राष्ट्रिय सभा निर्वाचनमा पनि वामगठबन्धनकै अग्रता

निर्वाचन आयोग
तस्बिरको क्याप्शन, निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो

बुधवार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम प्रदेश नं ६ बाहेक अरू चार प्रदेशबाट प्राप्त भइसकेको निर्वाचन आयोगले जनाएको छ।

प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जस्तै वामगठबन्धनको अग्रता देखिएको छ।

प्रदेश नं १ मा नेकपा एमालेले पाँच स्थान जितेको छ भने नेपाली कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थान जितेका छन्।

त्यसैगरी प्रदेश नं ७ मा नेकपा एमालेले चार र माओवादी केन्द्र र नेपाली कांग्रेसले दुई‍-दुई स्थान जितेका छन्।

प्रदेश नं ४ मा नेकपा एमाले र नेपाली कांग्रेसले तीन-तीन स्थान र माओवादी केन्द्र दुई स्थान जितेका छन्।

प्रदेश नं ५ मा भने नेकपा एमालेका चार तथा माओवादी केन्द्र र नेपाली कांग्रेसका दुई-दुई उम्मेदवार विजयी भएका छन्।

प्रदेश नं मा नेकपा एमालेका पाँच तथा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका एक उम्मेदवारले जितेको बताइएको छ।

प्रदेश नं ६ मा मतगणना जारी रहेको छ। प्रदेश नं. २ का सबै सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नुपरेको थिएन।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, "अब प्रदेश नम्बर ६ को परिणाम आउन बाँकी छ। भोलिभित्र सबै परिणाम आइसक्छ र भोलि नै राजनीतिक दलहरूलाई समानुपातिक तर्फको प्रतिनिधिसभा चुनावको महिला सिट संख्या यकिन गरेर पठाउने तयारीमा हामी छौँ।"

वाम गठबन्धनको पकड कमजोर भएको भनिएको प्रदेश नं २ मा आठवटै सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। त्यहाँ नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले दुई-दुई स्थानमा विजयी भएका छन् भने माओवादी केन्द्र र नेकपा एमालेबाट एक-एक सदस्य चुनिएका छन्।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

आज भएको मतदानमा १६७७ सय मतदातामध्ये आठ जना अनुपस्थित भएको आयोगले जनाएको छ।

राष्ट्रिय सभा गठनसँगै संविधानले व्यवस्था गरेका सबै निर्वाचन सम्पन्न भएका छन्।

निर्वाचन आयोगले अबको दुई दिनभित्र राष्ट्रिय सभाको निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ।

साथै प्रतिनिधिसभाको समानुपातिक तर्फको सूचीको टुङ्गो लगाई फागुन ५ गतेसम्म राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गरिसक्ने पनि उसले जनाएको छ।