भारतमा किशोरीलाई जिउँदै जलाइएको घटनाका मुख्य सन्दिग्ध पक्राउ

भारतमा बलात्कार

तस्बिर स्रोत, AFP

भारतको पूर्वी राज्य झारखण्डस्थित प्रहरीले एकजना किशोरीको सामूहिक बलात्कारपछि भएको भनिएको हत्याको घटनाका मुख्य सन्दिग्धलाई हिरासतमा लिएको छ।

गत शुक्रवार ती १६ वर्षीया किशोरीलाई जिउँदै जलाएको आरोप धन्नु भुइयाँ र उनका सहयोगीहरूमाथि लागेको छ।

किशोरीका आमाबाबुले गाउँका अगुवाहरूलाई उनीमाथि यौन दुर्व्यवहार बारे उजुरी गरेपछि ती पुरुषहरूलाई एकसय पटकसम्म उठबस गर्न लगाएका थिए र ७ ५० हजार भारतीय रुपैयाँ जरिवानास्वरूप तिर्न आदेश दिएका थिए।

सो दण्ड पाएपछि आक्रोशित बनेका तिनीहरूले किशोरीका आमाबाबुमाथि कुटपिट गरेका थिए र त्यसपछि किशोरीको शरीरमा आगो लगाइदिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

भारतमा बलात्कार

तस्बिर स्रोत, Reuters

एकजना आफन्त घरमा लुकेर बसिरहेको अवस्थामा भुइयाँ पक्राउ परेको प्रहरीले जनाएको छ।

ती आरोपितले हालसम्म उनीमाथि लागेको आरोपबारे केही प्रतिक्रिया जनाएका छैनन्।

सामूहिक बलात्कार र हत्याको सम्बन्धमा हालसम्म प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।

सो घटनाप्रति भारतभर आक्रोश व्यक्त भएको छ।

भारतमा शृंखलाबद्ध हिंसात्मक यौन अपराधहरू भएका खबर आइरहँदा यो पछिल्लो घटना भएको छ।

सन् २०१६ मा मात्र भारतमा झण्डै ४० हजार बलात्कारका उजुरीहरू परेको विवरण आएको थियो।

तर बलात्कार र यौन हिंसाप्रतिको सामाजिक हेराइका कारण कैयौँ घटनाहरूको विरुद्धमा उजुरी नपर्ने ठानिएको छ।