'दुई अन्तर्राष्ट्रिय पर्यवेक्षक फिर्ता'

निर्वाचन आयोग

निर्वाचन आयोगले चुनावी अनुगमनका लागि कञ्चनपुर जिल्लामा खटिएका, युरोपेली संघ (इयु)का दुई पर्यवेक्षकलाई आचारसंहिता विपरीत कार्य गरेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको छ।

पहिलो र दोस्रो संविधानसभा चुनावमा समेत अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटिएको भए पनि आचारसंहिता उल्लंघन गरेको आरोपमा फिर्ता बोलाएको यो पहिलो घटना भएको आयोगले जनाएको छ।

ती दुई पर्यवेक्षकलाई अन्य स्थानमा समेत आसन्न चुनावको पर्यवेक्षण गर्न नदिइने आयोगका अधिकारीहरुले बताएका छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि हालसम्म करिब डेढ सयजना अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचन आयोगबाट स्वीकृति लिएका छन्।

उल्लंघन

सबैभन्दा बढी पर्यवेक्षक, यसअघिका दुईवटा संविधानसभा निर्वाचनको पर्यवेक्षण गरेको युरोपेली संघ (इयु)का छन्।

निर्वाचन आचारसंहिता पालना गर्ने शर्तमा पर्यवेक्षण अनुमति दिइएको भन्दै निर्वाचन आयोगले कञ्चनपुरमा खटिएका, इयुका दुई पर्यवेक्षकले त्यसको उल्लंघन गरेको बताएको छ।

आयोगमा आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने, ''कञ्चनपुरमा अन्तर्राष्ट्रिय पर्यवेक्षकले मर्यादा बाहिर गएर गतिविधि गरेको विषय आयोगमा आएपछि निर्वाचन आयोगले तत्काल त्यस्तो गतिविधि गर्ने दुईजना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई फिर्ता बोलाएको छ। उहाँहरु युरोपेली संघ (इयु)सँग आबद्ध हुनुहुन्छ।''

शर्त

गतहप्ता कञ्चनपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत न्यायाधीश राजेन्द्रकुमार आचार्यले इयुका दुई पर्यवेक्षकले अदालतमा अनावश्यक हस्तक्षेप गरेको बताउँदै कारवाहीका लागि पत्राचार गरेका थिए।

त्यसकै आधारमा निर्वाचन आयोगले उनीहरुलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयमार्फत थप प्रक्रियाका लागि इयुको ध्यानाकर्षण गराएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले भने, ''निर्वाचन आयोगवाट जारी आचार संहिताको पालना गर्ने शर्तमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। नियतवस वा नजानेर के भएको हो भनेर जान्न हामीले परराष्ट्र मन्त्रालयलाई लेखेर पठाइसक्यौं।''

पछिल्लो घटनाबारे, काठमाण्डूमा खटिएको इयुको निर्वाचन पर्यवेक्षण मिसनलाई सम्पर्क गर्दा उक्त टोलीका सहायक प्रमुख पर्यवेक्षक टमस बसरअपले आफूहरु प्रतिक्रिया दिने अवस्थामा नरहेको बताए।

निर्वाचन आयोगले भने मिसनका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले शुक्रवार प्रमुख आयुक्तसँगको भेटमा आगामी दिनमा सतर्क रहने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।