पाकिस्तानी क्षेप्यास्त्र कति शक्तिशाली?

पाक

तस्बिर स्रोत, Getty Images

सन् १९८० को दशकमा क्षेप्यास्त्र कार्यक्रम शुरु गरेको पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्दै कैयौँ क्षेप्यास्त्रहरुको विकास गरेको छ।

भारतसँग तनाव बढ्दा पाकिस्तानले धेरै पटक क्षेप्यास्त्रको परीक्षण गरेको छ।

त्यसका लागि उसले उत्तर कोरिया, इरान र चीनको सहयोग लिएको बताइन्छ।

आखिर पाकिस्तानसँग के कस्ता क्षेप्यास्त्र छन् र ती कति शक्तिशाली छन्?

हफ्त-१

पाक

तस्बिर स्रोत, Getty Images

पाकिस्तानले बनाएको पहिलो क्षेप्यास्त्र हफ्त-१ हो।

यो कम दूरीको बलिस्टिक क्षेप्यास्त्र हो।

त्यसले ७० देखि १०० किलोमिटर मार हान्न सक्ने र ५०० किलोग्राम विस्फोटक सामाग्री बोक्न सक्छ।

सन् १९८९ मा निर्माण गर्ने घोषणा गरेको पाकिस्तानले १९९२ मा त्यसको सफल परीक्षण गरेको थियो।

उक्त क्षेप्यास्त्रलाई सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सकिन्छ।

हफ्त-२

यो क्षेप्यास्त्र अब्दाली नामले पनि चिनिन्छ। यसले १८० देखि २०० किलोमिटर मार हान्न सक्छ।

उक्त क्षेप्यास्त्रले २५० देखि ४५० किलोग्राम विस्फोटक सामाग्री बोक्न सक्छ।

सन् २००५ मा पाकिस्तानी सेनामा त्यसलाई सामेल गराइएको थियो।

साढे ६ मिटर लम्बाई भएको उक्त क्षेप्यास्त्रको व्यास शून्य दशमलव ५६ मिटर रहेको छ।

सन् २०१३ मा पाकिस्तानले उक्त क्षेप्यास्त्रले परमाणु अस्त्र बोक्न सक्ने दाबी गरेको थियो।

हफ्त-३

पाक

तस्बिर स्रोत, Getty Images

यसलाई गजनवी पनि भन्ने गरिएको छ। यो पनि कम दूरीको क्षेप्यास्त्र हो। यसले २९० किलोमिटरसम्म मार हान सक्छ र ७०० किलोग्राम विस्फोटक सामाग्री बोक्न सक्छ।

सन् १९८७ मा त्यसको निर्माण शुरु गरिएको थियो र परीक्षणपछि सन् २००४ मा सेनामा सामेल गरिएको थियो।

त्यसले परमाणु र परम्परागत अस्त्र बोक्न सक्ने पाकिस्तानको दावी छ।

हफ्त-४

शाहीन नामले पनि चिनिने यो बलिस्टिक क्षेप्यास्त्रले ७ सय ५० किलोमिटरसम्म मार हान्न सक्छ।

यसले एक हजार किलोग्रामसम्म विस्फोटक सामाग्री बोक्न सक्छ।

सन् १९९३ मा निर्माण थालिएको उक्त क्षेत्रप्यास्त्रको परीक्षण सन् १९९७ मा गरिएको थियो।

१२ मिटर लामो उक्त क्षेप्यास्त्रको सन् १९९९ मा पाकिस्तानले सार्वजनिक प्रदर्शन गरेको थियो।

हफ्त-५

गौरी नामले पनि चिनिने यो मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र हो। यसले १२५० देखि १५०० किलोमिटरसम्म मार हान्न सक्छ र ७०० किलोग्राम विस्फोटक सामाग्री आफूसँग बोक्न सक्छ।

पाकिस्तान, उत्तर कोरिया र इरानले मिलेर सन् १९८० मा त्यसको निर्माण थालेका थिए।

सन् १९९८ मा परीक्षण गरिएको सो क्षेप्यास्त्रलाई सन् २००३ मा पाकिस्तानी सेनामा सामेल गरिएको थियो।

