बयानका लागि तयार छु: ट्रम्प

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू अन्तर्वार्ता दिन तयार रहेको बताएका छन्।
उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलरबाट दुई देखि तीन साताभित्र सोधपुछ हुने अपेक्षा गरेको पनि बताएका छन्।
ट्रम्पले अनुसन्धानका उच्च अधिकारीबाट गरिने सोधपुछका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन्।
बुधबार पत्रकारहरूसँग ह्वाइट हाउसमा बोल्दै उनले चुनावका बेला कुनै साँठगाँठ र कुनै व्यवधान नभएको बताए।
प्रश्न
पत्रकारहरूले सोधपुछ कहिले होला भन्ने प्रश्न गर्दा उनले अनुसन्धान टोलीले दुई वा तीन साता लगाउनसक्ने बताए।
ट्रम्पले चुनावमा आफ्नी प्रतिद्वन्द्वी रहेकी हिलरी क्लिन्टन आफ्नो इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोले गरेको सोधपुछका लागि तयार नभएको पनि बताए।
राष्ट्रपतिले संघीय जाँच ब्यूरोका कार्यवहाक निर्देशकलाइ उनले कसलाई मतदान गरे वा गरेनन् भन्नेबारे प्रश्न गरेको कुरा नसम्झने पनि बताए।
राष्ट्रपतिले पूर्व निर्देशक जेम्स कोमीलाई गत मे महिनामा बर्खास्त गरेपछि संघीय जाँच ब्यूरोको नेतृत्व गरेका एण्ड्र्यु मक्केबले ट्रम्पको कार्यालायको प्रश्न दिक्क लगाउने खालको भएको बताएका छन्।

तस्बिर स्रोत, Getty Images
अनुसन्धान
वासिङ्टन पोष्ट पत्रिकाका अनुसार मक्केबले सन् २०१६ को चुनावमा आफूले मतदान नगरेको राष्ट्रपतिलाई बताएका छन्।
मलरले कोमीलाई बर्खास्त गरेर न्यायमाथि व्यवधान पुर्याउने कोशिश गरिएको हो कि होइन भनेर अनुसन्धान गर्ने ठानिएको छ।
यो महिनाको शुरूमा ट्रम्पले आफू सोधपुछका लागि शत प्रतिशत तयार भएको बताएका थिए तर उनलाई मलरले नै सोधपुछ गर्लान् भन्ने चाहिँ ठानिएको थिएन।
मलरले यसअघि नै महान्यायाधिवक्ता जेफ सेसन्ससँग सम्भावित साँठगाँठबारे सोधपुछ गरिसकेको भन्ने विवरण यो साताको शुरुमा आएको थियो।








