भारतबाट थप हवाई रूट पाए 'नेपाललाई फाइदा'

तस्बिर स्रोत, EPA
नेपाल र भारतका प्रधानमन्त्रीहरूले नेपाल प्रवेश गर्ने विमानहरूलाई नयाँ हवाई मार्ग खुला गर्नका लागि काम अघि बढाउन आ-आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन्।
नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट पनि अन्तर्राष्ट्रिय विमानहरू नेपाल प्रवेश गर्न अनुमति दिन भारतसँग माग गरेको अधिकारीहरूले बताएका छन्।
भैरहवा, पोखरा र निजगढमा निर्माण हुन लागेका अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने जहाजहरू अवतरण गर्न यी मार्गबाट छोटो दूरी पर्ने ठानिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षअघिको नेपाल भ्रमणका बेला पनि नेपाल भित्रिने विमानलाई थप नयाँ प्रवेश विन्दु उपलब्ध गराउनुपर्ने विषय उठाइएको थियो।
आनाकानी
मोदीको पछिल्लो भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले यो विषय फेरि उप्काए।
त्यसबारे संयुक्त पत्रकार सम्मेलनमा उनले भने, "मैले केही समयअघि मात्र गरेको भारत भ्रमणका क्रममा पनि हवाई ट्राफिक सहज बनाउनका लागि थप चार वटा नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन मैले आग्रह गरेको थिएँ। यस विषयमा भारतले छिट्टै सकारात्मक निर्णय गर्छ भन्ने मेरो अपेक्षा छ।"

तस्बिर स्रोत, CIVIL AVIATION AUTHORITY
सन् २०१६ को डिसेम्बरमा बसेको सहसचिवस्तरीय बैठक लगत्तै दुवै देशका प्राविधिक समितिको बैठक बस्ने निर्णय भए पनि त्यसो हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई ट्राफिक व्यवस्थापन निर्देशक दिपक बरालले बताए।
प्रस्तावित प्रवेश विन्दुले नेपालमा बन्ने नयाँ विमानस्थललाई विशेष फाइदा पुग्ने भए पनि भारतले आनाकानी गरेको बराल बताउँछन्।
अपेक्षा
उनले भने, "अहिलेका लागि मात्र होइन भविष्यमा पोखरा, निजगढ र भैरहवामा विमानस्थल बनेपछि छोटो दूरीमा विमानहरू यहाँ आउन सकून् र आर्थिक रूपमा पनि यो किफायत होओस् भनेर हामीले यो मागेको हो। तर भारतबाट नेपालगञ्ज हुँदै जहाजहरू नेपाल आउँदा भारतको एउटा सैनिक अखडा पर्छ र त्यसमाथिबाट जहाज उडाउन दिन उनीहरूले आनाकानी गरेकै हो।"
नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट विदेशी विमानहरू नेपाल आउन दिन अनुरोध गरिएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताए।
र, यस विषयमा छिट्टै निर्णय हुने उनको अपेक्षा छ।
हाल नेपाल भित्रने अधिकांश विमानहरू सिमरा हुँदै आउने गरेको बताइन्छ।
तत्कालका लागि नेपालगञ्ज र जनकपुरबाट विमानहरू नेपाल प्रवेश गर्न पाए राहत पुग्ने अधिकारीहरू बताउँछन्।








