमा संलग्न भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको दाबी बुधवार दायर भएको मुद्दामा गरिएको छ।

उक्त प्रकरणसँग जोडिएको भनिएको घटनामा शाक्यसहित तीन जनाको ज्यान गइसकेको बताइएको छ।

छानबिन

घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित टोलीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले बताएको छ।

उक्त समूहले २०७० सालयता रु १७ अर्बभन्दा बढी मूल्यको सुनको तस्करी गरेको दाबी गरिएको छ।

हराएको भनिएको सुन भने अझै पत्ता नलागेको प्रहरी अधिकारीहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुनको मालिक को?