१५ दशमलव ९ मिटर लम्बाई र १ दशमलव ३५ मिटर व्यास भएको सो क्षेप्यास्त्रले परमाणु अस्त्र बोक्न सक्ने दाबी सन् २००३ मा गरिएको थियो।

हफ्त-६

पाक

तस्बिर स्रोत, Getty Images

यसलाई शाहीन-२ पनि भन्ने गरिन्छ। मध्यम दूरीको यो क्षेप्यास्त्रले १५०० देखि २००० किलोमिटरसम्म मार हान्न सक्छ। यसले ७०० किलोग्राम विस्फोटक साम्रागी बोक्न सक्ने बताइन्छ।

यद्यपि पाकिस्तानले १२३० किलोग्रामसँग विस्फोटक साम्रागी बोक्न सक्ने गरी क्षमता विस्तार गरिएको दावी गरिसकेको छ।

सन् २००४ को मार्चमा परीक्षण गरिएको उक्त क्षेप्यास्त्रलाई सन् २०१४ को अन्त्यतिर पाकिस्तानी सेनामा सामेल गरिएको थियो।

त्यसको निशाना शत प्रतिशत सही हुने पाकिस्तानको दाबी छ।

हफ्त-७

बाबर क्रुज क्षेप्यास्त्र नामले पनि चिनिने यो क्षेप्यास्त्रले परम्परागतका साथै परमाणु अस्त्र पनि बोक्न सक्छ। यसले ३५० देखि ७०० किलोमिटरसम्म मार हान्न सक्छन्।

भारतको क्रुज क्षेप्यास्त्रको जवाफमा पाकिस्तानले सन् १९९० त्यसको निर्माण शुरु गरेको थियो।

४५० किलोग्राम विस्फोटक सामाग्री बोक्न सक्ने उक्त क्षेप्यास्त्रलाई सन् २०१० मा पाकिस्तानी सेनामा सामेल गरिएको थियो।

हफ्त-८

यसलाई राद क्रुज क्षेप्यास्त्र पनि भनिन्छ। ३५० किलोमिटर मार हान्न सक्ने यो क्षेप्यास्त्र लडाकु क्षमताको रहेको छ।

यसले कम उचाईमा कुशलतापूर्वक मार हान्न सक्छ।

झण्डै ५ किलोमिटर लामो यो क्षेप्यास्त्रले पनि परम्परागत र परमाणु अस्त्र बोक्न सक्छ।

हफ्त-९

पाक

तस्बिर स्रोत, Getty Images

यो नस्र नामले पनि चिनिन्छ। जमीनबाट जमीनमा मार हान्न सक्ने यो क्षेप्यास्त्रले परमाणु अस्त्र पनि बोक्न सक्छ। यसले ६० किलोमिटरसम्म मार हान्न सक्छ।

सन् २०११ को अप्रिलमा पाकिस्तानले त्यसको सफल परीक्षण गरेको थियो।

यसले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई माथ दिन सक्ने पाकिस्तानको दाबी छ।

शाहीन-३

यो मध्यम दूरीसम्म मार हान्न सक्ने बलिस्टिक क्षेप्यास्त्र हो।

यसले २७५० किलोमिटरसम्म निशाना बनाउन सक्छ।

यसले परमाणुका साथै परम्परागत अस्त्र बोक्न सक्छ।

१९ दशमलव ३ मिटर लामो यो क्षेप्यास्त्रलाई सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो।

अबाबील

जमीनबाट जमीनमा यसले २२०० किलोमिटरसम्म मार हान्न सक्छ।

सन् २०१७ को जनवरीमा यसको सफल परीक्षण गरिएको थियो।

पाकिस्तानी सेनाका अनुसार यसले परमाणु अस्त्र बोक्न सक्छ।

यसले एकसाथ कैयौँ निशाना ताक्न सक्छ।