राष्ट्रपतिद्वारा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्

राष्ट्रपति विद्या देवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

राष्ट्रपतिका प्रमुख निजी सचिव भेषराज अधिकारीका अनुसार आज दिउँसो चार बजे भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराउने छिन्।

अधिकारीले भने, "राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्दै भावी सरकारले शान्ति, स्थिरता र विकासका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।"

राष्ट्रपति कार्यालयले जारी गरिएको विज्ञप्ति अनुसार ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको हो।

व्यवस्था

उक्त व्यवस्थाअनुसार कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा रहेका दुई वा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्छन्।

यसअघि वाम गठबन्धनको तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताहरू शीतल निवास पुगेर ओलीको नेतृत्वमा सरकार गठनका लागि औपचारिक दावी पेश गरेका थिए।

नेकपा एमाले र माओवादी केन्द्रको गरी प्रतिनिधिसभामा २७५ मध्ये १७४ सदस्य रहेका छन्।

देउवा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, देउवाले गत जेष्ठ २४ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए

ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

यसअघि नयाँ संविधान जारी भएपछि त्यसलाई लिएर भारतले चिसो प्रतिक्रिया जनाएका बेला उनको नेतृत्वको चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेका थिए।

आश्विन २४, २०७२ मा संसद्‌बाट पहिलो चोटि प्रधानमन्त्री निर्वाचित भएका ओली २८७ दिन सिंहदरबार बसेका थिए। संसद्‌मा नेपाली कांग्रेस र माओवादी केन्द्रले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनले श्रावण ९, २०६३ मा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै आजै पदबाट राजीनामा दिएका थिए।