ओली नेतृत्वमा सरकार बनाउन दावी पेश

नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश गरेको छ।
ओलीको दावी पेश भएसँगै उनलाई बिहीबारै शपथ ग्रहण गराउने गरी तयारी शुरू गरिएको राष्ट्रपति कार्यलयका एकजना अधिकारीले बताएका छन्।
आज बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर गठबन्धनको तर्फबाट दुई दलका शीर्षस्थ नेताले राष्ट्रपतिसमक्ष त्यस्तो दावी पेश गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बीबीसी नेपालीलाई बताए।
निर्वाचन आयोगले चुनावका अन्तिम नतिजा राष्ट्रपतिसमक्ष पेश गरिसकेको पृष्ठभूमिमा आफूहरूले सरकार गठनका लागि दावी गरेको उनको भनाइ छ।
बहुमत
ज्ञवालीले भने, "हामीसँग दुई तिहाइ बहुमत भएकोले हाम्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि हामीले दावी पेश गरेका हौँ।"
तत्कालका लागि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गृहकार्य भइरहेको एमाले र माओवादी केन्द्रका नेताले बताएका छन्।

तस्बिर स्रोत, CHETAN ADHIKARI
यद्यपि शक्ति बाँडफाँटबारे दुई दलबीच अन्तिम सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारै देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने बताइएको छ।
त्यसअघि उनी नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको थियो।








