राष्ट्रिय सभा चुनावको नतिजा 'तीन दिनभित्र'

निर्वाचन आयोग

माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको परिणाम मतदान भएको तीन दिनभित्र घोषणा गरिसक्ने निर्वाचन आयोगले जनाएको छ।

मतदाताको संख्या तुलनात्मक रूपमा थोरै हुने भएकाले निर्वाचन प्रक्रिया सहज हुने अधिकारीहरू बताउँछन्।

तर विशेष सूत्रको प्रयोगबाट गणना गर्नुपर्ने भएकाले मत गन्ने काम भने जटिल हुने ठानिएको छ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखका अतिरिक्त, प्रदेश सभाका सदस्य राष्ट्रिय सभा चुनवाका मतदाता हुन्।

व्यवस्था

लामो समयको पर्खाइपछि आइतवार प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरे लगत्तै आयोगले पनि राष्ट्रिय सभाको मतदाता नामावली प्रकाशित गरेको हो।

तालिका अनुसारै काम भएकोले सबै काम समयमै हुने बताएको आयोगले राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचन लगत्तै मत परिणाम निकाल्ने व्यवस्था गरिसकिएको जनाएको छ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला ३, खुल्ला सदस्य ३, दलित १ तथा दलित र अपाङ्ग वा अल्पसंख्यक १ गरी जम्मा ८ जना प्रतिनिधि चुनिनेछन्।

जसमा महिला र खुल्ला पदको निर्वाचन एकल संक्रमणीय प्रणालीका आधारमा तथा बाँकी एक/एक दलित र अपाङ्ग वा अल्पसंख्यक सदस्यको निर्वाचन बहुमतीय प्रणालीबाट गरिने भएकोले मतदान र मत गन्ने काममा सजगता अपनाइएको आयोगको भनाइ छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, "खासगरी एकल संक्रमणीय प्रणालीअन्तर्गत निर्वाचन हुने पदहरूमा उम्मेदवारले प्राप्त गर्ने मतको आधारमा मत गणना सम्पन्न हुने समय निर्धारण हुन्छ। छिटोमा चार-पाँच घण्टामा परिणाम आउन सक्छ र ढिलोमा तीन दिनसम्म लाग्न सक्नेछ।"

निर्वाचनमा महिला, खुल्ला, दलित र अपाङ्ग वा अल्पसंख्यकको लागि आठ छुट्टा-छुट्टै मतपत्र छापिने व्यवस्था गरिएको छ।

अन्योल

मत भार फरक-फरक भएकोले प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिले छुट्टा-छुट्टै मतपत्रमा मतदान गर्ने हुँदा दुई रङ्गका गरी आठवटा मतपत्र हुने भएकोले अन्योल हुन सक्ने आकलन पनि गरिएको छ।

त्यसको लागि मतदानमा संलग्नहरूलाई तालिम दिन लागिएको आयोगले बताएको छ।

सातै प्रदेशका मतदान अधिकृतहरूलाई तालिम दिइसकिएको र अब राजनीतिक दलका मतगणना प्रतिनिधिहरूलाई तालिम दिइने प्रवक्ता ढकालले बताए।

उनले भने, "प्रत्येक प्रदेशमा पाँचजनाको मतगणना सहयोगी समूह हामी परिचालन गर्दछौँ। गणितीय पद्धति यसमा प्रयोग गर्नुपर्ने हुन्छ। यसका साथै राजनीतिक दलका मतगणना प्रतिनिधिहरूलाई पनि समानुपातिक प्रणालीको मतगणना कार्यको छलफल गर्छौं।"

राष्ट्रिय सभामा जम्मा २ हजार ५६ मतदाता भएकोले १० देखि १२ हजार मतपत्र छापे पुग्ने आयोगका अधिकारीहरू बताउँछन्।

७ प्रदेशबाट आठजनाको हिसाबले ५६ जना तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ जना सदस्य मनोनित गरेपछि ५९ सदस्यीय राष्ट्रिय सभा बन्नेछ।