भारतमा 'सबभन्दा ठूलो मस्तिष्क ट्युमर' निकालियो

ट्युमरका पालको टाउकोभन्दा ठूलो थियो
तस्बिरको क्याप्शन, पालले ट्युमरका कारण आफ्नो दृष्टि गुमाए

भारतमा चिकित्सकहरूले एक जना युवकको मस्तिष्कमा भएको १.८ किलो तौलको एउटा ट्युमर हटाइदिएका छन्। उनीहरूका अनुसार त्यो 'संसारकै सबभन्दा ठूलो मस्तिष्क ट्युमर' हुनसक्छ।

ट्युमर निकाल्न गत फेब्रुअरी १४ मा मुम्बईस्थित नायर अस्पतालमा सात घण्टा लामो शल्यक्रिया गरिएको थियो।

तर शल्यक्रिया सफल भएको निश्चित नभएसम्म चिकित्सकहरूले यसबारे केही कुरा सार्वजनिक गरेका थिएनन्।

"अब स्वास्थ्यलाभबारे चासो छ। तर उनी खतरामुक्त छन्," उक्त अस्पतालका स्नायुशल्यक्रिया विभाग प्रमुख डा त्रिमूर्ति नाडकर्णीले बीबीसीलाई बताए।

उत्तर प्रदेश राज्यमा पसल सञ्चालन गर्ने सन्तलाल पालको मस्तिष्कमा गत तीन वर्षदेखि उक्त ट्युमर थियो।

शल्यक्रियापछि पाल र उनकी श्रीमती
तस्बिरको क्याप्शन, पाल र उनकी श्रीमती

चिकित्सकहरूका अनुसार पालले ट्युमरकै कारण आफ्नो दृष्टि गुमाएका थिए। तर शल्यक्रियापछि स्वास्थ्यलाभ हुँदै जाँदा उनको दृष्टि फर्किन्छ कि भन्ने आशा उनीहरूले व्यक्त गरेका छन्।

पालकी श्रीमतीले 'द हिन्दू' पत्रिकालाई बताएअनुसार उनीहरूको गृहराज्यका तीन वटा अस्पतालमा चिकित्सकहरूले त्यो ट्युमरको शल्यक्रिया गर्न नसकिने बताएका थिए।

"यस्ता केसहरू जटिल हुन्छन्," डा नाडकर्णीले भने।

पाललाई शल्यक्रिया गर्दा ११ एकाइ रगत दिनुपरेको थियो र शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो।