आक्रमणकारीको घरबाट ‘थप हतियार बरामद’

आक्रमण

तस्बिर स्रोत, Getty Images

अमेरिकाको लास भेगस गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हात-हतियारहरु फेला पारिएको बताएका छन्।

एकजना स्थानीय अधिकारीले पत्रकारलाई जानकारी गराए अनुसार ६४ वर्षीय हमलाकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको छ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या ५९ पुगेको प्रहरीले जनाएको छ।

पृष्ठभूमि

घटनामा अन्य ५०० जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीले घटनास्थललाई घेरा हालेपछि प्याडकले आफैंलाई मारेका थिए।

प्याडक

तस्बिर स्रोत, PADDOCK FAMILY

घटनास्थलबाट थप १० वटा राइफल फेला पारिएको थियो।

अधिकारीहरुका अनुसार बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकु समूहबीच कुनै सम्बन्ध देखिएको छैन।

अपील

प्याडकले हत्या गर्नुको उद्देश्य थाहा हुन नसकेको र विगतमा उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको अधिकारीहरुले बताएका छन्।

घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई 'दुष्टताले भरिपूर्ण क्रियाकलाप' भनेका छन्।

आक्रमण

तस्बिर स्रोत, Getty Images

राष्ट्रपति ट्रम्पले दुःख र पीडाको घडीमा देश एकताबद्ध भएको बताए।

त्यसपछि उनले एउटा मौनधारण कार्यक्रमको नेतृत्व गरेका थिए।