विमान दुर्घटना: 'शव बुझाउने काम आजबाट'

विमान दुर्घटना

तस्बिर स्रोत, RSS

युनाइटेड बांग्लादेशको एअरवेजको यात्रुबाहक विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आजबाट आफन्तलाई बुझाउने प्रक्रिया शुरू हुने प्रहरीले जनाएको छ।

देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको विमान दुर्घटनाबाट उद्धार गरिएका मध्ये २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

विमानमा सवार ७१ मध्ये ४९ जनाको भने मृत्यु भएको पुष्टि भने हिजै प्रहरीले गरिसकेको छ।

विमान दुर्घटनाबारे छानबिनका लागि हिजो साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले पूर्व सचिवको नेतृत्वमा एउटा आयोग गठन गरेको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, 'दुर्घटनाका सम्भावित कारण: चालकको गल्ती र मौसम'

अवस्था

सोमबार दिउँसो करिब सवा २ बजे बांग्लादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बांग्ला बीएस२११ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।

विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

उद्धार गरिएका ३१ जनामध्ये ९ जनाको उपचारको क्रममा ज्यान गएको र बाँकी २२ जनाको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए।

उनले भने, "घाइतेहरूको उपचार काठमाण्डू मेडिकल कलेज, ग्रान्डी, नर्भिकलगायत विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उनीहरूको अवस्थाबारे जानकारी आउन बाँकी छ।"

छानबिन

उपचार गरिरहेकाहरूमध्ये ११ जना नेपालका र बाँकी ११ विदेशी रहेको बताइएको छ।

मृत्यु भएका ४९ जनाको भने आज उनीहरूका आफन्तलाई शब बुझाउने काम शुरू हुने बताइएको छ।

प्रहरी प्रवक्ता नेउपानेले भने, "हिजो घटनालगत्तै उद्धारको काममा लागियो। अब आजबाट प्रहरी प्रक्रिया पूरा गरेर शवहरू उनीहरूका आफन्तलाई जिम्मा लगाउने काम शुरू हुन्छ।"

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घटनाबारे छानबिन गनका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा एउटा आयोग गठन गरेको छ।