'पराजुलीको राजीनामाको जानकारी संवैधानिक परिषद्मा'

जन्ममितिलाई लिएर चरम विवादमा फसेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीवार बुझाएको राजीनामासम्बन्धी जानकारी संवैधानिक परिषद्मा पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
बुधवार न्याय परिषद्का सचिवले आफूलाई सेवाबाट निवृत्त भनी पठाएको पत्र गैरकानूनी भएको तर्क गर्दै आएका पराजुलीले बिहीवार 'अकस्मात' शीतल निवास पुगेर राजीनामा बुझाएका हुन्।
उनले राजीनामा दिनुपूर्वनै बिहीवार बिहानैदेखि सर्वोच्च अदालतको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सम्हालिसकेका थिए।
अडानमा परिवर्तन
न्याय परिषद्का सचिवको पत्रका आधारमा आफूले पद नछाड्ने अडान राखेको भोलिपल्टै पराजुली आफ्ना धारणा बदल्दै राजीनामा दिने निचोडमा पुगेका हुन्।
राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेल भन्छन्, "उहाँ( पराजुली)ले राजीनामा बुझाउनुभयो। त्यससम्बन्धी जानकारी संवैधानिक परिषद्को सचिवालयमा पठाएका छौं"।
उनी थप्छन्, "राजीनामा बुझाएपछि स्वीकार गर्ने वा नगर्ने भन्ने विषय नै हुँदैन। राजीनामा बुझाएपछि स्वत: पदमुक्त हुने संवैधानिक व्यवस्था छ"।
प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने निकाय हो।
जिम्मेवारी
पराजुलीले प्रधानन्यायाधीशका रुपमा बिहीवार पनि आफै पेशी तोक्ने अडान समेत राखेका थिए।
तर बिहान कार्यालय समयमा सर्वोच्च अदालत खुलेलगत्तै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै न्यायाधीशहरुको इजलास तोकेका थिए।
सर्वोच्चले आफ्नो अडानमा साथ नदिने त्यसबाट छनक पाइसकेका पराजुली अपरान्हतिर राजीनामा बोकेर सर्वोच्च पुगेको जानकार अधिकारीहरु बताउँछन्।
योसँगै, सर्वोच्चमा केही दिनयता चलिरहेको इजलास बहिस्कार लगायतको शृंखलाले विश्राम पाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थी भन्छन्, "बिहीवार सबैजना न्यायाधीश उपस्थित हुनुभयो। सबैको इजलास बस्यो र न्यायाधीशहरूले मुद्दा हेर्नुभयो"।
पराजुलीको राजीनामासँगै न्यायालयभित्रको पछिल्लो चरम विवादको पटाक्षेप त भएको देखिन्छ।
तर उनको अवकाश न्यायपरिषद्को सचिवको पत्रसँगै भएको हो वा बिहीवार बुझाएको राजीनामासँगै, त्यो प्रश्न भने अझै अनुत्तरित पाइन्छ।










