यमनको मानवीय अवस्था थप खराब

यमन

तस्बिर स्रोत, EPA

यमनको बन्दरगाह शहर एडनमा भएको नयाँ लडाइँले त्यहाँ पहिल्यैदेखि रहेको खराब मानवीय अवस्था थप नाजुक बनेको छ।

एडेनमा रहेका विश्व खाद्य कार्यक्रमका अधिकारी शशी मेननले आन्तरिक रूपमा विस्थापित भएका मानिसहरूका कारण त्यहाँ खाद्यान्न असुरक्षा रहेको बताएका छन्।

गृहयुद्धका पूर्व साझेदारहरू दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहने पृथकतावादी र साउदी समर्थित सरकारका फौजहरू बीचको लडाइँमा आइतवार त्यहाँ कम्तीमा १० जना मारिएका छन् भने अन्य थुप्रै घाइते भएका छन्।

सरकार र पृथकतावादी नेतृत्वले आफ्ना फौजहरूलाई लडाइँ रोक्न आदेश दिएपछि हिंसा कम भएको खबरहरू आएका छन्।

आह्वान

उनीहरूले अवस्थालाई शान्त पार्न अरब साझेदारहरूलाई सहायताको आह्वान गरेका छन्।

यसैबीच दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू कब्जा गरेका छन्।

सरकारी फौजसँगको उग्र झडपका माझ उनीहरूले ती भवनहरू कब्जा गरेका हुन्।

प्रधानमन्त्री अहमद बिन डागरले पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन्।

हादी सरकारको अस्थायी आधार क्षेत्रको रूपमा बन्दरगाह सहर एडेन रहेको छ जबकी हुथी विद्रोहीहरूले राजधानी सानामाथि नियन्त्रण कायम गरेका छन्।

अहिलेको यमन सन् १९९० मा उत्तरी र दक्षिणी यमन मिलेर बनेका हुन्।

तर पृथकतावादीहरूको दक्षिणी यमन स्वतन्त्र होस् भन्ने आकांक्षा कायमै छ।

यमन

तस्बिर स्रोत, AFP

तनाव

पृथकतावादीहरूले हुथीविरूद्ध सरकारलाई समर्थन गरिरहेका छन् तर लामो समयदेखिको तनावले हालैका साताहरूमा अवस्था थप खराब बनेको छ।

पृथकतावादीहरूले राष्ट्रपति अब्दुरअबु मन्सुर हादीलाई प्रधानमन्त्री डागर र उनको मन्त्रिपरिषद् विघटन गर्न दिएको समयावधी सकिएपछि आइतबार हिंसा भड्किएको थियो।

प्रत्यक्षदर्शीहरूले शहरका थुप्रै भागहरूमा गोलाबारी र विस्फोट भएको बताएका छन्।

दक्षिणी पृथकतावादीहरूलाई युनाइटेड अरब एमिरेट्स यूएइको समर्थन छ जुन हुथीविरुद्ध लड्ने साउदी नेतृत्व गठबन्धनको एउटा हिस्सा हो।

प्रधानमन्त्री डागरले निर्णयकर्ता यूएइलाई झडपहरूले हुथीलाई फाइदा पुर्याउने चेतावनी दिँदै कदमहरू चाल्न भनेका छन्।