उत्तर कोरियाका नेता किमलाई भेट्न ट्रम्प 'उत्सुक'

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनलाई भेट्न आफू उत्सुक रहेको बताएका छन्।
किमको चीन भ्रमण 'निकै राम्रो भएको' ट्रम्पलाई जानकारी गराइएपछि उनको पछिल्लो भनाइ आएको छ।
तर ट्रम्पले मेका लागि प्रस्तावित वार्ताअघि उत्तर कोरियाविरूद्धको अधिकतम नाकाबन्दी र दबाब जारी रहने बताए।
उनले कोरियाली प्रायद्वीपमा निश्शस्त्रीकरण अहिले सम्भव रहेको समेत उल्लेख गरेका छन्।
निश्शस्त्रीकरण
किमले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो विदेश भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग गरेको भेटवार्तापछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
किम र उनकी श्रीमतीलाई बेइजिङमा पुष्पगुच्छा र 'गार्ड अफ अनर' बाट सम्मान गरिएको थियो।
आफ्नो भ्रमणका क्रममा किमले निश्शस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएको विवरणहरू सार्वजनिक भएका छन्।
चीन उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार हो।
प्रतीक्षा
बेइजिङमा उत्तर कोरियाली र चिनियाँ नेताबीचको वार्ताबारेका अड्कलबाजीपछिका प्रगतिका समाचारहरू आएपछि बुधवार ट्रम्पले त्यसको स्वागत गरेका हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
ट्रम्पले ट्वीट गरेका छन्, "किम जङ-अनले आफ्ना जनता र मानवताका लागि राम्रो गर्ने अवसर आएको छ।"
अर्को ट्वीटमा ट्रम्पले लेखेका छन्, "किम पनि मसँग भेटवार्ता गर्न प्रतीक्षारत छन्।"
अप्रत्यासित शिखर बैठकका लागि ट्रम्पले सहमति जनाएपछि धेरै विश्लेषकहरू आश्चर्यमा परेका छन्।
उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन्।
महिनौँदेखिको तनाव र शृङ्खलाबद्ध उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणपछि भेटवार्ताबारे घोषणा गरिएको थियो।








