'शीतकालीन ओलिम्पिक्समा खेलाडी पठाउँछौँ'

तस्बिर स्रोत, Reuters
उत्तर कोरिया र दक्षिण कोरियाका अधिकारीहरूबीच भएको वार्तापछि उत्तर कोरियाले आफ्ना प्रतिनिधिहरू फेब्रअरीमा हुने शीतकालीन ओलिम्पिक्सका लागि पठाउने भएको छ।
उत्तर कोरियाले पठाउने टोलीमा खेलाडी र समर्थकका साथै अन्य हुनेछन्।
उत्तर कोरिया र दक्षिण कोरियाका अधिकारीहरूबीच दुई वर्षयता पहिलोपटक उच्चस्तरीय वार्ता भएपछि यो घोषणा भएको हो।
उनीहरू दुई देशको अन्तर्राष्ट्रिय सीमामा पर्ने पाम्मून्जम् गाउँको 'पीस हाउस'मा वार्ता गर्दैछन्।
छलफल
उनीहरूको छलफलको दायरा सीमित राखिएको छ।
उनीहरूको छलफल अर्को महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलिम्पिक्समा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे केन्द्रित भएको बताइएको छ।
तर दक्षिण कोरियाले यो बैठकमा दुई देशबीचको सम्बन्ध सुधारका लागि विषय उठाउन पनि छलफल गर्ने बताएको छ।
उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र परीक्षण कार्यक्रम जारी राख्दा दुई देशबीच तनाव उच्च छ।

तस्बिर स्रोत, Getty Images
तनाव
उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो नयाँ वर्षको शुभकामनाका क्रममा आफूले शीतकालीन ओलिम्पिक्समा आफ्ना प्रतिनिधिहरू पठाउन चाहिरहेको बताएपछि दक्षिण कोरियाले उक्त वार्ताका लागि प्रस्ताव गरेको थियो।
दुई देशले सन् २०१५ मा पछिल्लोपटक छलफल गरेका थिए।
त्यसपछि भने यी देशबीच निरन्तर तनाव बढिरहेको छ।
अहिले दुवै देशले वार्ताका लागि आफ्ना पाँच सदस्यीय प्रतिनिधिमण्डल पठाएका छन्।








